माथागढीको शिक्षामा ‘सक्षम’ को सकारात्मक प्रभाव: पालिकाकै लगानीमा निरन्तरता पाउने

पाल्पा – माथागढी गाउँपालिकाले ब्रिटिस काउन्सिलसँगको साझेदारीमा सन २०२२ देखि सञ्चालन गरेको ‘सक्षम’ कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर, सिकाइ उपलब्धि र शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक परिवर्तन ल्याएको निष्कर्ष निकाल्दै कार्यक्रमलाई पालिकाकै पहलमा निरन्तरता दिने जनाएको छ ।

कार्यक्रमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले गुणस्तरीय र जीवनोपयोगी शिक्षाको लक्ष्यअनुसार विद्यालयमा सकारात्मक परिवर्तन देखिन थालेको बताउनुभयो । उहाँले सिकाइ उपलब्धिमा सुधार देखिएको, विगतमा अभिभावक र विद्यार्थीलाई दोष थोपार्ने प्रवृत्तिको अन्त्य हुँदै विद्यालय आफैं समस्याको समाधान खोज्न सक्षम बन्दै गएको उल्लेख गर्नुभयो ।

अध्यक्ष चिदीले सक्षम कार्यक्रमले बहुभाषिक परिवेशका कारण सिकाइमा देखिएका चुनौती समाधान गर्ने वातावरण तयार भएको र यसले दिगो सिकाइमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ब्रिटिस काउन्सिलसँगको साझेदारी अवधि सकिए पनि कार्यक्रम पालिकाकै भएकाले यसलाई निरन्तरता दिइने र आगामी दिनमा दशवर्षे गाउँ शिक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने उहाँको भनाइ थियो ।

प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले आफू भर्खर गाउँपालिकामा आए पनि कार्यक्रमको निरन्तरताका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यक्रमको तत्कालीन प्रभाव सकारात्मक देखिएको र भविष्यमा यसको परिणाम अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

ब्रिटिस काउन्सिलकी कार्यक्रम व्यवस्थापक इन्दिरा बस्नेतले कार्यक्रमको दिगोपनाका लागि गाउँपालिका र विद्यालयहरूले स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ब्रिटिस काउन्सिलले गरेका प्रयासको वास्तविक प्रतिफल प्राप्त गर्न कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।

गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले विगतमा विद्यालय विकासका लागि स्पष्ट योजना नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न कठिन भएको स्मरण गर्दै अहिले विद्यालयसँग योजना, तालिमप्राप्त शिक्षक तथा सुधारका आधारहरू तयार भएकाले पालिकाको समग्र शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय प्रशिक्षक तथा ब्रिटिस काउन्सिलका माथागढी संयोजक लोकेन्द्र थापा, स्थानीय प्रशिक्षक राजन अधिकारी, शोभा भट्टराई र नारनबहादुर मसराङ्गीले कार्यक्रमबाट प्राप्त अनुभव र सिकाइका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी दिव्यज्योति माध्यमिक विद्यालय, माउन्ट भ्याली बोर्डिङ स्कुल, सिद्धार्थ माध्यमिक विद्यालय, सहारादेवी आधारभूत विद्यालय र ज्ञानोदय आधारभूत विद्यालयका विद्यार्थीहरूले तयार गरेका सोसल एक्सन प्रोजेक्ट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष तेज घर्तीमगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षा शाखा प्रमुख प्रकाश पाठकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय