भैरहवा —सानै उमेरमा प्रभावशाली वक्ताका रूपमा पहिचान बनाउँदै आएकी पाल्पाकी ओजस्वी आचार्यलाई ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ। शहीद स्मृति पुस्तकालय, भैरहवाको २५औँ स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा २०८३ कार्तिक २९ गते आयोजित विशेष समारोहमा कक्षा १० मा अध्ययनरत १४ वर्षीया आचार्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
बाल वक्तृत्व, सामाजिक चेतना र युवामुखी प्रेरणाका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको पुरस्कारमा नगद रु. १० हजार, दोसल्ला, पदक र प्रमाणपत्र रहेको छ। विभिन्न क्षेत्रमा प्रतिभा र कर्ममार्फत नेपालको पहिचान तथा प्रतिष्ठालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले स्थापित पुरस्कार यस वर्ष बाल वक्तृत्वतर्फ आचार्यलाई प्रदान गरिएको आयोजकले जनाएको छ।

तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत आचार्य पछिल्ला केही वर्षयता विद्यालय, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा वक्ताका रूपमा प्रस्तुत हुँदै आएकी छन्। वक्तृत्वकलामा विषयवस्तुको पकड, तर्क प्रस्तुत गर्ने शैली र आत्मविश्वासपूर्ण अभिव्यक्तिका कारण उनले किशोर उमेरमै छुट्टै पहिचान बनाएकी हुन्।

आचार्यको वक्तृत्व यात्राले विद्यालयस्तरका प्रतियोगिताबाट बाहिरिँदै अन्तर्राष्ट्रिय मञ्चसम्मको यात्रा तय गरिसकेको छ। सन् २०२५ मा थाइल्यान्डमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनमा उनलाई अतिथि वक्ताका रूपमा सहभागी गराइएको थियो। सोही क्रममा विदेशमा रहेका नेपालीलाई मातृभूमिसँग जोड्न योगदान पुर्याएको भन्दै एनआरएनएले उनलाई ब्रान्ड एम्बेसडर घोषणा गरेको थियो।
वक्तृत्वकलामै उनको अर्को उल्लेखनीय उपलब्धि लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा आएको थियो। सशस्त्र प्रहरी बल नेपाल, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्व प्रतियोगितामा लुम्बिनी प्रदेशका ७२ विद्यालयका ११६ विद्यार्थी सहभागी थिए। ‘लागूऔषधको दुर्व्यसन, त्यसको असर तथा ओसारपसार नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयक प्रतियोगितामा प्रथम भएपछि आचार्यलाई सशस्त्र प्रहरी बलको लागूऔषधविरुद्धको अभियानमा ‘जागरण दूत’ घोषणा गरिएको थियो।
यसअघि नै उनको वक्तृत्व क्षमताले राष्ट्रिय सञ्चारमाध्यममा समेत चर्चा पाएको थियो। १३ वर्षको उमेरमै प्रकाशित एक समाचारमा उनलाई देश–विदेशका कार्यक्रममा विषयगत प्रस्तुति दिन अभ्यस्त बाल वक्ताका रूपमा उल्लेख गरिएको थियो। विद्यालयमा सञ्चालित रेकर्डिङ स्टुडियोमार्फत बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यालयमा आउने अतिथिसँग अन्तर्वार्ता र संवाद गर्ने अभ्यासले उनको सार्वजनिक अभिव्यक्तिको दायरा थप फराकिलो बनाएको समाचारमा उल्लेख छ।

वक्तृत्वकलासँगै आचार्य सामाजिक चेतनाका विषयमा पनि सक्रिय रहँदै आएकी छन्। विशेषगरी युवालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र विकृति–विसङ्गतिविरुद्ध सचेत गराउने विषयलाई उनले आफ्ना प्रस्तुतिको प्रमुख विषय बनाउँदै आएकी छन्। यसै क्रममा चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ का अवसरमा उनलाई ‘चैतन्य युवा प्रतिभा सम्मान’समेत प्रदान गरिएको थियो।
शहीद स्मृति पुस्तकालयका अध्यक्ष गोपालप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न सम्मान समारोहको सञ्चालन पुस्तकालयका सचिव रामप्रसाद घिमिरेले गरेका थिए। कार्यक्रममा भैरहवा क्षेत्रका साहित्यकार, लेखक, शिक्षासेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो। पुस्तकालयको रजत महोत्सवका अवसरमा बाल वक्ता, स्रष्टा, साहित्यकार तथा विभिन्न पेशा–कर्ममा योगदान पुर्याएका व्यक्तित्वलाई नौ विधामा सम्मान गरिएको थियो।

‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’ योगनाथ आचार्य र हिरादेवी आचार्यले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिएको हो। पुरस्कार ग्रहण गर्दै आचार्यले प्राप्त सम्मानले आफूलाई आगामी दिनमा अझ जिम्मेवार भएर अघि बढ्न प्रेरणा मिलेको बताइन्।
विद्यालयको कक्षाकोठाबाट सुरु भएको वक्तृत्व यात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याएकी आचार्यका लागि ‘कालिका जगन्नाथ प्रतिभा पुरस्कार’ उनको उपलब्धिको अर्को महत्वपूर्ण कडी बनेको छ। किशोरावस्थामै प्राप्त भइरहेका यस्ता सम्मानले नेपाली बालबालिकामा रहेको वक्तृत्व, सिर्जनशीलता र सामाजिक चेतनाको सम्भावनालाई समेत सार्वजनिक बहसमा ल्याएको छ।


