पाल्पा, २७ जेठ
भौगोलिक रूपमा विकट र उकालो भूगोल रहेको पाल्पाको माथागढी गाउँपालिकाका धेरै डाँडाबस्तीहरूमा खानेपानी पुगेपछी नागरिकहरुमा खुसीयाली छाएको छ । वर्षौंदेखि खानेपानीको चरम संकट झेल्दै आएका स्थानीय नागरिकको घरको आँगनमै खानेपानी उपलब्ध होस् भन्ने चाहना पूरा भएको छ । माथागढीका आठवटै वडाका डाँडाकाँडा र उकालो भूगोलका कारण धेरै बस्तीमा खानेपानी पु¥याउन निकै कठिन थियो । तर, गाउँपालिकाले ती सुख्खा बस्तीहरूमा लिफ्ट खानेपानी योजना अघि सारेर पानीको जोहो गरिदिएपछि स्थानीयको जीवन सहज बनेको हो ।

विगतमा एक गाग्रो पानीका लागि बिहानको कतिपय समय कुवा र पँधेरामा बिताउनुपर्ने बाध्यता रहेको माथागढी–४ देवगिरकी विष्णु जिसी बताउँछिन् । अहिले घरकै आँगनमा खानेपानी उपलब्ध हुँदा वर्षौंदेखिको चाहना पूरा भएको र यसले जीवनमा ठूलो परिवर्तन ल्याएको उनको अनुभव छ ।
खानेपानीको सहज पहुँच पुगेपछि घरायसी दुःखको आधा काम घटेको स्थानीयबासी राम बहादुर जिसी बताउँछन् । पानी भर्न र जोहो गर्न लाग्ने समय बचत भएपछि उक्त समयलाई अन्य उत्पादनमूलक कार्यमा लगाउन पाइएको उनको भनाइ छ । यस्तै, अर्की स्थानीय सरिता गाहाले पानीको सुविधा पुगेपछि गाउँको स्वास्थ्य र सरसफाइको स्तरमा समेत ठूलो सुधार आएको अनुभव सुनाउँछिन् । विगतमा खानेपानीकै चिन्ताले अरू काम ओझेलमा पर्ने गरेकोमा अहिले समयको ठूलो बचत भएको उनले बताइन् । पानीको खोजीमा टाढासम्म धाइनुपर्ने बाध्यता अन्त्य भएपछि स्थानीय महिला तथा बालबालिकाहरूले राहत महसुस गरेका छन् ।
माथागढी गाउँपालिकाका वडा नं. १ देखि वडा नं. ८ सम्म दर्जनौँ खानेपानी आयोजनाहरू सञ्चालनमा आएका छन् । तीमध्ये कतिपय योजनाहरू सम्पन्न भइसकेका छन् भने केही अझै निर्माणाधीन अवस्थामा छन् । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीका अनुसार यी योजनाहरूले पालिकाभित्रका सयौँ परिवारलाई सुरक्षित र सहज खानेपानीको पहुँच दिलाएका छन् ।
पालिकाभित्र सञ्चालित विभिन्न आयोजनाहरूले ठूलो संख्यामा जनसङ्ख्यालाई समेटेका छन् । माथागढीको वडा नं. १ स्थित बदवारी खानेपानी आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित भएका छन् भने बाहखोक अर्पिडाँडा दोहोरा खानेपानीले २४० घरधुरीलाई समेटेको छ । यसैगरी, धारादी रुमालडाँडा लिफ्ट खानेपानी आयोजनाले ४० घरधुरीलाई सेवा दिएको छ भने बुढिकोट लिफ्ट खानेपानी आयोजनाबाट ८० घरधुरी लाभान्वित भएका छन् । जाउपोखरा खानेपानी आयोजना भने अहिले निर्माणाधीन अवस्थामा रहे पनि यसबाट करिब ४५ घरधुरी लाभान्वित हुनेछन् । वडा नं. ३ को ओलेस खानेपानी आयोजनाबाट ५५ घरधुरी र सरापकोट खानेपानी आयोजनाबाट ३१ घरधुरी लाभान्वित भएका छन् ।
माथागढी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ झडेवाका वडाध्यक्ष शंकर दर्लामीका अनुसार झडेवा क्षेत्रमा लिफ्ट प्रणालीमार्फत धेरै बस्तीहरूमा पानी पु¥याइएको छ । गाउँपालिकाले खानेपानीको पहुँच विस्तार गर्न अझै पनि केही महत्वपूर्ण आयोजनाहरू तीव्र गतिमा सञ्चालन गरिरहेको छ । गाउँपालिकाका सब–इन्जिनियर दीपक ध्यारका अनुसार वडा नं. ५ मा बडरडी, कप्टी मौलाथर, पिसेलुङ र माथागढी खानेपानी आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् र यी सबै आयोजनाहरू यसै वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसैगरी, वडा नं. ६ मा अलैचे, ढुङ्ग्रेखोला, पुरनपानी र टोक्लोक्डी खानेपानी आयोजनाहरूको निर्माण कार्य पनि अगाडि बढिरहेको छ । वडा नं. ८ बहादुरपुरमा बेतेनी लिफ्ट खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुङ्चेका अनुसार यी सबै निर्माणाधीन आयोजनाहरू पूरा भएको खण्डमा माथागढीका ९५ प्रतिशत नागरिकमा खानेपानीको पहुँच विस्तार हुनेछ । स्थानीय तह स्थापना भएपछि पालिकाभित्र हालसम्म ३ हजार ६ सयभन्दा बढी धाराहरू जडान भइसकेका छन्, जसबाट १३ हजार ९ सय ३८ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
Photo Generated By AI

