पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ५ निवासी क्यान्सर पीडित विष्णु कुमारी अर्घालीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि घातक रोग क्यान्सरसँग लडिरहनुभएकी अर्घालीको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या परेपछि उहाँलाई राहत पु¥याउने उद्देश्यले ४४ हजार ६ सय १५ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
विगत लामो समयदेखि चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएकी अर्घालीले पछिल्लो एक महिनादेखि बुटवलमा बसेर समेत उपचार गराउँदै आउनुभएको थियो । हाल उहाँ आफ्नै घरमा आराम गरिरहनुभएको छ । आर्थिक अभावका कारण उपचार प्रक्रिया नै रोकिने अवस्थामा पुगेको जानकारी पाएपछि स्थानीय कालिका युवा क्लब, मुझुङका अध्यक्ष अम्बर बहादुर कार्कीको विशेष पहलमा सो सहयोग रकम संकलन गरिएको हो ।

अध्यक्ष कार्कीले समाजका विभिन्न मनकारी व्यक्तिहरू र दाताहरूबाट सानो–सानो मात्रामा रकम जुटाएर यो आर्थिक संकलन अभियान चलाउनुभएको थियो । संकलित रकम बिरामीकै निवासमा पुगेर परिवारलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा अध्यक्ष कार्कीले क्लबका तर्फबाट अर्घालीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो ।
सहयोग रकम बुझ्दै विष्णु कुमारी अर्घालीकी छोरीले दुःखको यो घडीमा आफ्नो परिवारलाई मलम लगाउने र सहयोग हात बढाउने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कालिका यूवा क्लब, कटौजे पानी वन उपभोक्ता समिति लगाएतका संस्थाले सहयोग गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । विपन्न आर्थिक अवस्थाका कारण उहाँको थप उपचार प्रक्रिया अगाडि बढाउन परिवारलाई निकै धौ–धौ परिरहेको छ । क्यान्सरको उपचार अत्यन्तै खर्चिलो र लामो हुने भएकाले हाल प्राप्त सहयोगले तात्कालिक राहत मिले पनि आगामी दिनका लागि अझै थप आर्थिक स्रोतको आवश्यकता रहेको परिवारले जनाएको छ ।
अर्घालीको जीवन रक्षाका लागि परिवार तथा क्लबले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा मनकारी संघ–संस्थाहरूसँग थप आर्थिक सहयोगको अपिल समेत गरेको छ । सहयोग गर्न इच्छुक महानुभावहरूले सिधै नेपाल बैंक लिमिटेडमा रहेको बिष्णु कुमारी अर्घालीको खाता नम्बर २६०११३०६८०८७२५०००००२ मा रकम जम्मा गर्न सक्नेछन् । यसका साथै सहयोगका लागि थप जानकारी लिन वा सिधै सम्पर्क गर्नका लागि मोबाइल नम्बर ९७६१५८९९०५ मा समेत सम्पर्क गर्न सकिने परिवारका सदस्यहरूले बताएका छन् । उपचारमा आर्थिक संकट झेलिरहेका नागरिकलाई स्थानीय स्तरबाट भएको यो प्रयासले मानवीय संवेदनशीलताको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।

