पाल्पा देशकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला घोषित

पाल्पा जिल्ला देशकै पहिलो ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्ला’ घोषित भएको छ । जिल्लाका सबै गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामै सुरक्षित रूपमा प्रसूति सेवा प्राप्त गरेसँगै पाल्पालाई एक भव्य समारोहका बीच पूर्ण संस्थागत प्रसूति सेवायुक्त तथा पूर्णखोप सुनिश्चितता दिगोपना भएको जिल्ला घोषणा गरिएको हो ।

नेपालको संविधान र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को मर्मअनुरूप घरमा हुने प्रसूतिलाई शून्यमा झार्दै शतप्रतिशत महिलाले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा लिएपछि यो ऐतिहासिक सफलता मिलेको हो । हालै सार्वजनिक भएको तथ्याङ्कअनुसार पाल्पामा कुल २,२६२ जना महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् । त्यस्तै, प्रोटोकलअनुसार ४ पटक गर्भ जाँच गराउनेको सङ्ख्या ९४.५६ प्रतिशत र ३ पटक प्रसूति जाँच गराउनेको सङ्ख्या ९७.५७ प्रतिशत रहेको छ । जिल्लाका १० वटै स्थानीय तहका ८१ वटै वडाहरूमा दिगोपना सुनिश्चित गरेपछि यो घोषणा गरिएको हो ।

जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको सचिवालय पाल्पाद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाली जनता, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभयो । मुख्यमन्त्री आचार्यले भन्नुभयोः “पूर्ण संस्थागत प्रसूति सेवा दिने जिल्लाको रूपमा देशमै पहिलो हुन सफल पाल्पालाई हार्दिक बधाई भन्न चाहन्छु । सुत्केरी हुने महिलाहरूलाई अभिप्रेरित गरी स्वास्थ्य संस्थामा पठाउन चेतना अभिवृद्धि गर्ने स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको भूमिका महत्वपूर्ण रहेको छ । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य संस्थामा जिम्मेवारी निभाएकाले र जनप्रतिनिधिहरूले निरन्तर नेतृत्व गरेकाले यो खुसीको क्षण सम्भव भएको हो । तपाईंहरू सबै धन्यवादका पात्र हुनुहुन्छ, काम गरेर आफूलाई अब्बल साबित गर्नुभएको छ ।“

सोही अवसरमा पाल्पा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री आचार्यले थप्नुभयोः “पाल्पा अस्पताललाई ५० शैयाको अस्पताल बनाउने गरी प्रदेश सरकार अघि बढ्छ । अहिले भएको भवन भत्काएर नयाँ बनाउन कम्तिमा ३/४ वर्ष लाग्छ, यदि राम्रो ठेकेदार पर्यो भने । त्यसैले अब जिल्ला अस्पताल चलाउन नयाँ भवन नबन्दासम्म निःशुल्क रूपमा उपलब्ध हुने कुनै सरकारी संरचनाको जोहो गर्दै गर्नुहोला । हाम्रा हरेक वडामा भएका बर्थिङ सेन्टर व्यवस्थित तरिकाले सञ्चालन गर्न सकिरहेका छैनौं, त्यसलाई मर्ज गरौं र उपकरण सही तरिकाले व्यवस्थापन गरौं । कम स्रोत र साधनका बीच प्रदेश सरकारले काम गर्ने कोसिस गरिरहेको छ ।“

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले जुनसुकै अभियान सफल हुन नेतृत्व गतिशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेतृत्व गतिशील हुनुपर्छ । सबै स्वास्थ्यकर्मीहरूको मेहेनतले पाल्पा जिल्ला पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा हुन सफल भएको हो ।“

यस्तै, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले पाल्पाको स्वास्थ्य क्षेत्रमा आएको सुधारको प्रशंसा गर्नुभयो । मन्त्री सारुले भन्नुभयो, “पाल्पाका सरकारी स्वास्थ्य संस्थाहरूमा नागरिकको विश्वसनीयता बढ्दै गएको छ । सेवामा सबैको पहुँच बढेको छ । यसकै परिणामस्वरुप लुम्बिनी प्रदेशको मातृ मृत्युदर घट्दो क्रममा रहेको छ ।“

समारोहमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी र तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ लगायतका वक्ताहरूले पाल्पाले स्वास्थ्य क्षेत्रमा देशकै नेतृत्व गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै प्राप्त उपलब्धिको दिगोपनाका लागि निरन्तर सहयोग र प्रतिबद्धता आवश्यक रहेको औंल्याउनुभयो ।

दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा मातृ मृत्युदर प्रति १ लाख जीवित जन्ममा ७० मा र नवजात शिशु मृत्युदर प्रति १ हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्यलाई पूरा गर्न पाल्पाको यो घोषणा कोसोढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका सदस्य सचिव टुक प्रसाद पोखरेलका अनुसार गत वैशाख १५ देखि ३१ गतेसम्म जिल्लाका सबै पालिकामा प्रमाणीकरण सम्पन्न गरी यो जिल्लास्तरीय घोषणा सम्भव भएको हो । कार्यक्रम जिल्ला प्रजनन् तथा खोप समन्वय समितिका अध्यक्ष टंक प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय