(पाल्पा)
स्थानीय तहमा नीतिगत भ्रष्टाचार कतिसम्म हुन्छ भन्ने तानसेन नगरपालिकामा संचालन भएको एक कार्यक्रमले प्रष्ट पारेको छ । कमिसन नमिल्दा तानसेन नगरपालिकामा चालु आर्थिक वर्षमा संचालन भएको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमको विवाद सतहमा आएको हो । ‘संसारको जुनसुकै कुनामा गएर पनि भन्न सक्छु— तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्की र योजना शाखाका दुर्गाबहादुर थापा भ्रष्ट हुन् । मैले कमिसन दिन्न भनेकै कारण जालझेल गरेर मेरो संस्थालाई पाखा लगाउन कागज मिलाइयो ।’ सशक्तिकरण विकास नेपाल, तानसेनकी अध्यक्ष एन्जिना खनालको आरोप छ । उनको आरोपले तानसेन नगरपालिकाभित्र संस्थागत रूपमै मौलाएको नीतिगत भ्रष्टाचार र कमिसनतन्त्र छर्लङ्ग हुन्छ । नीतिगत र कागजी भ्रष्टाचार तानसेनमा भएको आरोप खनालको छ ।
हाकिम साबको नाममा कमिसनको बार्गेनिङ
लुम्बिनी प्रदेश सरकार र तानसेन नगरपालिकाको साझेदारीमा सञ्चालन हुन लागेको २ करोड १५ लाख रुपैयाँ बराबरको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अहिले विवादको भुमरीमा फसेको छ । विवादको जड हो— जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा मागिएको कमिसन र विधि विपरितको आश्वासन ।
अध्यक्ष खनालका अनुसार, तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं. ११ का वडाध्यक्ष यादवसिंह कार्कीले आफ्नै कार्यकक्षमा दुई–दुई पटक बोलाएर कमिसनको बार्गेनिङ गरेका थिए । कार्कीको संवाद उद्धृत गर्दै खनाल भन्छिन्, ‘कार्यक्रम परेमा कति रकम दिन सकिन्छ ? हाकिम साबले सोध्न भन्नुभएको छ भन्दै प्रवक्ताले कमिसन मागे ।’ यति मात्र होइन, प्रवक्ता कार्कीले ‘कमिसनको रकम टुङ्ग्याउनुस्, बाँकी सबै कुरा दुर्गा सर (योजना शाखा प्रमुख) ले मिलाउनुहुन्छ’ भन्दै दबाब समेत दिएका थिए ।
जब खनालले कमिसन दिन नसक्ने अडान लिइन्, तब सुरु भयो कागजात मिलाएर अर्को संस्थालाई छनौट गर्ने खेलो । ‘कागजी प्रक्रियामा त उहाँहरू चुक्नुभएको छैन होला, वर्षौंदेखि यही खेलोमा अनुभवी हुनुहुन्छ । कागजी प्रक्रिया मिलाएर कमिसन माग्नेहरूले नगरपालिका ध्वस्त बनाएका छन्,’ खनालले आक्रोश पोखिन् ।

झूटो आश्वासन र वित्तीय अनुशासनको धज्जी
यो प्रकरणले स्थानीय तहमा वित्तीय अनुशासन कसरी ध्वस्त पारिँदैछ भन्ने कुरालाई उजागर गर्छ । कार्यक्रम तानसेन नगरपालिकामा स्वीकृत हुनुभन्दा पहिल्यै नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रवक्ता कार्की र इन्जिनियर रामप्रसाद श्रेष्ठ सहितको टोलीले एउटा गोप्य छलफल गरी खनालको संस्थालाई कार्यक्रम तपाईंहरूलाई नै दिने भन्दै प्रस्तावना लेख्न लगाएको खुलेको छ ।
सोही आश्वासनका आधारमा सशक्तिकरण विकास नेपालले आफ्ना कर्मचारी सबै वडामा खटाएर, अनुसन्धान गरेर प्रस्तावना तयार पार्यो र तानसेनमा २ करोड १५ लाखको कार्यक्रम पर्यो पनि । तर, २० लाखभन्दा बढीको कार्यक्रम ई–बिडिङ मार्फत मात्र गर्नुपर्ने कानुनी व्यवस्था छ । कार्यक्रम नपर्दै र टेण्डर नै नभई ‘तिमीहरूलाई नै दिन्छौ, प्रस्तावना लेखिदेऊ’ भन्नु आर्थिक कार्यविधि र सुशासनको ठाडो उल्लङ्घन हो ।
‘नगरपालिका आफैँसँग दक्ष जनशक्ति हुन्छन्, नभए सेवा तथा परामर्श बजेट शीर्षकबाट जनशक्ति हायर गरेर प्रस्तावना लेखाइनुपथ्र्यो । तर, यहाँ एउटा गैरसरकारी संस्थालाई आश देखाएर फ्रि मा काम गराइयो र कमिसनको कुरा नमिलेपछि अन्तिम अवस्थामा ई–बिड गराएर कागज मिलाई अर्को संस्था छानियो ।’ खनालको भनाई छ ।
कोही फोन नउठाउने, कोही पन्छिने
यति गम्भीर आरोप लागेका प्रवक्ता यादवसिंह कार्कीले पटकपटक टेलिफोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् । यस विषयमा बुझ्न फरक–फरक समयमा ४ पटक फोन गर्दासमेत उनले फोन उठाएनन् । यस सम्बन्धमा योजना शाखा प्रमुख दुर्गाबहादुर थापा भन्छन्, ‘कमिसन माग्ने काम मैले हिजो पनि गरिनँ, आज पनि गरेको छैन, भोलि पनि गर्दिनँ । भ्रष्टाचार न्यूनीकरणको अभियानमा हिँडेको म जस्तो कर्मचारीको चरित्रहत्या गर्न खोजियो । प्रमाण भेटिए जुनसुकै सजाय भोग्न तयार छु । कमिसन माग्न खोज्ने र दिन खोज्ने कोहि पनि ठिक होईनन् ।’
तर नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जो कोही संस्थालाई प्रस्तावना लेख्न लगाएर आस्वासन दिएको अस्वीकार गरे । उनको जवाफ गैरजिम्मेवारपूर्ण थियो । तर संस्थालाई प्रस्तावना लेख्न लगाइएको कुरा स्वीकारे । ‘खनालजी (एन्जिना) प्रवक्ताले कमिसन मागेको भन्नुहुन्छ, प्रवक्ताले मागेको छैन भन्नुहुन्छ । कसको कुरा पत्याउने, कसको नपत्याउने ?’ नगर प्रमुख श्रेष्ठले भने, ‘प्रस्तावना उहाँको संस्थालाई लेखाएको हो भन्ने अनौपचारिक रूपमा थाहा पाएको छु, प्रक्रिया पु¥याएर प्रस्तावनाको मूल्य दिएको भए आनन्द हुन्थ्यो ।’
कार्यक्रम ढिला सुरु हुनुको कारण कमिसनको खेलो
यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेय भएकै बेला यो कार्यक्रम सम्झौता भएको थियो । तर तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले नगरपालिकाभित्र कमिसनको ठूलो खेल र दाउपेच हुने देखेपछि कार्यक्रमलाई अगाडि नबढाई रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विगतको कुरा आफुलाई थाहा नभएको बताए । उनले स्पेसिफिकेसन (प्राविधिक विवरण) बनाउन समय लागेकाले काममा ढिलाइ भएको स्वीकारे । ई–बिड गरेरै संस्था छानेको उनले दाबी गरे । असार मसान्त नजिकिँदै गर्दा काम सकिनेमा प्रमुख प्रशासकीय अधिकृत गिरीसमेत विश्वस्त छैनन् । ‘सबै कार्यक्रम सक्न धौ–धौ छ । जिम्मा पाएको संस्थाले त सक्नुहोला, केही संरचना निर्माणको काम सकिन्न होला,’ उनले भने ।
कार्यक्रममा के के हुन्छ ?
उद्यमशीलता विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत करीब २८ लाख बजेट रहेको छ । कार्यक्रम फोकल पर्सन थापाका अनुसार यस अन्तर्गत उद्यमशिलता विकास तालिम, मौरीपालन सीप विकास तालिम, घरबास र रैथाने पाक शिक्षा, स्थानीय संस्कृति जगेर्ना तथा स्थानीय भेषभूषा प्रवद्र्धन, हाउस किपिङ्ग सीप विकास तालिम, पर्यटक गाईड तालिम छन् ।
नवप्रवर्तन कार्यक्रम अन्तर्गत बाँकी रकमबाट तानसेन नगरपालिकामार्फत् मौरीघार वितरण, मह मदानी वितरण, होमस्टे पुर्ननिर्माण तथा सौन्दर्यकरण, दुनाटपरी मेसिन सहयोग तथा तालिम संचालन गर्नेछ । त्यसैगरी प्लास्टिक टनेल निर्माण, कागती बेर्ना सहयोग, डिजिटल बोर्ड स्थापना, रानीमहल भेषभूषा खरिद तथा कोठा सजावट र व्यवस्थापन, होमस्टेलाई ल्यापटप प्रिण्टर सहयोग, पाहुना स्वागत घर निर्माण तथा पुनःनिर्माण लगायतका कार्यक्रम नगरपालिका स्वयंले नै गर्ने छ । यो कार्यक्रम तानसेन नगरपालिकाका वडा नं. ५, ११, १२, १३ र १४ वडामा सञ्चालन हुने फोकल पर्सन थापाले बताए ।

