माथागढीमा फस्टाउँदो बंगुरपालनः गाउँपालिकाको अनुदानले उत्पादनमा वृद्धि

पाल्पा, माथागढी

वैदेशिक रोजगारी त्यागेर बंगुरपालनमा होमिएका माथागढीका सम्मर बहादुर कुमाल दम्पती यतिबेला गाउँकै उदाहरणीय उद्यमी बनेका छन् । ५ वर्षअघि एउटा मात्र बंगुरबाट सुरु भएको उनको व्यवसाय अहिले वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने गतिलो माध्यम बनेको छ ।

स्थानीय सरकारको प्रोत्साहन र दम्पतीको निरन्तर परिश्रमले कसरी गाउँमै समृद्धि ल्याउन सक्छ भन्ने उदाहरण पाल्पाको माथागढी गाउँपालिका–३ कसेनीका सम्मर कुमालले प्रस्तुत गरेका हुन् । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्किएका सम्मर कुमालले गाउँमै केही गर्ने सोचका साथ एउटा बंगुरबाट व्यवसाय सुरु गरेका थिए । व्यावसायिक दृढता र निरन्तरताका कारण अहिले उनको खोरमा माउ बंगुरको संख्या मात्रै १५ पुगेको छ ।

“व्यवसायबाट म पूर्ण रूपमा सन्तुष्ट छु,“ सम्मरले खुसी व्यक्त गर्दै भने, “घरखर्च कटाएर राम्रो बचत भएको छ, ऋण पनि तिर्न सहज भएको छ । अहिले वार्षिक करिब २० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।”

यो सफलतामा उनलाई माथागढी गाउँपालिकाबाट प्राप्त २ लाख रुपैयाँ अनुदानले ठूलो आड दियो । उक्त अनुदान रकमबाट उनले बंगुरको खोर पार्टेसन र ढलान गरी व्यवस्थित बनाएका छन् । गाउँपालिका र वडा कार्यालयबाट नियमित रूपमा प्राप्त हुने प्राविधिक सहयोगले व्यवसायलाई थप सहज बनाएको उनको अनुभव छ ।

कुमाल दम्पतीको यो सफलताको मुख्य कडी आपसी मेलमिलाप र निरन्तरता हो । सुरुमा ब्रोइलर कुखुरा पालन समेत गरेका उनीहरूले अहिले भने पूर्ण रूपमा बंगुरपालनमा मात्रै ध्यान केन्द्रित गरेका छन् । सम्मरकी श्रीमती भन्छिन्, “काम सानो–ठूलो हुँदैन, आफ्नै परिवार मिलेर गरे दुःख थाहा पाइँदैन । यहाँ नगरे विदेश जानैप¥यो, विदेशमा पनि दुःख त हुनै हो । त्यसैले दुःख जहाँ पनि हुने भएपछि आफ्नै देशमा गरौं भनेर मैले श्रीमानलाई विदेश जान रोकेकी हुँ । अहिले मिलेर काम गर्दा प्रतिफल देखिन थालेको छ ।”

व्यवसायमा टिकिरहनु सबैभन्दा ठूलो चुनौती रहेको सम्मरको बुझाइ छ । “काम सुरु गर्न त सजिलो छ, तर टिक्न गाह्रो छ । कुनै पनि पेसामा टिकेर निरन्तरता दिन सके पैसा कमाउन विदेश गइरहनु पर्दैन,” उनी थप्छन् ।

सम्मरको व्यवस्थित खोर र व्यवसाय गर्ने शैलीले अन्य स्थानीय किसानलाई पनि आकर्षित गरेको छ । माथागढी गाउँपालिका–३ कसेनीका वडाध्यक्ष तेज बहादुर घर्तीमगरका अनुसार कुमालको यो व्यवसाय धेरै बंगुरपालक किसानका लागि प्रेरणाको स्रोत बनेको छ । सुरक्षित र व्यवस्थित तरिकाले गरिएको खोर व्यवस्थापनकै कारण यस क्षेत्रमा बंगुरपालनतर्फ आकर्षण बढेको वडाध्यक्ष घर्तीमगरले बताए ।

माथागढी गाउँपालिकाले वास्तविक किसानलाई प्रोत्साहन गर्न र अनुदानको दुरुपयोग रोक्न उत्पादनका आधारमा अनुदान दिने प्रणाली लागू गरेको छ । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले भने, “हामीले किसानले जति धेरै उत्पादन गर्छन्, त्यति नै धेरै अनुदान रकम सिधै उनीहरूको खातामा जाने व्यवस्था मिलाएका छौं । दुध, माछा, मासु, कृषिजन्य वस्तु, मह र तरकारीमा यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढेको छ ।”

गाउँपालिकाको यही नीतिका कारण माथागढीमा सुँगुर तथा बंगुरको मासु उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । ८ वर्षअघि गाउँपालिकाभर वार्षिक १७४ दशमलव ५ मेट्रिक टन मासु उत्पादन हुने गरेकोमा, पालिकाले किसान लक्षित प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेपछि अहिले यो आँकडा बढेर २०३ दशमलव ८ मेट्रिक टन पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय