परम्परागत खेतीबाट व्यावसायिकतातर्फ माथागढी

माथागढी (पाल्पा)

माथागढी गाउँपालिकाले परम्परागत खेती प्रणालीलाई सुधार्दै कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न उदाहरणीय कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ । उत्पादनमा वृद्धि, लागत न्यूनीकरण र किसानको आयस्तर बढाउने उद्देश्यले गाउँपालिकाले चालेका नवीन कदमहरू अहिले स्थानीय स्तरमा निकै प्रभावकारी बन्दै गएका छन् । विशेषगरी किसानलाई प्रोत्साहन गर्न र अनुदानको दुरुपयोग रोक्न गाउँपालिकाले सुरु गरेको ‘उत्पादनका आधारमा अनुदान’ दिने कार्यक्रमले कृषकहरूमा नयाँ उत्साह थपेको छ । दूध, माछा, मासु, मह, तरकारी र कृषिजन्य वस्तुमा किसानले जति धेरै उत्पादन गर्छन्, त्यति नै अनुदान रकम सिधै आफ्नै खातामा आउने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले कृषि र पशुपालनलाई उत्पादनसँग जोडेर नागरिकलाई स्वरोजगार बनाउन पालिका लागिपरेको बताउनुभएको छ ।”हामीले किसानको लागत घटाउन र वास्तविक कृषकलाई मात्र फाइदा पुगोस् भनेर उत्पादनका आधारमा सिधै खातामा अनुदान दिने नीति लिएका छौँ । यसका साथै कृषिमा श्रम अभाव र बढ्दो लागतलाई कम गर्न हाते ट्याक्टर, थ्रेसर, चाप कटर जस्ता आधुनिक कृषियन्त्र र औजारहरू अनुदानमा उपलब्ध गराउँदै यान्त्रीकरणलाई प्राथमिकता दिएका छौँ । रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक र सुरक्षित उत्पादनतर्फ पनि हाम्रो जोड छ,” अध्यक्ष चिदीले भन्नुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले पकेट क्षेत्र विस्तार र पशुपालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरिएको उल्लेख गर्नुभएको छ ।”खुर्सानी र धनियाँ पकेट कार्यक्रममार्फत किसानहरू समूहगत रूपमा व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्, जसले बजार व्यवस्थापनमा सहजता ल्याएको छ । पशुपालनतर्फ हामीले ‘एक वडा एक पशुपन्छी फर्म विस्तार कार्यक्रम’ अघि बढाएका छौँ । यसले स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै व्यावसायिक पशुपालनको बलियो वातावरण निर्माण गरेको छ,” उपाध्यक्ष लुङ्चेले भन्नुभयो ।

पछिल्ला वर्षहरूमा गाउँपालिकामा कृषि उत्पादनको मिश्रित अवस्था देखिएको छ । कृषि शाखाको तथ्यांक अनुसार धान, मकै, तरकारी तथा नगदेबालीको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ भने दलहन, तेलहन र मसला बालीमा भने उत्पादन घट्दो क्रममा छ ।

यसै सन्दर्भलाई जोड्दै गाउँपालिकाका स्वास्थ्य तथा कृषि क्षेत्रका गतिविधि र प्राविधिक पक्षबारे स्वास्थ्य शाखा प्रमुख (तथा समन्वयकारी भूमिकामा रहेका) केशब बहादुर जिसीले उत्पादन बढाउनुका साथै स्वास्थ्य र गुणस्तरलाई पनि उत्तिकै ध्यान दिइएको बताउनुभएको छ । “अहिले पहाडी भूगोल सुहाउँदो र पछिल्लो समय हराउँदै गएको अदुवा तथा बेसार जस्ता मसला बाली विस्तारका लागि किसानलाई बीउ, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । पशु स्वास्थ्यलाई मध्यनजर गर्दै प्राविधिक टोली गाउँ–गाउँमै पठाएर ‘डोर टु डोर बाँझोपन निवारण कार्यक्रम’, भैँसी सुधार र मासु पसल सुधार कार्यक्रम चलाइएको छ । यसले पशु स्वास्थ्यको रक्षा गर्दै उपभोक्तामाझ गुणस्तरीय र स्वच्छ खाद्यप्रतिको विश्वास बढाएको छ,” स्वास्थ्य शाखा प्रमुख जिसीले जानकारी दिनुभयो ।

पछिल्लो समय गाउँपालिकाले सुरक्षित तथा गुणस्तरीय कृषि उत्पादनका लागि किसानलाई जैविक विषादी निर्माण र प्राङ्गारिक मल प्रयोगबारे तालिम प्रदान गर्दै रासायनिक विषादी न्यूनीकरण कार्यक्रमलाई समेत तीव्रता दिएको छ । आधुनिक औजारको प्रयोगले किसानको समय बचत र कृषि प्रणालीमा आधुनिकीकरण आएपछि माथागढीका नागरिकको जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउन थालेको स्थानीय कृषकहरू बताउँछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय