पाल्पाको बगनासकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई जनमुखी, व्यावहारिक र प्रभावकारी बनाउन तयारी थालेको छ । स्थानीय सरकारको आगामी कार्यदिशा तय गर्ने यस महत्वपूर्ण प्रक्रियामा सरोकारवालाहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गराउने उद्देश्यले गाउँपालिकाले राजनीतिक दल, स्थानीय सञ्चारकर्मी र जनप्रतिनिधिहरूबीच एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सुझाव संकलन गरेको छ ।
गाउँपालिकाले समावेशी र लोकतान्त्रिक पद्धतिबाट बजेट निर्माण गर्ने प्रयास स्वरूप एक महिना अगाडि नै डिजिटल माध्यमबाट सार्वजनिक रूपमा सुझाव माग गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेयले आधुनिक प्रविधिको उपयोग गर्दै डिजिटल माध्यमबाट योजनाहरू संकलन गरिएको जानकारी दिए । यसका अतिरिक्त पालिकाले कुनै पनि नागरिक नछुटून् भन्ने उद्देश्यले विभिन्न टोलभेला, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट समेत भौतिक रूपमा व्यापक सुझावहरू संकलन गरेको उनले स्पष्ट पारे ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय सञ्चारकर्मीहरूले गाउँपालिकाको चौतर्फी विकास र सञ्चार क्षेत्रको सुदृढीकरणका लागि महत्वपूर्ण दृष्टिकोणहरू प्रस्तुत गरे । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बगनासकाली धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्र भएकाले आगामी बजेटमा धार्मिक पर्यटनको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए । उनले सीमित स्रोत र साधनका बाबजुद गाउँपालिकाले गरिरहेका कामहरू प्रशंसनीय रहेको उल्लेख गर्दै यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । त्यस्तै, पत्रकार किरण कौशलले गाउँपालिकाको आफ्नै व्यवस्थित सञ्चार नीति हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरणका लागि ’कोशेली घर’ निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने र पर्यटकीय स्थलहरूको संरक्षण गरिनुपर्ने धारणा राखे ।
यसैगरी, पत्रकार कृष्ण पोखरेलले सिद्धार्थ राजमार्ग क्षेत्रमा सार्वजनिक खानेपानीको धारा र शौचालयको उचित व्यवस्थापन गर्न माग गरे । उनले अधुरा र बाँकी रहेका योजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर सम्पन्न गर्न, उत्पादनमा आधारित अनुदानलाई निरन्तरता दिन, बाँदर तथा वन्यजन्तु नियन्त्रणका लागि ठोस योजना बनाउन र घरेलु तथा साना उद्योगहरूसँग समन्वय गरी स्वरोजगारका अवसरहरू सिर्जना गर्न सुझाव दिए । अर्का पत्रकार मिलन विकले गरिब तथा विपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न र बजेटलाई महोत्त्वाकांक्षी नबनाई कार्यान्वयन हुन सक्ने आकारको मात्र बनाउन आग्रह गरे । पत्रकार नेत्र गैरेले ग्रामीण सडकहरूको दीर्घकालीन सुरक्षा र मर्मतका लागि ’लेन्थवर्कर’ को व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए भने स्थानीयबासी हरी भट्टराईले विद्यालयहरूलाई गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्न र स्थानीय मदिराको ब्रान्डिङका लागि पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले ग्रामीण क्षेत्रको वास्तविक वस्तुस्थिति र किसानका समस्याहरूलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरे । नेकपाका नेता मिन बहादुर विकले पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गर्नुपर्ने र रैथाने उत्पादन ’बगनासे साँचो’ को प्रयोग बढाउँदै उत्पादकहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
नेकपा एमालेका नेता डेन्जिङ रायमाझीले लगानीको क्षेत्र स्पष्ट हुनुपर्ने र ग्रामीण सडकहरूको अवस्था सुधार गर्नुपर्नेमा जोड दिए । यसैगरी, नेपाली काँग्रेसका नेता यमलाल तिमिल्सेनाले ग्रामीण क्षेत्रका बस्तीहरू रित्तिँदै गएको र खेतबारी बाँझो हुने क्रम बढेकोमा चिन्ता व्यक्त गरे । उनले बाँदर, रतुवा र मृग जस्ता जंगली जनावर किसानका मुख्य शत्रु भएकाले यसको नियन्त्रणका लागि योजना ल्याउन, कृषि सडकलाई प्राथमिकता दिन र कृषि उपजको बजारीकरणमा ध्यान दिन आग्रह गरे । साथै, उनले लोकतन्त्र बलियो बनाउन पत्रकारहरूको भूमिका अग्रणी रहने समेत उल्लेख गरे ।
सरोकारवालाहरूबाट प्राप्त रचनात्मक सुझावहरू प्रति जनप्रतिनिधिहरूले पूर्ण प्रतिबद्धता जनाएका छन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष टिका बहादुर थापाले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक मनन गर्दै आगामी नीति तथा कार्यक्रममा अधिकतम रूपमा समावेश गरिने आश्वासन बताए ।
गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठकले बगनासकालीको भविष्य सुन्दर रहेको चर्चा गर्दै अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गरे । उनले गाउँपालिकाका ४–५ वटा मुख्य सडकहरूलाई पूर्ण रूपमा स्तरोन्नति गर्न सके भौतिक विकासमा ठूलो फड्को मार्ने दाबी गरे । साथै, उनले निर्माणाधीन १५ शैयाको अस्पताल आगामी असार मसान्तभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्राप्त सुझावहरू अत्यन्तै महत्वपूर्ण र मार्गदर्शक रहेको बताइन् । उनले गाउँपालिकाको स्रोत र साधनले भ्याएसम्म यी सुझावहरूलाई समेटेर लैजाने दृढता व्यक्त गरिन् । अध्यक्ष चिदीले भनिन्, “हामी नागरिकका लागि सुशासन, जवाफदेहिता र पारदर्शितामा ध्यान दिएर नीति तथा कार्यक्रम तय गर्नेछौँ ।” उनले राजनीतिक दलको आस्थाका आधारमा बजेट र योजना विनियोजनमा कुनै पनि विभेद नगरिएको दाबी गर्दै तुलनात्मक रूपमा ग्रामीण क्षेत्रका विकट र दुर्गम वडाहरूलाई आगामी बजेटमा प्राथमिकता दिइएको स्पष्ट पारिन् । यस अन्तरक्रियाले आगामी वर्षको नीति तथा कार्यक्रमलाई थप व्यावहारिक, जनपक्षीय र सन्तुलित बनाउन मद्दत पुग्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

