झडेवा (पाल्पा) । मनसुनको सुरुआतसँगै हुन सक्ने सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै पाल्पाको माथागढी गाउँपालिकाले विपद व्यवस्थापनका लागि व्यापक पूर्वतयारी सुरु गरेको छ । गाउँ विपद व्यवस्थापन समितिको हालै बसेको बैठकले सम्भावित विपदबाट हुने क्षति न्यूनिकरण गर्न राहत वितरणमा ‘एकद्वार प्रणाली’ लागू गर्ने र आवश्यक उद्धार सामग्री तत्काल खरिद गर्ने महत्वपूर्ण निर्णय गरेको हो ।
गाउँपालिकाले विपदको समयमा तत्काल परिचालन हुनका लागि त्रिपाल, लाइफ ज्याकेट, तारजाली, स्ट्रेचर र जस्तापाता जस्ता अत्यावश्यक सामग्रीहरू खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । यस्तै, हिउँद र सुक्खा मौसममा हुने आगलागी नियन्त्रणका लागि फायर एक्जुकेटर (आगो निभाउने उपकरण), आरा मेसिन र बेल्चा लगायतका औजारहरू समेत जोहो गरिने भएको छ ।
बैठकको अध्यक्षता गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले नागरिकको जिउधनको सुरक्षा पालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयोः “विपद कतिबेला आउँछ भन्ने निश्चित हुँदैन, त्यसैले हामीले साधन र स्रोतसहित तयारी अवस्थामा रहनुपर्छ । राहत वितरणमा हुने दोहोरोपन र अव्यवस्थित प्रक्रियालाई रोक्न हामीले यसपटकदेखि एकद्वार प्रणाली अपनाउने निर्णय गरेका छौँ । यसले वास्तविक पीडितसम्म राहत छिटो र पारदर्शी रूपमा पुग्ने सुनिश्चित गर्नेछ ।“

पालिकाले खरिद गरेका यी विपद न्यूनिकरण र राहतका सामग्रीहरूलाई विकेन्द्रीकृत रूपमा भण्डारण गर्ने योजना बनाएको छ । जसअनुसार उद्धारका सामग्रीहरू नजिकका प्रहरी चौकी, पालिकाको नगर प्रहरी शाखा र सम्बन्धित वडा कार्यालयहरूमा राखिनेछ ताकि घटनास्थलमा तुरुन्तै सहायता पु¥याउन सकियोस् ।
विपदको समयमा खानेपानीको पहुँच अवरुद्ध हुने समस्यालाई सम्बोधन गर्न गाउँपालिकाले विशेष निर्णय गरेको छ । खानेपानी आयोजनाहरूमा आउने क्षति र समस्यालाई विपद व्यवस्थापन कोषबाटै बजेट विनियोजन गरी तत्काल समाधान गरिने भएको छ । गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले विपदको समयमा महिला, बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकोले उनीहरूलाई लक्षित गरी उद्धार संयन्त्र बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयोः “हामीले केवल राहत मात्र होइन, सूचना प्रवाहलाई पनि उत्तिकै महत्व दिएका छौँ । स्थानीय विपद पोर्टल सञ्चालन गरेर नागरिकलाई सचेत गराउने र आपतकालीन अवस्थामा तत्काल सम्पर्क स्थापित गर्ने व्यवस्था मिलाइएको छ ।“
यसैगरी, तल्लो तटीय क्षेत्र र जङ्गल नजिकका बस्तीहरूमा सर्पको जोखिम रहने हुँदा सर्प उद्धारका सामग्रीहरू समेत खरिद गर्ने निर्णय भएको छ । पालिकाले सूचना र समन्वयलाई व्यवस्थित गर्न ‘स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र’ लाई सक्रिय रूपमा सञ्चालनमा ल्याउने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले प्रशासनिक रूपमा विपद व्यवस्थापनको तयारी चुस्त बनाइएको बताउनुभयो । उहाँले भन्नुभयोः “खरिद गरिएका सामग्रीको सदुपयोग र जनशक्ति परिचालनका लागि हामीले नगर प्रहरी र वडास्तरका संयन्त्रलाई ’अलर्ट’ राखेका छौँ । स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रले चौबीसै घण्टा सूचना सङ्कलन र समन्वयको काम गर्नेछ ।“
माथागढीले चालेको यो पूर्वतयारी र ‘एकद्वार राहत प्रणाली’ ले विपदको समयमा हुने भद्रगोल हटाउन र नागरिकलाई सुरक्षित राख्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय विपद पोर्टलको सुरुवातसँगै अब पालिकावासीले विपदका घटनाबारे अनलाइनमार्फत पनि जानकारी दिन र लिन सक्नेछन् ।

