सरकारी जग्गा हडप्न चलखेल, पाल्पाको प्रभाषमा ५ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

तानसेन, पाल्पा

पाल्पाको तानसेन नगरपालिका वडा नं. १० प्रभाषस्थित बयरघारी क्षेत्रमा रहेको बहुमूल्य सरकारी जग्गा भूमाफियाको चलखेलमा व्यक्तिगत बनाइएको तथ्य बाहिर आएको छ । प्रभाष क्षेत्रको करिब ५ रोपनी १ आना सरकारी जग्गालाई प्रशासनिक पहुँच र नक्कली कागजातको आधारमा चलखेल गरी व्यक्तिगत नाममा लालपुर्जा बनाइएको स्थानीयबासीले दाबी गरेका छन् ।

स्थानीयका अनुसार साविकको पर्ति (सरकारी) जग्गालाई शिवलाल कुँवरको नाममा कित्ता नम्बर १८९ कायम गरी एकाएक लालपुर्जा निकालिएको हो । तत्कालीन नापी शाखा पाल्पाको अभिलेखमा समेत उक्त कित्ता नम्बर १८९ को जग्गा स्पष्ट रूपमा पर्ति अर्थात् सरकारी जग्गा जनाईएको अवस्थामा प्रशासनिक मिलेमतोमा लालपुर्जा जारी गरिएको बुझिएको छ ।

पहुँचका आधारमा अवैध तिरो काटियो

स्थानीय तथा तत्कालिन तेल्घा गाविस अध्यक्ष मोहनलाल गैरेका अनुसार सरकारी जग्गा हत्याउने नियतका साथ लामो समयदेखि नियोजित चलखेल भइरहेको थियो । तानसेन १० का रैथाने पूर्णलाल कुँवरले तानसेन नगरपालिकामा गएर आर्थिक वर्ष २०७४/७५ देखि चालु आर्थिक वर्ष २०८१/८२ सम्मको जग्गाको तिरो (भूमिकर) विना कुनै कानुनी आधार र अघिल्लो प्रमाण बिना नै तिरेको रहस्य खुलेको छ ।

नगरपालिकाको राजस्व प्रणालीमाथि प्रश्न उठाउँदै गैरेले भनेः “एउटा सामान्य नागरिकले तिरो तिर्न जाँदा अघिल्लो वर्ष तिरो तिरेको रसिद नभई नगरपालिकाले तिरो लिँदैन र नयाँ रसिद काट्दैन । तर, यो विवादित जग्गाको हकमा अघिल्लो कुनै प्रमाण नै नभई कुन आधारमा वर्षौँको तिरो एकैपटक बुझिया े? यसमा पक्कै पनि ठूलो जालसाझी र सेटिङ भएको छ । यो जग्गा सरकारी नै हो भन्ने बलिया प्रमाणहरू हामीसँग सुरक्षित छन् । सरकारी सम्पत्ति हडप्न खोज्ने भ्रष्ट र भूमाफियाहरूलाई कुनै हालतमा छोडिने छैन ।”

वडाले सिफारिस नदिएपछि एकाएक ब्युँतियो २०४४ सालको लालपुर्जा

यो संगठित जालसाझीमा तानसेन नगरपालिकाका पूर्व कर्मचारी शिव पराजुलीको मुख्य नेतृत्व रहेको दाबी गरिएको छ । पूर्व कर्मचारी पराजुलीले राजनीतिक र प्रशासनिक दबाब सिर्जना गर्दै सरकारी जग्गालाई व्यक्तिगत बनाउने प्रपञ्च रचेको बुझिएको छ ।

तानसेन वडा नं. १० का वर्तमान वडाध्यक्ष हिमलाल पंगेनीका अनुसार जग्गा दर्ता तथा नामसारीका लागि गिरोह पटक–पटक वडा कार्यालयमा सिफारिस लिन आएको थियो । तर, वडा कार्यालयले उक्त जग्गा सरकारी प्रकृतिको देखिएकाले सिफारिस दिन नमिल्ने स्पष्ट पारेर फर्काइदिएको थियो ।

वडाध्यक्ष पंगेनीले घटनाको फेरिस्त प्रस्तुत गर्दै भनेः “हामीले वडाबाट कानुनविपरीत सिफारिस दिन नमिल्ने अडान लिएपछि उनीहरूले एकाएक वि.सं. २०४४ सालमा बनेको भनिएको एउटा शङ्कास्पद लालपुर्जा लिएर आए । वडालाई बाइपास गरेर सिधै जग्गा हडप्ने खेल भइरहेको छ । पूर्व कर्मचारी शिव पराजुलीको टोलीले त यो काम गरिदिन भन्दै हामी जनप्रतिनिधिहरूलाई समेत धम्कीपूर्ण भाषामा चुनौती दिँदै आएको छ । यो काम नभए जनप्रतिनिधिलाई नै अप्ठेरो पार्ने धम्की आएको छ, तर हामी सरकारी सम्पत्ति मर्न दिँदैनौँ ।”

बाजेपुस्ता देखिको बयरघारी

स्थानीय पाका पुस्ताका जेष्ठ नागरिकहरूका अनुसार प्रभाषको बयरघारी क्षेत्र उनीहरूले होस सम्हालेदेखि नै सार्वजनिक र सरकारी जग्गाकै रूपमा प्रयोग हुँदै आएको हो । स्थानीय वन, वातावरण र सार्वजनिक प्रयोजनका लागि खाली राखिएको सो क्षेत्रलाई भूमाफियाको गिद्दे नजर परेपछि कुरुप बनाउन लागिएको उनीहरूको गुनासो छ ।

५ रोपनी १ आनाको यो विशाल सरकारी भूभागमा अहिले भौतिक संरचना र घरहरू समेत निर्माण गरिसकेको अवस्था छ । सरकारी जग्गामा भइरहेको यो नाङ्गो अतिक्रमण र कागजी किर्तेविरुद्ध स्थानीय आक्रोशित बनेका छन् र तत्काल मालपोत, नापी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी दोषीलाई कारबाही गर्न र सरकारी जग्गा राज्यकै नाममा फिर्ता ल्याउन माग गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय