पूर्वखोलाका किसानलाई वर्षे धान भित्राउने चटारो

पाल्पा, असार ७ ।
असारको महिना सुरु भएसँगै मुलुकभर रोपाइँको चटारो छ । तर, पाल्पाको पूर्वखोला क्षेत्रका किसानहरूलाई भने यतिबेला दोहोरो उत्सव र चटारोले छोपेको छ । यहाँका कृषकहरू मानो रोपेर मुरी उब्जाउने चटारोसँगै पाकेको वर्षे (चैते) धान बाली भित्र्याउन खेतमै अहोरात्र खटिएका छन् ।

चैत महिनाको पहिलो साता रोपेर असारको पहिलो सातासम्ममा तयार भएको धान बाली भित्र्याउन यतिबेला पूर्वखोला गाउँपालिका अन्तर्गतका मैदान फाँट, शिखरडाँडा, कर्नेडाँडा, पोखरीछाप, मन्दिरडाँडा, बिर्ता बजार, भालुकोन र राक्से लगायतका विभिन्न ठाउँका किसानहरू खेतमै पुगेर धान भित्र्याउने धपेडीमा छन् । वर्षमा दुई बाली धान भित्र्याउने दृढ उद्देश्यका साथ मैदान फाँट र पूर्वखोला आसपासका अन्य उर्वर फाँटहरूमा लगाइएको धानको बाला पाकेर पहेँलपुर भएपछि यतिबेला पाखाहरू सुन जस्तै टल्किएका छन् ।

अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि प्रकृति र मौसमले साथ दिएको छ । पानीको समयमै अनुकूलता भएका कारण धानको उब्जनी सोचेभन्दा निकै राम्रो भएको स्थानीय कृषकहरूले बताएका छन् । बाली भित्र्याउने बेला उत्पादन बढेपछि यहाँका कृषकहरूको अनुहारमा खुसी र उत्साहको चमक प्रष्ट देख्न सकिन्छ ।

स्थानीय अगुवा कृषक रामप्रसाद थापाले खुसी साट्दै भन्नुभयो, “सधैंको वर्ष जस्तै यस वर्ष पनि पानी राम्रो परेकाले उब्जनी निकै राम्रो भएको छ । धान भित्र्याउन पाउँदा हामी किसानहरू अत्यन्तै हर्षित र उत्साहित छौँ । हाम्रो अनुमान अनुसार यस वर्ष यो सम्पूर्ण क्षेत्रबाट मात्रै करिब १५० टनसम्म चैते धान उत्पादन हुन सक्छ ।” कृषक थापाले यस वर्ष धान उत्पादनमा उत्साहजनक वृद्धि भएको दाबी समेत गर्नुभएको छ ।

धान उत्पादन राम्रो भएकोमा कृषकहरू दङ्ग त छन्, तर उनीहरूमा एउटा गहिरो चिन्ता पनि छ— परम्परागत खेती प्रणालीको निरन्तरता । कृषिलाई अझ बढी व्यावसायिक, लागत कम र व्यवस्थित बनाउन सरकारी निकायबाट ठोस सहयोगको आवश्यकता रहेको कृषकहरूले औंल्याएका छन् । उचित कृषि औजार (मेसिनरी), समयमै उन्नत मल तथा बिउ, हिउँद र चैतमा पनि सहज हुने सिँचाइको भरपर्दो व्यवस्था तथा अन्य आवश्यक कृषिजन्य आधुनिक प्रविधि र वैज्ञानिक ज्ञानको सहज उपलब्धता हुन सके मात्र किसानहरूको मनोबल थप उच्च हुने कृषि विज्ञहरू बताउँछन् ।

पूर्वखोलाका किसानको यो अथक मिहिनेत र उत्पादनलाई दिगो बनाउन स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले बताउनुभएको छ । अध्यक्ष थापाले भन्नुभयो, “पूर्वखोलालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हाम्रो मुख्य लक्ष्य हो । किसान दाजुभाइ दिदीबहिनीहरूले चैतको टन्टलापुर घाममा बगाएको पसिनाको सम्मान गर्दै पालिकाले आगामी नीति तथा कार्यक्रममा किसानहरुका लागि विशेष व्यवस्था गर्ने छौं । उत्पादित धानको उचित मूल्य सुनिश्चित गर्न, बजारीकरणमा सहयोग गर्न र चामल कुट्ने आधुनिक मिलहरूमा अनुदान दिन हामी तयार छौँ । किसानहरूलाई आवश्यक पर्ने आधुनिक औजार र सिँचाइका साना योजनाहरूलाई हामी प्राथमिकताका साथ अगाडि बढाउने छौँ ।”

गाउँपालिकाको कृषि शाखाले पनि किसानहरूलाई प्रविधि र प्राविधिक ज्ञान हस्तान्तरण गर्न योजनाबद्ध रूपमा काम गरिरहेको जनाएको छ । पूर्वखोला गाउँपालिका कृषि शाखाकी चाँदनी चौधरीका अनुसार चैते धानको उत्पादकत्व अझै बढाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य भइसकेको छ । शाखा प्रमुख चौधरीले भन्नुभयो, “अहिले कृषकहरूमा रैथाने र परम्परागत तरिकाले गर्दा श्रम बढी र उत्पादन लागत महँगो परिरहेको छ । आगामी दिनमा हामी यस क्षेत्रका किसानहरूलाई कम्बाइन हार्भेस्टर, धान काट्ने रिपर मेसिन र आधुनिक थ्रेसर जस्ता कृषि औजारहरूमा अनुदान उपलब्ध गराउने तयारीमा छौँ । साथै, आगामी वर्षका लागि समयमै उन्नत जातको चैते धानको बिउ र माटो सुहाउँदो मलको मौज्दात सुनिश्चित गर्न हामीले कृषि ज्ञान केन्द्र पाल्पासँग पनि समन्वय गरिरहेका छौँ । किसानको मनोबल बढाउन नियमित प्राविधिक परामर्श सेवा खेतमै पु¥याउने हाम्रो प्रतिबद्धता छ ।”

कृषकका आधारभूत आवश्यकताहरू र स्थानीय सरकारका प्रतिबद्धताहरू समयमै पूरा भएमा कृषकहरूमा थप लगनशीलता बढ्ने र कृषि क्षेत्रमा अझै ठूलो सुधार आउने निश्चित छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय