“पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पताल बनाउँछौं” : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पा अस्पताललाई ५० शैयाको आधुनिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने बताउनुभएको छ । आचार्यले अस्पतालको स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्नुभएको हो ।

अस्पतालको स्तरोन्नति र भौतिक पूर्वाधार निर्माणका विषयमा बोल्दै मुख्यमन्त्री आचार्यले अहिले भइरहेको पुरानो भवन भत्काएर नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न कम्तिमा ३ देखि ४ वर्ष लाग्ने बताउनुभयो । “राम्रो र जिम्मेवार ठेकेदार परेको खण्डमा नयाँ भवन निर्माण सम्पन्न हुन ३–४ वर्ष लाग्छ,“ मुख्यमन्त्री आचार्यले भन्नुभयो, “त्यसैले निर्माण अवधिभर अस्पतालको सेवा प्रवाहलाई रोक्नु हुँदैन ।“

नयाँ भवन निर्माणको चरणमा जाँदा हाल भइरहेको सेवा प्रभावित हुन सक्ने तर्फ सचेत गराउँदै मुख्यमन्त्रीले स्थानीय प्रशासन र सरोकारवालाहरूलाई वैकल्पिक व्यवस्थापनका लागि आग्रह गर्नुभएको छ । उहाँले नयाँ संरचना तयार नहुँदासम्म जिल्ला अस्पतालको सेवा सुचारु राख्न निःशुल्क रूपमा उपलब्ध हुन सक्ने अन्य कुनै सरकारी भवन वा संरचनाको तत्काल खोजी र जोहो गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश सरकारको यो योजनासँगै पाल्पा र आसपासका नागरिकले आगामी दिनमा थप गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय