पाल्पामा चारपाङ्ग्रेको ट्रायल सुरुः बुटवल धाउनुपर्ने बाध्यता अन्त्य

पाल्पा र आसपासका नागरिकका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा दिन अन्य जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाल्पाको तानसेन नगरपालिका वडा नं. ७ मा नवनिर्मित ट्रायल सेन्टरको औपचारिक उद्घाटन गर्नुभएको छ ।

अब पाल्पाबाटै वर्ग ‘बी’ (जिप, कार र भ्यान) को प्रयोगात्मक परीक्षा (ट्रायल) सञ्चालन हुने भएपछि स्थानीयबासी हर्षित भएका छन् । यसअघि यहाँ मोटरसाइकल र स्कुटरको मात्र ट्रायल हुँदै आएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै यातायात मन्त्री न्यौपानेले प्रदेश सरकार नागरिकलाई दिइने सेवालाई परिष्कृत र प्रविधिमैत्री बनाउन लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “लाइसेन्स लिनकै लागि घण्टौँ यात्रा गरेर बुटवल वा अन्यत्र जानुपर्ने सास्ती अब पाल्पाली जनताले भोग्नुपर्ने छैन । यातायात कार्यालयका सेवाहरूलाई झन्झटरहित र पारदर्शी बनाउन सरकार प्रतिबद्ध छ ।”

कार्यक्रमका विशिष्ट अतिथि एवं लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले दक्ष चालक उत्पादन हुनु नै सडक दुर्घटना न्यूनीकरणको मुख्य कडी भएको उल्लेख गर्नुभयो । स्वास्थ्यमन्त्री सारुले सुरक्षित यात्रा स्वास्थ्य र जीवन रक्षासँग प्रत्यक्ष जोडिने भएकाले व्यवस्थित परीक्षा प्रणालीमा जोड दिनुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले आफ्नै वडामा चारपाङ्ग्रे सवारीको ट्रायल सेन्टर सञ्चालनमा आउनु गौरवको कुरा भएको बताउनुभयो । वडाध्यक्ष खनालले भन्नुभयो, “यस सेन्टरले पाल्पाबासीलाई त सुविधा दिने नै छ, साथै तानसेन वडा नं. ७ मा आर्थिक र व्यावसायिक गतिविधि बढाउन समेत ठूलो मद्दत पुग्नेछ । सेन्टरको व्यवस्थापन र सुरक्षामा वडा कार्यालयले सधैं सहयोग गर्नेछ ।”

यातायात व्यवस्था कार्यालय पाल्पाका अनुसार प्राविधिक तयारी पूरा भइसकेकाले छिट्टै नयाँ तालिका सार्वजनिक गरी वर्ग ‘बी’ को प्रयोगात्मक परीक्षा नियमित सञ्चालन गरिनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय