नेत्र गैरे
पृष्ठभुमी

पाल्पा जिल्लाका धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका साथै पर्यटन विकासलाई टेवा दिने प्रचुर सम्भावना बोकेको ठाउँहरूमध्ये दर्लमडाँडा पनि एक हो । यो ठाउँ जिल्लाको सदरमुकाम तानसेन देखि करिब १२ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ । दर्लमडाँडा पहिले गाउँ बिकास समितिको रूपमा परिचित थियो भने संघिय संरचना पश्चात् अहिले बगनासकाली गाउँपालिकाको वडा नम्बर ५ मा रूपान्तरित भएको छ । धार्मिक सांस्कृतिक पहिचान बोकेका यो वडा उत्तरमा काली गण्डकी, दक्षिणमा चापपानी र नायर नम्तलेस, पुर्वमा खानिछाप र पश्चिममा यम्घा वडाहरू रहेका छन् । तिनवटा डाँडामा तेर्सिएर रहेका यस वडामा पहिलो लहरमा दर्लमडाँडा, दरूङ्गा र गेझा रहेका छन् भने दोश्रो तथा बिचमा वडा कार्यालय गरनडाँडा र भरेकटुङ गाउँ अवस्थित छन् । त्यस्तै तेश्रो लहरमा माथिल्लो कोलडाँडा तल्लो कोलडाँडा र सुनादी गाउँ रहेका छन् भने यस वडाकै गहनाको रूपमा रहेको राम्दी बजार काली गण्डकी किनारमा रहेको छ ।
शिक्षा
शिक्षाको क्षेत्रमा हेर्दा यस वडामा दर्लमडाँडा माध्यमिक बिद्यालय, सरस्वती आधारभुत बिद्यालय र एक निजिस्रोतमा संचालित नर्थ प्वाइन्ट इङलिस बोर्डिङ स्कुल यस क्षेत्रका बालबालिकालाई शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रूपमा रहेका छन् । शिक्षाको क्षेत्रमा अझ बढी पहूँच पुर्याउन स्थानिय सरकार र वडा मार्फत विविध कार्यक्रमहरु संचालन हुदै आएको पाईन्छ । यसै आ.ब.मा प्रविधि मैत्री शिक्षण सिकाई गर्नका लागि दर्लमडाँडा मा. बि. मा दश लाख रुपैया बिनियोजन गरिएको बिद्यालयका प्रधानाध्यापक डिल्लीराज गैरेको भनाई थियो ।
स्वास्थ्य
यस वडाको केन्द्र भाग गरनडाँडामा रहेको स्वास्थ्य केन्द्रले यस क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवा दिदै आएको छ । पोषण कार्यक्रम अन्र्तगत अण्डा, सर्वोत्तम पिठो बितरण गरिएको पाईन्छ । उत्कृष्ट कर्मचारी, स्वंयमसेविका सम्मान गरिएको छ । संचार खर्च प्रति महिना प्रति स्वयमसेविका रु. ५० दिने व्यवस्थाको नयाँ कार्यको थालनी गरिएको छ । स्वास्थ्य सस्थाको उपलब्ध जनशक्तिबाट गुणस्तरीय, प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध छ ।
कृषि
यस वडाका वडाबासीहरू आत्म निर्भर र भरपर्दो कृषी पेशामा आश्रीत नरहे पनि खेतबारी कमै बाझो रहेको पाइन्छ । वडामा अन्नबाली साथै गेडागुडी, बेसार खेती उत्पादन गरिएको छ । यहाँ तरकारीको पकेट क्षेत्रको रूपमा सुनादी परिचित छ । गाउँको सिरानमा रहेको परापूर्वदेखि चलन गर्दै आएको धाराको पानीलाई संकलन गरी सिंचाइको व्यवस्था गरिएको छ । यहाँ उत्पादित अन्नबाली बाहेक काउली, टमाटर, बन्दा, लहरेबालीबाट उत्पादित तरकारीहरू उत्पादन गरी विक्री गरेको र सोही तरकारी खेतीमा आत्मनिर्भर रहेका पाईन्छ । कृषिलाई यान्त्रिकिकरण गर्दै उत्पादन बृद्धि गर्ने उद्धेश्यले कृषकहरुको आवस्यकता र मागमा आधारित रहेर सिंचाई पाइप बितरण, मिनि ट्रिलर बितरण साथै मौरी तालिम समेत गराईएको वडा कार्यालयले जनाएको छ । बिडम्बनाको कुरो कृषकहरुले उत्पादन गरेको अनाज जंगली जनावरका कारण कति भित्रयाउन पाउने हो त्यस बारेमा कृषक चिन्तीत रहेको पाइन्छ ।
यातायात
साबिक दर्लमडाँडा गाउँ बिकास समितिका सबै वडाहरूमा साना ठुला सवारी साधनहरू गुडिरहेका छन भने दर्लमडाँडा, गरनडाँडा र कोलडाँडाबाट लुम्बिनी प्रदेशको मुटुको रूपमा रहेको बुटवल दैनिक बस सेवा संचालनमा रहदै आएको छ । यातायात पूर्वाधारका क्षेत्रमा हेर्दा यस वडाका सबै बस्ती बस्तीहरुमा साना ठूला यातायातका साधनहरुको पहुंचमा रहेको पाइन्छ । कृषकहरुले उत्पादन गरेका कृषि उपज सहज तरिकाले भित्रयाउन पाएका छन ।
खानेपानी
यस वडाभित्रका सबै बस्तीहरुका खानेपानीको सुबिधा रहेको छ । यस वडाका जनताहरु ग्राभिटी र लिफ्टिङ गरि स्वच्छ खानेपानीको उपभोग गर्दै आएका छन् । यस वडामा ८ वटा लिफ्टिङ प्रविधि संचालनमा रहेको र एक र्निमाणधिन चरणमा रहेको र केहि ठाउँमा ग्राभिटी प्रविधिबाट खानेपानीको उपभोग गर्दै आएको छन् ।
पर्यटन
आन्तरिक र बाह्य पर्यटनको क्षेत्रमा यस वडाले बलियो पहिचान बनाएको छ । यस वडालाई उत्तरी पाल्पाकै धार्मिक सांस्कृतिक धरोहरको रूपमा पनि लिन सकिन्छ । यस वडाका साविक दर्लमडाँडा गा.वि.स भित्र रहेका गाउँहरूमध्ये दर्लमडाँडामा दर्लम महाकाली मन्दिर, शिव मन्दिर, नौ देवी मन्दिर, झाँक्री थान, भयरथान रहेका छन् । यस्तै साविक वडा नं. २ मा सुन शिद्धगुफा, रामजानकी मन्दिर, भगवती मन्दिर, जगन्नाथ मन्दिर, बालखराम गुफा, रामानुज आश्रम, वेङ्कटेश्वर मन्दिर छन् । साविक वडा नं ३, ४ र ५ मा बराजु मन्दिरहरूका साथै शहिद पार्क रहेको छ । यस्तै वडा नं. ६ को कालिका मन्दिर, वडा नं ७ गरनडाँडाको चेचीकोट, शिवालय र चण्डी मन्दिरका साथै वडा नं. ९ को गेझाठाँटी र भयरझाँक्री मन्दिरले यस वडालाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा परिचित गराएको छ ।
दर्लम महाकाली भगवती माताको दर्शन गर्न आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको घुइचो नै लाग्ने गर्दछ । यस्तै गरी सिद्धगुफा राम्दीले पनि धार्मिक पर्यटकहरूलाई लोभ्याएको छ । पर्यटकिय आर्कषणको केन्द्रको रूपमा संम्भाव्यता बोकेको तल्लो कोलडाँडा शहिद केवल गाहा पार्क र भ्यू टावरको योजनाले आन्तरिक तथा बाह्य पर्यटनको आर्कषण बढाउन सहयोग पुग्ने देखिन्छ । हाल दुईवटा मगर संग्राहलय र्निमाणाधिन चरणमा रहेको छ । त्यस्तैगरि सुनादीको ब्राम्हण होमस्टे संचालनमा रहेको र कोलडाँडमा होमस्टेको तयारी रहेको पाईन्छ । यस्तै राम्दिदेखि माथिल्लो कोलडाँडासम्म पैदलमार्गको अवधारणा ल्याइएको र यसको सफलता पछि यस वडामा आन्तरिक तथा बाह्य पर्यटनको चाप बढ्ने देखिन्छ ।
हालको अवस्था
बगनासकाली गाउँपालिकाको आ.ब. २०८२/०८३ को बार्षिक बिकास योजना अनुसार यस वडामा २७ वटा र्शिषकहरु छुट्याईएको पाईन्छ । जस अनुसार लैंगिक समानता तथा सामाजिक समावेशिकरण, युवा तथा खेलकुद, उद्योग, शिक्षा, स्वास्थ्य, कृषि, यातायात पूर्वाधार,पशुपंक्षी बिकास,खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा काम सम्पन्न गरिएको साथै लुम्बिनी प्रदेश मातहतमा संचालनमा रहेको खानेपानी टंकी निर्माण लगायतका काम सम्पन्न चरणमा पुगेको वडाध्यक्ष ओम प्रकाश गैरेले बताउनु भयो ।

