तानसेन । पाल्पाली ढाका कपडाको उद्गमस्थल र यसको संरक्षण तथा प्रवद्र्धन गर्ने मुख्य जिम्मेवारी रहेको तानसेन नगरपालिका आफैले नक्कली ढाकाको प्रयोग गरेको पाइएको छ । वार्षिक रूपमा लाखौँ रुपैयाँ पाल्पाली ढाकाको प्रवद्र्धनमा खर्च गर्दै आएको दाबी गर्ने नगरपालिकाको आफ्नै मिनीहलमा नक्कली ढाका कपडा प्रयोग गरिएपछि स्थानीय व्यवसायीहरू चिन्तित र आक्रोसित बनेका छन् ।
तानसेन नगरपालिकाको मुख्य प्रशासनिक भवनभित्र रहेको मिनीहलका कुर्सीहरूमा सजाइएका कपडाहरू रैथाने पाल्पाली ढाका नभई अन्य क्षेत्रमा उत्पादित नक्कली सस्तो ढाका भएको पुष्टि भएको छ । स्थानीय सरकार आफैले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै नक्कली कपडा खरिद गरेर प्रयोग गरेपछि तानसेनका ढाका व्यवसायीहरूमा गम्भीर निराशा छाएको छ ।

तानसेन नगरपालिकाले हरेक वर्ष पाल्पाली ढाकाको ब्राण्डिङ, प्रवद्र्धन र उद्यमी उत्पादनका नाममा ठुलो बजेट विनियोजन गर्दै आएको छ । तर, नगरपालिकाको आफ्नै बैठक र कार्यक्रमहरू हुने मिनीहलमा भने बाहिरबाट आयातित मेसिनमेड (नक्कली) ढाकाले स्थान पाएको छ । “नगरपालिकाले नै नक्कली ढाकाको प्रयोग गर्नु हुँदैनथ्यो ।” स्थानीय पदम न्यौपानेले भने ।

स्थानीय व्यवसायीहरूका अनुसार, नगरपालिकाले स्वदेशी र स्थानीय उत्पादनलाई प्राथमिकता दिनुको साटो सस्तो र नक्कली ढाका खरिद गर्दा वर्षौँदेखि दुःख गरेर उद्यम बचाइरहेका व्यवसायीहरूलाई ठुलो धक्का लागेको छ । “जसले पाल्पाली ढाकाको पहिचान जोगाउने कसम खान्छ, उसैको हलमा नक्कली ढाका देख्दा मुटु दुख्छ,” एक स्थानीय ढाका व्यवसायीले गुनासो गरे ।
नगरपालिकाले स्थानीय बजारबाट पाल्पाली ढाका खरिद गरेर यहाँका उद्यमीहरूलाई प्रवद्र्धन गर्नुपर्ने थियो । तर, नियमन गर्ने निकाय नै नक्कली सामानको उपभोक्ता बन्दा बजारमा पाल्पाली ढाकाको साख गिर्ने खतरा बढेको छ । “तत्काल फेरीहाल्नुपर्ने भएर हतारमा राखिएको हो ।” नगरपालिकाका सुचना अधिकारी भरत आचार्यले भने ।
पाल्पाली ढाकाको आफ्नै मौलिक इतिहास र पहिचान छ । यो हातले बुनिने हुनाले यसको लागत केही बढी पर्छ, तर यसको गुणस्तर र गरिमा विशिष्ट हुन्छ । बजारमा पछिल्लो समय मेसिनबाट बुनेका सस्ता र नक्कली ढाकाका कारण रैथाने उद्योगहरू संकटमा परिरहेका बेला स्थानीय सरकारको यस्तो गैरजिम्मेवारपूर्ण कदमले थप संकट निम्त्याएको व्यवसायीहरूको आरोप छ । तानसेनका होटल व्यवसायी लक्ष्मण बस्याल भन्छन् “जसले बचाउनुपर्ने थियो, उसैले नक्कली प्रयोग गरेपछी कसरी स्थानीय व्यवसायीहरु प्रोत्साहित हुन्छन् ? स्थानीय सरकार जिम्मेवार हुनुपर्यो ।”

स्थानीय सरोकारवालाहरूका अनुसार, नियमनकारी निकायले नै नक्कली ढाकाको प्रयोग गरेपछि बजारमा भइरहेको कालोबजारी र नक्कली सामानको बिगबिगीलाई बल पुग्नेछ । तानसेन नगरपालिकाले तत्काल यी नक्कली ढाकाका कपडाहरू हटाएर स्थानीय तानमा बुनिएका वास्तविक पाल्पाली ढाका प्रयोग गर्नुपर्ने माग उठ्न थालेको छ ।
भावी पुस्ता र पाल्पाको पहिचानसँग जोडिएको ढाका उद्योगलाई बचाउन नारामा मात्र सीमित नभई व्यवहारमै स्थानीय उत्पादनको खरिद र प्रयोग गर्न नगरपालिकालाई व्यवसायीहरूले चेतावनी समेत दिएका छन् ।

