माथागढी (पाल्पा)
कुनै समय थियो, वर्षायाम सुरु हुनेबित्तिकै पाल्पाको माथागढीका बासिन्दाको मनमा चिसो पस्थ्यो । आकाशबाट पानी पर्न थालेपछि गाउँका सडकहरू हिलाम्मे बन्थे, बर्खे खोलाहरू बौरिन्थे र एउटा गाउँ अर्को गाउँबाट पूर्ण रूपमा विच्छेद हुन्थ्यो । सामान्य बिरामी पर्दा पनि अस्पताल पु¥याउन डोको वा खलातीको भर पर्नुपर्ने र घण्टौँको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । विद्यार्थीहरू उकालो–ओरालो गर्दै, हिलो र उर्लिँदो खोल्सा तर्दै डरैडरमा विद्यालय पुग्नुपथ्र्यो । तर, विगत नौ वर्षको अवधिमा माथागढीले यो कहालीलाग्दो नियतिलाई बदल्दै विकास र समृद्धिको एउटा नयाँ तस्बिर कोरेको छ । धुलाम्य र हिलाम्मे सडकहरू अहिले कालोपत्रे, ग्राभेल र ढलानमा रूपान्तरण भएका छन् भने गाउँपालिकाले सडक, पुल, भवन र अन्य भौतिक पूर्वाधारमा उल्लेखनीय लगानी गरेर गाउँको मुहार नै फेरिदिएको छ ।

माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ देखि २०८१÷८२ सम्मको अवधिमा भौतिक पूर्वाधार, विशेष गरी सडक सञ्जालमा ठूलो फड्को मारेको छ । गाउँपालिकाका अध्यक्ष यम द्यबजबमगच चिदीका अनुसार पालिकाले योजनाबद्ध रूपमा पूर्वाधार विकासमा गरेको लगानी अहिले स्पष्ट रूपमा तथ्याङ्क र परिणामहरूमा देखिन थालेको छ । विगत नौ वर्षको अवधिमा माथागढी गाउँपालिकाको आफ्नै लगानीमा ९ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भइसकेको छ । यसले गर्दा विगतमा हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेपेर यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता सधैँका लागि हटेको छ । माथागढी–३, कसेनीका स्थानीय बासिन्दा नारायणप्रसाद अधिकारी आफ्नो अनुभव सुनाउँदै पहिले हिउँद र वर्षामा हिँडिनसक्नु हुने बाटो अहिले घरै अगाडि कालोपत्रे भएपछि यात्रा निकै सहज भएको र गाउँमै गाडी गुड्न थालेकोमा खुसी व्यक्त गर्छन् ।
कालोपत्रे सडकसँगै पालिकाले ग्रामीण क्षेत्रका कच्ची सडकहरूलाई स्तरोन्नति गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । पालिकाभित्रका कच्ची सडकहरूलाई ग्राभेल गराएर बाह्रै महिना सवारी साधन चल्न सक्ने बनाइएको छ । नौ वर्षको अवधिमा पालिकाले ५१ किलोमिटर सडक ग्राभेल गरिसकेको छ, जसका कारण हिउँद र वर्षा दुवै मौसममा यातायात सेवा निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । यसका साथै उकालो, घुम्ती र सवारी गुडाउन बढी समस्या र जोखिम भएका स्थानहरू पहिचान गरी साढे चार किलोमिटरभन्दा बढी सडक ढलान (आरसीसी) गरिएको छ । यस प्रकारको ढलान सडकले ग्रामीण क्षेत्रको यात्रालाई अझ सुरक्षित र सहज बनाएको माथागढी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बोम बहादुर ठाडा बताउँछन् ।
