पाल्पा, असार ६ – पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. ५ स्थित शिखरडाँडामा लामो समयदेखि खानेपानीको चरम समस्या देखिएको छ । यहाँका स्थानीय बासिन्दाहरू धारा भएर पनि पानी नआउँदा घण्टौँ हिँडेर पानीको जोहो गर्न बाध्य छन् ।
मुख्य गरी मगर समुदायको बसोबास रहेको यस क्षेत्रका ६० घरधुरी अहिले खानेपानीको समस्याका कारण प्रत्यक्ष मारमा परेका छन् । पानीको मूल सुकेको र खानेपानी टङ्की गाउँभन्दा तल तथा मुहान माथि भएका कारण पनि पानी वितरणमा प्राविधिक तथा व्यवस्थापकीय समस्या देखिएको छ ।

स्थानीयका अनुसार हिउँदको समयमा यहाँ पानीको चरम अभाव हुने गर्दछ भने वर्षायाममा जेनतेन खान पुग्ने स्थिति रहन्छ । तर, दिगो व्यवस्थापन नहुँदा स्थानीयहरू सुनानागमा रहेका धाराबाट एक घण्टा पैदल हिँडेर पानीको जोहो गर्न बाध्य छन् ।
खानेपानीको यही समस्याका कारण विद्यार्थीहरू समेत प्रभावित भएका छन् । स्थानीय विद्यार्थी विकास काम्मु विद्यालय पुग्न आधा घण्टा लाग्ने बताउँछन् । उनी भन्छन्, “बिहान उठेर खानेपानीको जोहो गर्नमै समय बित्छ, जसले गर्दा विद्यालय जान र पढ्नलाई निकै गाह्रो भएको छ ।”

यस्तै, स्थानीय मिस्त्री काम गर्ने श्यामबहादुर काम्मुले पानीको अभावले दैनिक जनजीवन र पेसागत काममा समेत बाधा पुर्याएको गुनासो गरे । उनले भने, “धारा छन् तर पानी आउँदैन । दिनभरि काम धन्दा गर्ने कि पानी खोज्न हिँड्ने ? हाम्रो समस्या कसैले देखेन ।”
यस खानेपानी योजनाको काम अगाडि बढ्न नसक्नुमा उपभोक्ताहरूको निष्क्रियता र स्थानीय स्तरमा उत्पन्न मुहान विवाद मुख्य कारण रहेको पाइएको छ । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले स्थानीय स्तरको विवादले गर्दा नै काम रोकिन पुगेको स्पष्ट पारेका छन् । अध्यक्ष थापाले भने, “उपभोक्ताहरू सक्रिय नहुँदा र स्थानीयबीच मुहानको विषयलाई लिएर विवाद हुँदा योजना सम्पन्न हुन सकेको छैन । गाउँपालिकाले स्थानीयहरूबीचको विवाद मिलाउने हरसम्भव प्रयास गरिरहेको छ । स्थानीय विवाद समाधान हुनासाथ गाउँपालिकाले यस योजनाका लागि बजेट विनियोजन गर्नेछ, बजेटको कुनै समस्या छैन ।”
स्थानीय स्तरको विवाद छिटो समाधान नभए आगामी हिउँदमा शिखरडाँडामा खानेपानीको संकट अझै भयावह हुने निश्चित देखिन्छ ।
Photo Created By AI

