पाल्पा ट्रेक्टर समितिको १९ औं साधारणसभा सम्पन्न : व्यवसायीका मर्का र राहतका प्रयासबारे छलफल

पाल्पा – पाल्पा ट्रेक्टर समितिको १९ औं वार्षिक साधारणसभा तानसेनमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीर बहादुर रानाले उद्घाटन गर्नुभएको साधारणसभामा संस्थाले आफ्ना सदस्यहरूलाई विपद्को समयमा पुर्याउँदै आएको राहतको प्रशंसा गरिनुका साथै वर्षायाममा ट्रेक्टर सञ्चालनमा लगाइने रोक्काका कारण व्यवसायीहरूले भोग्नुपरेको समस्याबारे चर्चा गरिएको छ ।

कार्यक्रमका मुख्य अतिथि एवं लुम्बिनी प्रदेशसभा सदस्य रानाले निर्माण तथा परिवहन क्षेत्रमा ट्रेक्टर व्यवसायीहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो । वर्षायाममा सडक संरक्षणका नाममा हुने पूर्ण रोकले व्यवसायीको लगानी र मजदुरको जीविकोपार्जनमा गम्भीर असर परेकाले यसको व्यावहारिक समाधानका लागि नीतिगत तहमा पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।


समितिका अध्यक्ष बिष्णु बहादुर कार्कीले सदस्यहरूलाई दुर्घटना, बिरामी तथा मृत्यु हुँदा समितिले पुर्याउँदै आएको आर्थिक सहयोगले ठूलो राहत मिलेको उल्लेख गर्दै वर्षाकालीन सडक बन्दको मारबारे स्थानीय प्रशासनले पुनर्विचार गर्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा बोल्दै संस्थाका सल्लाहकार माधव नेपालले व्यावसायिक हकहित र अधिकारका लागि संगठित एकता नै मुख्य शक्ति भएको बताउनुभयो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंहले ट्रेक्टर व्यवसायीहरू निजी क्षेत्रको अर्थतन्त्रका प्रमुख आधार भएको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानमा संघको पूर्ण साथ रहने स्पष्ट पार्नुभयो । सोही क्रममा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शैलेन्द्र भट्टराईले मर्यादित र सुरक्षित व्यवसाय सञ्चालनमा समितिको भूमिका प्रशंसनीय रहेको धारणा राख्नुभयो ।

यस्तै, पाल्पा व्यापार संघका प्रतिनिधि गोकुल पौडेलले समग्र व्यापारिक गतिविधिलाई चलायमान बनाउन यातायात र ढुवानी क्षेत्र सुदृढ हुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष विजय बौडेलले व्यवसायीका समस्या र सेवामूलक कार्यलाई सञ्चारमाध्यमले निरन्तर उठान गर्ने प्रतिबद्धता जनाउनुभयो । सगरमाथा ईन्स्योरेन्स पाल्पाका प्रमुख करुणा काफ्लेले जोखिम न्यूनीकरणका लागि बीमा प्रणालीलाई व्यवसायीमैत्री बनाइने आश्वासन दिनुभयो भने समितिका सचिव दुष्यान्त भण्डारीले संस्थागत प्रगति विवरण प्रस्तुत गर्दै समितिलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउने कार्ययोजना सार्वजनिक गर्नुभयो ।

साधारणसभाको अवसरमा समितिमा नयाँ सदस्यहरूलाई स्वागत गर्नुका साथै संस्थाको सदस्यता विस्तारमा विशेष योगदान र पहल गर्ने व्यक्तित्वहरूलाई औपचारिक रूपमा सम्मान गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय