माथागढी अन्तरपालिका फुटबल : सुद्दोधन र माथागढी ‘ए’ सेमिफाइनलमा

पाल्पाको माथागढी गाउँपालिकाको आयोजनामा सञ्चालित प्रतिक्षित ’अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता २०८३’ अन्तर्गत तेस्रो दिनका दुई रोमाञ्चक खेलहरू आज सम्पन्न भएका छन् । आज भएका खेलहरूमा जित निकाल्दै रूपन्देहीको सुद्दोधन गाउँपालिका र आयोजक माथागढी गाउँपालिका ‘ए’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् । यो जितसँगै दुवै टोली उपाधि नजिक पुगेका छन् ।

आजको पहिलो खेलमा तानसेन नगरपालिका ‘बी’ र सुद्दोधन गाउँपालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक रणनीति अपनाएका थिए, जसका कारण खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो ।

निर्धारित समयको खेलमा उत्कृष्ट तालमेल देखाउँदै सुद्दोधन गाउँपालिकाले तानसेन ‘बी’ लाई २–१ को गोल अन्तरले पराजित ग¥यो । सुद्दोधनका लागि खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरे भने तानसेनले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका सुद्दोधनका बलराम न्यौपाने खेलको ’म्यान अफ द म्याच’ घोषित भए ।

आजै भएको दोस्रो खेलमा आयोजक माथागढी गाउँपालिका ‘ए’ र तिनाउ गाउँपालिका अर्घाछाप आमनेसामने भएका थिए । घरेलु मैदान र दर्शकको बलियो समर्थन पाएको माथागढी ‘ए’ ले खेलको सुरुदेखि नै तिनाउ गाउँपालिकामाथि पूर्ण दबाब बनाएको थियो ।

रक्षापंक्ति र अग्रपंक्ति दुवैमा उत्कृष्ट सन्तुलन कायम गरेको माथागढी ‘ए’ ले तिनाउलाई कुनै अवसर नदिई ३–० को स्पष्ट गोल अन्तरले पराजित ग¥यो र सेमिफाइनलको यात्रा तय ग¥यो । उत्कृष्ट खेल प्रदर्शन गर्दै टोलीको जित सुनिश्चित गरेका माथागढी ‘ए’ का सुरज चौधरी खेलको ’म्यान अफ द म्याच’ चुनिए ।

प्रतियोगिता तेस्रो दिनमा आइपुग्दा खेलहरू झन् झन् रोमाञ्चक र थप प्रतिस्पर्धात्मक बन्दै गएका छन् । आयोजक कमिटीका अनुसार सेमिफाइनल समीकरण पूरा हुने क्रममा रहेकाले अबका खेलहरू अझै बढी कडा र स्तरीय हुने अपेक्षा गरिएको छ ।

गाउँपालिका स्तरीय खेलकुदको विकास र स्थानीय प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको उपाधि रक्षा गर्न सेमिफाइनलमा पुगेका टोलीहरू रणनीतिसहित मैदान उत्रने तयारीमा छन् । मैदानमा दर्शकहरूको उपस्थिति र उत्साहले पनि प्रतियोगिताको रौनकलाई थप उचाई दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय