माथागढी (पाल्पा) ।
वैदेशिक रोजगारीको मोह त्यागेर स्वदेशमै केही गर्न खोज्नेहरूका लागि पाल्पाका दामोदर घर्ती एउटा उदाहरणीय पात्र बनेका छन् । पाल्पाको माथागढी गाउँपालिका २ रुप्सेका घर्तीले व्यावसायिक कृषि खेतीबाटै वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन् । गाउँपालिकाले प्रदान गर्दै आएको उत्पादनमा आधारित अनुदान कार्यक्रमले उनलाई कृषि कर्ममा थप उत्साहित बनाएको छ ।
घर्तीले अहिले माथागढीमा १५ रोपनी क्षेत्रफलमा सिजन अनुसारका विभिन्न व्यावसायिक खेती गरिरहेका छन् । उनको बारीमा अहिले लहरेबाली अन्तर्गत लटरम्म काँक्राहरू फलेका छन्, जसले उनको कृषि फार्मलाई निकै आकर्षक बनाएको छ । व्यवस्थित र व्यावसायिक तरिकाले अघि बढेका उनले मुख्यतः तरकारी खेती र च्याउ खेतीलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन् । आफू मात्र स्वरोजगार नभई उनले स्थानीय नागरिकहरूलाई आवश्यकताका आधारमा रोजगारी समेत दिएका छन् । घर्तीले हाल स्थानीय ५ जना विपन्न नागरिकलाई दैनिक ज्यालादारीमा काम दिएर गाउँमै रोजगारीको सिर्जना गरेका छन् ।


माथागढी गाउँपालिकाले किसानहरूलाई प्रोत्साहन गर्नका लागि तरकारी उत्पादनमा विशेष अनुदानको व्यवस्था गरेको छ । गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीका अनुसार पालिकाले हाल तरकारी उत्पादनमा प्रतिकेजी ५ रुपैयाँका दरले अनुदान उपलब्ध गराउँदै आएको छ । अध्यक्ष चिदीले भन्नुभयो ः “हामीले अनुदान खाने लोभमा कागज मिलाएर कृषि गर्ने किसानलाई भन्दा पनि माटोमा पसिना बगाउने वास्तविक किसानसम्म अनुदान पुगोस् भन्ने उद्देश्य राखेका छौँ । त्यसैले हामीले उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याएका हौँ, जसले गर्दा वास्तविक किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।”
गाउँपालिकाको यो नीतिको भुईँतहमा सकारात्मक प्रभाव देखिएको छ । माथागढी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बोम बहादुर ठाडामगरले उत्पादनमा आधारित अनुदान कार्यक्रमले वास्तविक किसानलाई ठुलो राहत महसुस गराएको दाबी गर्नुभयो । किसानको मनोबल बढेको उल्लेख गर्दै वडाध्यक्ष ठाडामगरले भन्नुभयोः “यो कार्यक्रम निकै पारदर्शी र प्रभावकारी छ । जुन किसानले जति धेरै उत्पादन गर्न सक्यो, उसले त्यति नै धेरै अनुदान प्राप्त गर्ने नियम छ । यसले गर्दा किसानहरूलाई आफ्नो उत्पादन बढाउन र थप मेहेनत गर्न ठुलो प्रोत्साहन मिलेको छ ।”
लामो समयको मेहेनतपछि व्यावसायिक सफलता चाखेका किसान दामोदर घर्तीले अघिल्लो वर्ष पनि गाउँपालिकाबाट उत्पादनका आधारमा अनुदान पाएका थिए । गत वर्ष उनले उत्पादनको परिमाणका आधारमा गाउँपालिकाबाट ३० हजार रुपैयाँ अनुदान रकम बुझेका थिए ।

यस वर्ष आफ्नो उत्पादन अझ बढेकाले अनुदान रकममा पनि वृद्धि हुने उनको अपेक्षा छ । किसान घर्तीले आफ्नो अनुभव सुनाउँदै भन्नुभयोः “गाउँपालिकाले उत्पादन हेरेर पैसा दिन थालेपछि मलाई काम गर्ने ऊर्जा थपिएको छ । अघिल्लो वर्ष ३० हजार पाएको थिएँ, यसपालि मेहेनत र उत्पादन दुवै बढाएको छु । त्यसैले अनुदान पनि थप वृद्धि हुनेमा म आशावादी छु । सरकारले यसरी नै ढाडस दिएमा हामी जस्ता किसानलाई चिन्ता हुँदैन ।”
करिब ८ वर्ष पहिले सामान्य रूपमा कृषि क्षेत्रमा हात हालेका घर्तीले विगत ३ वर्षयता भने वृहत रूपमा व्यावसायिक खेती गरिरहेका छन् । निरन्तरको लगाव, आधुनिक व्यवस्थापन र बजारको सही पहिचानका कारण उनी अहिले जिल्लाकै सफल कृषकका रूपमा चिनिन्छन् ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक भौंतारिने युवा पुस्ताका लागि दामोदर घर्ती प्रेरणाको स्रोत बनेका छन् । नेपालमै बसेर पनि समय दिएर, मेहेनत र लगनशीलताका साथ काम गर्ने हो भने आफ्नै माटोमा सुन फलाउन सकिन्छ र आर्थिक रूपमा सफल हुन सकिन्छ भन्ने कुरालाई उनले व्यवहारिक रूपमै प्रमाणित गरेर देखाइदिएका छन् ।