वि.स. २०७४ अघिसम्म पालिकाको केन्द्र झडेवा आउन, एउटा गाउँदेखि अर्को गाउँ जान र सदरमुकाम तथा सहरी क्षेत्रमा पुग्न ग्रामीण सडकको पहुँच खासै सहज थिएन । भूगोलका यिनै जटिलता र दूरीलाई कम गर्न पालिकाले कुना–कुनासम्म सडक पु¥याउने अभियान नै चलायो । पूर्वाधार शाखा प्रमुख धर्मेन्द्र यादवका अनुसार विगत नौ वर्षको अवधिमा दुर्गम र सुगमका गाउँहरूलाई पालिकाको केन्द्र र मुख्य सहरहरूसँग जोड्नका लागि १०५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिएको छ । यो नयाँ ट्रयाक खुलेपछि इतिहासमै पहिलोपटक हरेक गाउँका नागरिकले आधुनिक सडक पूर्वाधारको प्रत्यक्ष प्रयोग र लाभ लिन पाएका छन् ।
सडक सञ्जाललाई व्यवस्थित र पूर्णता दिनका लागि खोल्सा, खोला र नदीहरूमा पुलपुलेसाको निर्माण उत्तिकै आवश्यक थियो । त्यसैले सडकलाई एकापसमा जोड्न र बाह्रै महिना यात्रा सुरक्षित बनाउन पालिकाभित्र ५० वटा भन्दा बढी झोलुङ्गे पुल, मोटरेबल पुल र कल्भर्टहरू निर्माण गरिएका छन् । सडक र पुलको यो सञ्जाल गाउँसम्म पुगेपछि स्थानीय बासिन्दाका लागि विकास मात्र होइन, अनेकौँ नयाँ अवसरका ढोकाहरू पनि खुलेका छन् ।
विगतमा सडक अभावकै कारण किसानहरूले दुःख गरेर उत्पादन गरेको तरकारी, दूध र अन्न बजारसम्म लैजान नपाउँदा गाउँमै थन्किन्थ्यो र कुहिएर नष्ट हुन्थ्यो । तर अहिले घरदैलोमै सडक पुगेपछि कृषकहरूले आफ्ना उत्पादनहरू सहज रूपमा बजारसम्म पु¥याएर आम्दानी गर्न थालेका छन् । स्थानीय बासिन्दा ज्ञान बहादुर जिसी भन्छन्, “पहिले वर्षायाममा खोल्साखोल्सी तर्नु निकै जोखिमपूर्ण हुन्थ्यो, बालबालिकाहरू विद्यालय जान डराउँथे र बिरामी पर्दा अस्पताल पु¥याउन ठूलो समस्या हुन्थ्यो । तर अहिले पुल र सडक बनेपछि यातायात सुरक्षित भएको छ र यसले सिङ्गो गाउँको जीवनशैली नै बदलिदिएको छ ।“
सडक र यातायात क्षेत्रमा मात्र नभई माथागढी गाउँपालिकाले स्थानीयको मुख्य जीविकोपार्जनको स्रोत रहेको कृषि क्षेत्रको उत्पादकत्व बढाउन सिंचाई पूर्वाधारमा पनि उत्तिकै जोड दिएको छ । वि.स. २०७४ सालदेखि २०८२ सालसम्मको अवधिमा उत्पादन वृद्धि गर्न र कृषि भूमिको उपयोगलाई बढाउन पालिकाले सिंचाई आयोजनाहरू निर्माण गरेको छ । यस नौ वर्षको अवधिमा १६ किलोमिटर लामो पक्की कुलो निर्माण भइसकेको छ, जसले गर्दा कृषकहरू आकासे पानीको भर पर्नुपर्ने अवस्था कम हुँदै गएको छ र उनीहरू व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् ।
भौगोलिक रूपमा विकट र बजारको पहुँचबाट टाढा रहेको माथागढी अचेल सुगम र समृद्ध बन्दै गएको छ । जनप्रतिनिधिहरूको दृढ इच्छाशक्ति, कर्मचारीहरूको प्राविधिक सहयोग र स्थानीय बासिन्दाको सहभागिताले नौ वर्षको अवधिमा माथागढी गाउँपालिकाले भौतिक र आर्थिक पूर्वाधारमा बलियो जग बसालेको छ ।

