तानसेन (पाल्पा) — पाल्पा र छिमेकी जिल्ला गुल्मीको क्रिकेट क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ तानसेनमा आयोजित तीन दिने ‘लेभल जिरो अम्पायर तथा स्कोरर तालिम’ सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघ, पाल्पाको आयोजना, नेपाल क्रिकेट संघ (क्यान) को प्राविधिक सहयोग र तानसेन नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा पाल्पा र गुल्मीका २५ जना युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक एवं आईसीसी लेभल वान एजुकेटर समिर खानले अम्पायरिङ र स्कोरिङ क्षेत्रको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो, “साहसी व्यक्ति मात्र क्रिकेट अम्पायरिङको क्षेत्रमा प्रवेश गर्न सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अम्पायर बन्ने यात्रा लेभल जिरोबाटै सुरु हुन्छ । त्यसैले उच्च लक्ष्य लिएर मात्र पुग्दैन, त्यसलाई पूरा गर्न निरन्तर मेहेनत, अनुशासन र कडा परिश्रम गर्न आवश्यक छ ।“ खानले प्राविधिक जनशक्ति उत्पादनका लागि पाल्पा क्रिकेट संघले गरेको प्रयासको प्रशंसा गर्दै जुनसुकै अवसरलाई पनि सदुपयोग गर्न सके सम्बन्धित क्षेत्रमा ठूलो सुधार आउने बताउनुभयो ।

तानसेन नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बाबुरत्न शाक्यले व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो । “हाम्रो समाजमा तालिम लिने र प्रमाणपत्र थन्क्याउने परिपाटी बढेको छ । तालिममा सिकेका कुरालाई मैदानमा उतार्नु नै यसको मुख्य सफलता हो,“ शाक्यले भन्नुभयो । उहाँले तानसेन नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै यसै वर्ष खेलकुद क्षेत्रका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंहले खेलकुद क्षेत्रको विकासले स्थानीय अर्थतन्त्र र पर्यटनलाई समेत टेवा पु¥याउने धारणा राख्नुभयो । उहाँले युवाहरूलाई प्राविधिक रूपमा दक्ष बनाएर खेलकुदलाई व्यवसायीकरण गर्न यस्ता तालिमहरू निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, तालिम संयोजक उपेन्द्र नेपालले पाल्पामा दक्ष प्राविधिक जनशक्तिको अभावलाई पूर्ति गर्न यो तालिम आयोजना गरिएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार, आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै स्थानीयस्तरका खेलहरूलाई थप व्यावसायिक र प्राविधिक बनाइनेछ ।
जिल्ला क्रिकेट संघ, पाल्पाका उपाध्यक्ष शैलेन्द्र भट्टराईले प्रशिक्षार्थीहरूले तालिममा देखाएको सक्रियताको प्रशंसा गर्दै क्रिकेट संघले सधैँ नयाँ प्रतिभा र प्राविधिकहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
संघका अध्यक्ष पूर्णराज शाक्यले पाल्पामा क्रिकेटको पूर्वाधार र प्राविधिक टोली मजबुत बनाउन संघ निरन्तर लागिपरेको बताउनुभयो । उहाँले क्यान र तानसेन नगरपालिकाको सहयोगप्रति आभार व्यक्त गर्दै सहभागीहरूलाई खेल मैदानमा निष्पक्ष र कुशलतापूर्वक जिम्मेवारी निभाउन आग्रह गर्नुभयो ।
प्रशिक्षार्थीका तर्फबाट मन्तव्य राख्दै अमृत कुँवरले तीन दिनको गहन तालिमले धेरै नयाँ कुरा सिक्ने अवसर मिलेको बताउनुभयो । “यो तालिमले पाल्पा र गुल्मीको क्रिकेटलाई थप व्यवस्थित बनाउन ठूलो सहयोग पु¥याउनेछ,“ कुँवरले भन्नुभयो, “अम्पायरिङ र स्कोरिङमा दक्ष प्राविधिक जनशक्ति तयार पार्न यो तालिम कोशेढुङ्गा साबित भएको छ ।“

