माथागढी (पाल्पा) । कुनै समय पाल्पाको माथागढी क्षेत्र ग्रामीण भूगोल, कृषि र श्रमका लागि मात्र चिनिन्थ्यो । तर, पछिल्ला केही वर्षयता माथागढी गाउँपालिकाको पहिचान बदलिँदै गएको छ । अहिले यो गाउँपालिका युवाहरूको जोस, ऊर्जा र खेलकुद क्रान्तिको पर्याय बन्दैछ ।
“खेलकुद स्वास्थ्यका लागि मात्र होइन, यो गाउँको पहिचान र समृद्धिको बलियो खम्बा पनि हो,” माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी भन्नुहुन्छ । अध्यक्ष चिदीको यो भनाइले मात्र पनि माथागढीले खेलकुद क्षेत्रलाई कति प्राथमिकतामा राखेको छ भन्ने प्रष्ट पार्छ ।

पछिल्लो समय माथागढी गाउँपालिकाले खेलकुद क्षेत्रमा चालेका रचनात्मक र रणनीतिक कदमहरूले स्थानीय स्तरमा मात्र नभई समग्र लुम्बिनी प्रदेशमै सकारात्मक तरंग पैदा गरेको छ । कुनै पनि विधामा सफलता पाउन जग बलियो हुनुपर्छ। माथागढीले खेलाडीको त्यही जग बलियो बनाउने कामबाट आफ्नो यात्रा सुरु ग¥यो। गाउँपालिकाले केही समयअघि जिल्ला स्तरीय स्थापित फुटबल कोच (प्रशिक्षक) लाई गाउँमै ल्याएर युवा खेलाडीहरूका लागि विशेष बन्द प्रशिक्षणको आयोजना गरेको थियो । गाउँका कुना–कुनामा लुकेर रहेका प्रतिभाहरूले पहिलो पटक व्यावसायिक फुटबलका प्राविधिक सीप सिक्ने मौका पाए ।

त्यसको अर्को कडीका रूपमा अहिले गाउँपालिकाले विशेष तयारीका साथ पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाले जेठ ७ गतेदेखि वडा नं. ३ स्थित सराई खेलमैदानमा यो वृहत प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको यस प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. १,७५,०००, द्वितीयलाई रु. १,२५,००० र तृतीयलाई रु. ७५,००० नगदसहित शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यो आकर्षक पुरस्कार राशिले पनि प्रतियोगिताको गरिमा र गाउँपालिकाको विशाल सोचलाई झल्काउँछ ।
गाउँपालिकाका उपाध्यक्ष बिष्णुमाया लुङ्चे खेलकुदलाई सामाजिक रूपान्तरणको औजार मान्नुहुन्छ । उहाँ भन्नुहुन्छः “हामीले युवाहरूलाई केवल कुलतबाट जोगाउन मात्र खेलकुदमा लगाएका होइनौँ, महिला र पुरुष दुवै वर्गका युवाहरूलाई खेलकुदको माध्यमबाट समाजको नेतृत्व गर्न सक्ने बनाउने हाम्रो लक्ष्य हो। खेलकुदले एकता र सद्भाव बढाउँछ ।”
माथागढीले आयोजना गर्ने खेलकुद केवल रमाइलोका लागि मात्र हुँदैनन् । यसलाई पूर्ण रूपमा व्यावसायिक र अनुशासित बनाउन गाउँपालिका उत्तिकै सचेत छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ प्रशासनिक र व्यवस्थापकीय पाटोलाई चुस्त राख्नु नै सफलताको रहस्य ठान्नुहुन्छ । श्रेष्ठ भन्नुहुन्छः “हामी योजना बनाउन मात्र होइन, त्यसको पारदर्शी र व्यवस्थित कार्यान्वयनमा विश्वास गर्छौँ। खेलाडीको सुरक्षा, खेल मैदानको मापदण्ड र निष्पक्षताका लागि प्रशासनिक तवरबाट कुनै कसर बाँकी राखिएको छैन ।”

प्रतियोगितालाई थप मर्यादित बनाउन एउटा पालिकाबाट बढीमा २ टिम मात्र सहभागी हुन पाउने र प्रत्येक टिममा १६ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक गरी १८ जनाको टोली हुनुपर्ने नियम बनाइएको छ । टिममा बढीमा ३ जनासम्म पालिका बाहिरका खेलाडी राख्न पाइने खुकुलो व्यवस्थाले खेललाई अझ बढी प्रतिष्पर्धात्मक बनाउने देखिन्छ । यसका साथै, विधागत उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडी (राईजिङ प्लेयर) लाई समेत जनही ५÷५ हजार नगद पुरस्कारको व्यवस्था गरेर खेलाडीहरूमा व्यावसायिकताको बीउ रोप्ने प्रयास गरिएको छ ।
माथागढीको अर्को सुन्दर पक्ष के छ भने, यहाँ खेलकुदलाई शिक्षा भन्दा अलग राखिएको छैन । शिक्षा शाखा प्रमुख प्रकाश पाठकका अनुसार खेलकुद र शिक्षा परिपूरक हुन् । पाठक भन्नुहुन्छः “किताबी ज्ञानले मात्र विद्यार्थीको पूर्ण विकास हुन सक्दैन । युवा र विद्यार्थीहरूको मानसिक तथा शारीरिक विकासका लागि खेलकुद अपरिहार्य छ । त्यसैले गाउँपालिकाले शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर नीतिगत रूपमै अगाडि बढाएको छ ।
गाउँपालिकाको यो सोचले गर्दा विद्यालय उमेरदेखि नै बालबालिकाहरू खेलकुदतर्फ आकर्षित हुन थालेका छन् । अहिले माथागढीका युवाहरूमा बेग्लै उत्साह छ । गाउँमै खेलमैदान तयार हुनु, जिल्लाका उत्कृष्ट प्रशिक्षकबाट तालिम पाउनु र ठूला पुरस्कार राशिका प्रतियोगिताहरू हुनुले उनीहरूको सपनालाई पखेटा हालिदिएको छ ।

युवा तथा खेलकुद विकास समितिका संयोजक तेज बहादुर घर्तीमगर विगत सम्झँदै भन्नुहुन्छः “हाम्रो पालामा प्रतिभा भएर पनि अवसर र मैदान थिएन । तर आज हामी हाम्रा भाइबहिनीहरूलाई त्यो अभाव हुन दिने छैनौँ । यसअघि दिएको प्रशिक्षण र अहिले हुन लागेको प्रतियोगिताले माथागढीबाट चाँडै नै राष्ट्रिय स्तरका खेलाडीहरू जन्माउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।”
मैदान निर्माण, खेलाडीलाई बन्द प्रशिक्षण, आकर्षक पुरस्कार सहितको पालिका स्तरीय प्रतियोगिता र खेलकुदलाई नीतिगत प्राथमिकता जस्ता प्रयासहरूले माथागढी अब खेलकुदको मैदानबाटै आफ्नो समृद्धिको नयाँ इतिहास कोर्न तयार भन्ने देखिएको छ ।

