माथागढी (पाल्पा)
दश वर्षअघिसम्म माथागढी गाउँपालिकामा स्वास्थ्य सेवा भन्नासाथ खोप र सामान्य औषधि मात्रै सम्झने स्थानीयको बुझाइ अहिले पूर्ण रूपमा फेरिएको छ । स्थानीय सरकारको गठन र जनप्रतिनिधिको सक्रियतापछि माथागढीका नागरिक रोग लागेपछि मात्र होइन, रोग लाग्न नदिन र नियमित स्वास्थ्य परीक्षणका लागि स्वतःस्फूर्त रूपमा स्वास्थ्य संस्था पुग्न थालेका छन् । गाउँपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउँदै ‘पूर्ण संस्थागत सुत्केरी सेवा’ र ‘पूर्ण खोपयुक्त पालिका’ को पहिचानलाई निरन्तरता दिएको छ । पालिकाभित्र १५ शैयाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मेडिकल अधिकृतको सिफारिस समेत भइसकेको छ ।

गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नागरिकलाई घरदैलोमै आधुनिक स्वास्थ्य सेवा पुर्याउन पालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँका अनुसार चुनावका बेला जनतासँग गरिएको प्रतिबद्धता अनुसार नै स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको हो । हिजो सामान्य औषधिका लागि सहर धाउनुपर्ने अवस्था रहेकोमा आज गाउँमै जनस्वास्थ्य प्रयोगशाला (ल्याब) देखि बर्थिङ सेन्टर र एम्बुलेन्स सेवा उपलब्ध भइसकेको र १५ शैयाको अस्पताल सञ्चालनमा आएपछि माथागढीको स्वास्थ्य क्षेत्रमा अझ ठूलो क्रान्ति हुने अध्यक्ष चिदीले उल्लेख गर्नुभयो ।
यसैगरी गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेले भौगोलिक रूपमा दुर्गम रहेका वडाका नागरिकलाई समेत स्वास्थ्यको मूल प्रवाहमा जोडिएको बताउनुभएको छ । माथागढीका अधिकांश वडाहरू दुर्गममा रहे पनि सडक पूर्वाधारसँगै स्वास्थ्य सेवालाई जोडिएको र पालिकाका २ वटा एम्बुलेन्सले न्यूनतम शुल्कमा बिरामीलाई सेवा दिइरहेको उहाँको भनाइ छ । सुगमदेखि दुर्गमसम्मका गर्भवती महिलाले जोखिम मोलेर घरमै सुत्केरी हुनुपर्ने बाध्यतालाई अन्त्य गरिएको जानकारी दिँदै उपाध्यक्ष लुङ्चेले विगतमा झडेवा स्वास्थ्य चौकीमा मात्र सीमित रहेको बर्थिङ सेन्टरलाई अहिले पालिकाका ७ वटै स्वास्थ्य चौकीमा विस्तार गरिएको स्पष्ट पार्नुभयो । वि.स. २०७४ सालअघि सीमित स्वास्थ्य संस्था मात्र रहेकोमा पछिल्लो नौ वर्षको अवधिमा चिदीपानी, रुप्से, कसेनी, झडेवा, गोठादी, रहवास र बहादुरपुरमा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेका छन् भने हात्तिलुङ्ग, धैरेनी, शिकारकोट, भुटुके, मटेरी र ताकातुङ्गमा थप सामुदायिक स्वास्थ्य इकाइहरू स्थापना गरिएका छन् ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको पहुँच नागरिकको घरदैलोसम्म पुगेपछि आम सर्वसाधारणमा स्वास्थ्य चेतना समेत निकै बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब बहादुर जिसीले बताउनुभएको छ । विगतमा स्वास्थ्य चौकी आउन हिचकिचाउने नागरिकहरू अहिले जुकाको औषधि, आइरन चक्की, क्याल्सियम, भिटामिन ‘ए’ तथा गाउँपालिकाले उपलब्ध गराउने अण्डा जस्ता पोषण प्याकेजका लागि आफैँ आउने गरेका छन् । विगतमा क्षयरोग परीक्षण गराउन वा लामो समय खोकी लाग्दा समेत नागरिकलाई निकै सम्झाउनुपर्ने र स्वास्थ्य परीक्षणप्रति डर र बेवास्ता दुवै रहने गरेकोमा अहिले त्यो स्थिति फेरिएको स्वास्थ्य शाखा प्रमुख जिसीले उल्लेख गर्नुभयो । उहाँका अनुसार २४ महिनासम्म २४ पटक हुनुपर्ने नियमित बाल वृद्धि अनुगमन अहिले औसत २२ पटकसम्म पुग्नु ठूलो उपलब्धि हो भने पूर्ण स्तनपान र थप आहारको अवस्था पनि ८० प्रतिशतभन्दा माथि पुगेको छ ।
एक समय सामान्य ल्याब सेवा समेत नभएको माथागढीमा अहिले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आइसकेको छ । गाउँपालिकाले स्वास्थ्य सेवालाई गुणात्मक, भरपर्दो र सर्वसुलभ बनाएपछि सामान्य उपचारका लागि जिल्ला वा बाहिरी सहर धाउनुपर्ने बाध्यता निकै कम भएको स्थानीय नागरिकहरू बताउँछन् ।

