बस्तीमै पुगेर बजेट कोर्दै माथागढी

पाल्पा । विगतका वर्षहरूमा स्थानीय तहको नीति, कार्यक्रम र बजेट सिंहदरबारको पुरानै शैलीमा बन्द कोठाभित्रै तयार हुन्थ्यो । टाठाबाठाको खल्तीबाट निस्कने योजनाले नै प्राथमिकता पाउँथे, जसका कारण वास्तविक विपन्न र ग्रामीण नागरिकका समस्या जस्ताको तस्तै रहन्थे । तर, पाल्पाको माथागढी गाउँपालिकाले भने यो परिपाटीलाई बदल्ने प्रयास गरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू यतिबेला योजना सङ्कलन गर्ने पुरानो थिति भत्काउँदै जनताको घरदैलो र बस्ती–बस्तीमा पुगेका छन् । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि गाउँपालिकाले थालेको ‘बस्ती स्तरमै योजना सङ्कलन’ अभियानले स्थानीय नागरिकमा नयाँ उत्साह थपेको छ ।

गाउँपालिकाले सञ्चालन गरेको यस अभियानको मुख्य उद्देश्य स्थानीय जनताको वास्तविक आवश्यकता पहिचान गर्नु र उनीहरूकै चाहनाअनुसारको बजेट निर्माण गर्नु हो । बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिका रैथाने समस्याहरू के–के हुन् र कुन योजनालाई पहिलो प्राथमिकतामा राख्ने भन्ने निर्णय स्वयम् स्थानीयले नै गरिरहेका छन् । बस्तीस्तरको योजना सङ्कलन कार्यक्रममा सहभागी हुँदै गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले भन्नुभयोः “हामीले कोठामा बसेर अनुमानका भरमा योजना बनाउने प्रथाको अन्त्य गर्न खोजेका हौँ । जनताका दुःख के हुन्, उहाँहरूलाई अहिले सबैभन्दा बढी कुन कुराको खाँचो छ भन्ने कुरा बस्तीमै पुगेर मात्रै थाहा हुन्छ । ग्रामीण क्षेत्रका नागरिकको आवश्यकता र भावना समेटेर बनाइएको बजेट मात्रै सफल हुन्छ र यसले मात्रै वास्तविक समृद्धि ल्याउँछ ।” अध्यक्ष चिदीका अनुसार पालिकाले वितरणमुखी र खुद्रे योजनाभन्दा पनि नागरिकको जीवनस्तर उकास्ने उत्पादनमुखी र दिगो विकासका योजनालाई प्राथमिकता दिने रणनीति बनाएको छ ।

बस्तीस्तरमा पुग्दा विगतमा ओझेलमा परेका महिला, बालबालिका, दलित तथा अल्पसंख्यक समुदायका आवाजहरू मुखरित हुन थालेका छन् । योजना सङ्कलन टोलीको नेतृत्व गर्दै गाउँ–गाउँ पुग्नुभएकी गाउँपालिका उपाध्यक्ष बिष्णुमाया लुङचेले स्थानीय महिला र लक्षित वर्गको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । “गाउँका महिला दिदीबहिनीहरू अझै पनि खानेपानीको समस्या, स्वास्थ्य चौकीको पहुँच र आयआर्जनका अवसरबाट टाढा हुनुहुन्छ,“ उपाध्यक्ष लुङचेले भन्नुभयो, “बस्ती स्तरमै पुग्दा उहाँहरूले आफ्ना समस्या खुलेर राख्न पाउनुभएको छ । आगामी बजेटमा हामी महिला सशक्तीकरण, क्षमता विकास र लक्षित वर्गको हितलाई केन्द्रमा राखेर ठोस योजनाहरू समावेश गर्दैछौँ ।”

बस्ती स्तरबाटै योजना छनोट गर्दा योजनाहरू पारदर्शी हुने र कार्यान्वयनमा पनि स्थानीयको अपनत्व रहने जनप्रतिनिधिहरूको विश्वास छ । वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले यो अभियान सुशासनको बलियो कडी भएको दाबी गर्नुभयो । घर्तीमगरले भन्नुभयोः “पहिले पहिले केही सीमित व्यक्तिको पहुँचका आधारमा योजना छानिने गुनासो आउने गथ्र्यो । तर अहिले हामी प्रत्येक टोल र बस्तीमा पुगेर छलफल गरिरहेका छौँ । सामूहिक निर्णयबाट छानिएका योजना मात्रै अगाडि बढ्छन् । यसले पालिकाको काममा पारदर्शिता बढाउँछ र नेतृत्वप्रति जनताको विश्वास अझ प्रगाढ बनाउँछ ।”

त्यस्तै, दलित तथा विपन्न समुदायको प्रतिनिधित्व गर्दै सक्रिय रहनुभएका कार्यपालिका सदस्य पुर्ण सुनारले यो अभियानले पछाडि पारिएका वर्गलाई न्याय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जसको समस्या हो, उसैको सहभागितामा योजना बन्नु नै वास्तविक लोकतन्त्र हो । विकट बस्तीका दलित र सीमान्तकृत नागरिकका गुनासा सुन्ने र तिनलाई बजेटमा समेट्ने यो सुनौलो अवसर हो ।”

माथागढी गाउँपालिकाको भौगोलिक बनावट निकै विकट र छरिएको छ । वडा नं. ८ बहादुरपुरका वडाध्यक्ष दिल बहादुर ढेंगाले आफ्नो वडाको अनुभव सुनाउँदै भन्नुभयोः
“बहादुरपुर भौगोलिक रूपमा निकै चुनौतीपूर्ण भूगोलमा छ । यहाँका धेरै बस्तीहरूमा अझै पनि आधारभूत पूर्वाधारको खाँचो छ । हामीले कृषि, सडक सञ्जाल र खानेपानीलाई प्राथमिकता दिएर जनताकै सुझावअनुसारका योजनाहरूको सूची तयार पर्ने गरेका छौं ।”

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय