माथागढीमा वडा–वडाबाट छाानिँदै लोक स्टार र नृत्य प्रतिभा

माथागढी (पाल्पा) । पाल्पाको माथागढी गाउँपालिकाले आफ्नो रैथाने लोक कला र संस्कृतिको संरक्षण गर्दै ग्रामीण भेगमा लुकेर रहेका नयाँ प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले माथागढी लोक नृत्य तथा लोक स्टार २०८३ प्रतियोगिता सुरु गरेको छ । गाउँपालिकाका सबै वडाहरूमा उत्साहजनक सहभागिताका साथ हाल पहिलो चरणको छनौट प्रक्रिया (अडिसन) धमाधम भइरहेको छ ।

गाउँपालिकाले गाउँ–गाउँमा पुगेर प्रतिभा पहिचान गर्ने नीति लिएपछि स्थानीय कलाप्रेमी र युवाहरूमा ठूलो उत्साह देखिएको छ । सबै ८ वटै वडाका कुना–कन्दरामा रहेका गायक तथा नर्तकहरूलाई समेट्न गाउँपालिका आफैँ गाउँ पुगेको हो ।

कार्यक्रमका संयोजक रुपेश कार्कीका अनुसार पहिलो चरण अन्तर्गत अहिले सबै वडाहरूमा पुगेर क्षमता पहिचान गर्ने र उत्कृष्ट सहभागीहरूलाई पालिका स्तरीय प्रतिस्पर्धाका लागि छनौट गर्ने कार्य भइरहेको छ । “हामीले सोचेभन्दा निकै उत्साहजनक रूपमा प्रतियोगीहरू स्टेजमा उत्रिएका छन्,” संयोजक कार्कीले भन्नुभयो, “माथागढीमा लोक गायन र नृत्यको अथाह सम्भावना रहेको यसले पुष्टि गरेको छ ।”

भौतिक विकाससँगै मानवीय र सांस्कृतिक विकासलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको जनप्रतिनिधिहरूको भनाइ छ । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले मौलिक कला र संस्कृति पालिकाको पहिचान भएकाले यसको संरक्षणमा स्थानीय सरकार लागिपरेको बताउनुभयो । अध्यक्ष चिदीले भन्नुभयोः “हाम्रो लोक संस्कृति हराउँदै जान थालेको अवस्थामा यो कार्यक्रमले पुरानो पुस्ताको कलालाई बचाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने पुलको काम गर्नेछ ।”

त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष बिष्णुमाया लुङ्चेले प्रतियोगिताले विशेष गरी महिला, जनजाति र पछाडि पारिएका समुदायका प्रतिभाहरूलाई अगाडि आउने सुनौलो अवसर दिएको उल्लेख गर्नुभयो । “यो केवल एउटा प्रतियोगिता मात्र होइन, हाम्रो परम्परागत कला र पहिचानलाई प्रवद्र्धन गर्ने महाअभियान हो,” उपाध्यक्ष लुङ्चेको भनाइ थियो ।

कार्यक्रमलाई व्यवस्थित र पारदर्शी रूपमा सम्पन्न गर्न गाउँपालिकाको प्रशासनिक संयन्त्र पनि सक्रियताका साथ लागेको छ । प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले स्थानीय कला र संस्कृतिको जगेर्नाका लागि पालिकाले नीतिगत रूपमै बजेट र कार्यक्रमको व्यवस्था गरेको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार यस कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक पर्यटनको विकासमा समेत मद्दत पुर्याउनेछ ।

वडा नं. ४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले गाउँपालिकाले खेलकुद र पूर्वाधार जस्तै कला क्षेत्रलाई पनि उच्च महत्व दिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सबै वडाबाट युवा कलाकारहरूको सहभागिताले कार्यक्रमलाई निकै भव्य बनाएको छ । वडा स्तरबाटै छानिएर आउने प्रतिभाहरू भोलि राष्ट्रिय स्तरमा चम्किनेछन् भन्ने हाम्रो विश्वास छ ।”

वडा स्तरको छनौट सकिएपछि पालिका स्तरीय मुख्य प्रतिस्पर्धा आयोजना गरिने र विजेताहरूलाई उचित पुरस्कार तथा सञ्चार माध्यमहरूमा अवसरको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय