तानसेन । गत जेष्ठ २२ गते यस माडी भ्यू न्यूज डटकममा प्रकाशित तानसेन नगरपालिकाका प्रवक्ता र फोकल पर्सनमाथि कमिसनको आरोप शीर्षकको समाचारप्रति तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं. ११ का वडा अध्यक्ष यादवसिंह कार्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन पठाउनुभएको छ।
पत्रकारिताको सन्तुलन र सम्बन्धित पक्षको प्रष्टीकरणलाई स्थान दिने मान्यताअनुरूप निज कार्कीले पठाउनुभएको खण्डन पत्र जस्ताको तस्तै तल प्रकाशित गरिएको छ :

श्री सम्पादकज्यू,
माडी भ्यू न्यूज तानसेन, पाल्पा
विषय: समाचारको खण्डन तथा स्पष्टीकरण प्रकाशित गरिदिने सम्बन्धमा।
मिति २०८३ जेष्ठ २२ गते तपाईंको सञ्चारमाध्यममा प्रकाशित “तानसेन नगरपालिकाका प्रवक्ता र फोकल पर्सन दुर्गाबहादुर थापामाथि कमिसनको आरोप” शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त समाचारमा म, यादवसिंह कार्की, तानसेन नगरपालिकाको प्रवक्ताको हैसियतमा कमिसन मागेको, कार्यक्रम मिलाइदिने आश्वासन दिएको तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको भन्ने आशयका आरोपहरू प्रकाशित गरिएका छन्। यी आरोपहरू पूर्ण रूपमा निराधार, असत्य, भ्रामक तथा मेरो व्यक्तिगत, सामाजिक, राजनीतिक र सार्वजनिक प्रतिष्ठामा आघात पुर्याउने प्रकृतिका छन्।
समाचारमा प्रस्तुत आरोपहरूको पुष्टि हुने कुनै प्रमाण, आधिकारिक अनुसन्धान प्रतिवेदन वा सक्षम निकायको निष्कर्ष प्रस्तुत गरिएको छैन। आरोपलाई नै तथ्यसरह प्रस्तुत गरिएको देखिन्छ, जसले पाठक तथा आम नागरिकमा मेरो सम्बन्धमा नकारात्मक धारणा निर्माण गर्ने कार्य गरेको छ।
यस सन्दर्भमा म स्पष्ट गर्न चाहन्छु कि मिति २०८३/०२/०४ गते मोटरसाइकल दुर्घटनामा परी मेरो देब्रे खुट्टा फ्याक्चर भएको थियो। उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार ६ हप्तासम्म प्लास्टर गर्नुपर्ने अवस्था रहेकोले वडा कार्यालयको दैनिक कार्यसम्पादनका लागि कार्यवाहकको व्यवस्था गरी म कहिले घरमा त कहिले अस्पतालमा उपचाररत रहेको छु। सो अवधिमा मेरो स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा नियमित आवतजावतका कारण कतिपय फोन कलहरू प्राप्त भए वा नभएको समेत हेक्का राख्न कठिन अवस्था थियो।
यस्तो अवस्थामा मेरो स्पष्ट धारणा र प्रतिक्रिया प्राप्त नगरी, मसँग प्रत्यक्ष सम्पर्क स्थापित भएको सुनिश्चित नगरी तथा मेरो भनाइलाई पर्याप्त अवसर नदिई यति गम्भीर प्रकृतिको समाचार प्रकाशित गरिनु पत्रकारिताको धर्म, मर्म, मूल्य–मान्यता तथा निष्पक्ष पत्रकारिताको सिद्धान्तअनुकूल भएको मैले ठानेको छैन।
पत्रकारिताको आधारभूत मान्यता सत्यता, निष्पक्षता, सन्तुलन, प्रमाणको खोजी तथा सम्बन्धित पक्षलाई आफ्नो धारणा राख्ने अवसर प्रदान गर्नु हो। कुनै पनि व्यक्तिमाथि गम्भीर आरोप प्रकाशित गर्दा पर्याप्त तथ्य, प्रमाण तथा सम्बन्धित पक्षको स्पष्ट भनाइ समावेश गर्नु सञ्चारमाध्यमको जिम्मेवारी हो।
अतः उक्त समाचारमा प्रकाशित आरोपहरूबारे मेरो यो खण्डन तथा स्पष्टीकरणलाई पत्रकारिताको मूल्य–मान्यता स्वतन्त्रताको मर्यादा तथा प्रचलित कानुनी व्यवस्थाअनुसार उचित प्राथमिकताका साथ प्रकाशित/प्रसारण गरिदिन अनुरोध गर्दछु। साथै भविष्यमा यस्ता संवेदनशील विषयमा पर्याप्त तथ्य परीक्षण, प्रमाणको खोजी तथा सम्बन्धित पक्षको धारणा सुनिश्चित गरेर मात्र समाचार सम्प्रेषण गर्नसमेत अनुरोध गर्दछु।
अन्यथा मेरो व्यक्तिगत तथा सार्वजनिक प्रतिष्ठामा पुगेको क्षतिको संरक्षणका लागि प्रचलित कानुनबमोजिम सम्बन्धित निकाय तथा अदालतमा जाने अधिकार सुरक्षित रहेको व्यहोरा समेत जानकारी गराउँदछु।
यादवसिंह कार्की
प्रवक्ता, तानसेन नगरपालिका वडा अध्यक्ष, वडा नं. ११ तानसेन, पाल्पा

