सहरका विद्यालयलाई चुनौतीः गाउँको ’सातपोखरी मावि’ माथागढीकै सर्वोत्कृष्ट

गोठादी (पाल्पा) । महँगो शुल्क, चिल्ला गाडी र सहरका सुविधायुक्त भौतिक पूर्वाधारले मात्रै गुणस्तरीय शिक्षा दिन्छन् भन्ने आम मान्यतालाई पाल्पाको एक ग्रामीण विद्यालयले व्यवहारमै गलत सावित गरिदिएको छ । माथागढी गाउँपालिका वडा नं. ६ गोठादी, पँधेराटारीस्थित सातपोखरी माध्यमिक विद्यालयले यस वर्षको एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएर गाउँपालिकाभरिमै सर्वोत्कृष्ट नतिजा हासिल गरेको हो ।

भौगोलिक विकटता र सीमित स्रोतसाधनका बीच सञ्चालित यस विद्यालयबाट एसईई परीक्षामा सहभागी ११ जना विद्यार्थीमध्ये १० जना उत्तीर्ण हुन सफल भएका छन् । दुर्गम क्षेत्रमा रहेर पनि उत्कृष्ट नतिजा ल्याएको यस विद्यालयले सदरमुकाम तानसेन र बजार क्षेत्रका सुविधायुक्त विद्यालयहरूलाई समेत कडा चुनौती दिएको छ ।

विद्यालयको यो ऐतिहासिक सफलतालाई उत्सवको रूपमा मनाउँदै आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले सातपोखरी माविको सफलताले पालिकाकै शिर उँचो पारेको बताउनुभयो । उहाँले यो गौरवयोग्य नतिजा संयोग वा झुक्किएर नआएको उल्लेख गर्दै विद्यार्थी, अभिभावक र शिक्षकहरूको त्रिकोणात्मक मेहेनतको उचित प्रतिफल भएको बताउनुभयो । बजार र सदरमुकाम केन्द्रित विद्यालय मात्र सफल हुन्छन् भन्ने कथित भाष्यलाई सातपोखरी माविले तोडिदिएको भन्दै अध्यक्ष चिदीले यस विद्यालयको लगनशीलता अन्य विद्यालयका लागि समेत प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गर्नुभयो ।

३.५६ जीपिए ल्याएर विद्यालय प्रथम भएकी मन्जिता कोईरालाले विद्यालयका शिक्षक, अभिभावक र जनप्रतिनिधिहरुको हौसला, उत्साह र प्रेरणाले विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । उहाँले बजार क्षेत्रमा प्राप्त सेवा सुविधा सम्पन्न विद्यालयहरुको अगाडी ग्रामिण क्षेत्रमा सञ्चालित सातपोखरी माविको सफलता फलामको च्यूरा चपाउनु सरह भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद काफ्लेले विद्यालयमा अपनाइएको कडा शैक्षिक अनुशासन र शिक्षकहरूको कार्यप्रतिको इमानदारिताले गर्दा नै सोचेजस्तो सफलता प्राप्त भएको बताउनुभयो । यस्तै विद्यालयकी शिक्षक भगवती पुनले ग्रामीण भेगका विद्यार्थीहरूको यो सफलताले विद्यालयको गरिमा बढाएकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नं. ६ का वडाध्यक्ष युव बहादुर ठाडा मगरले माथागढी गाउँपालिकाको समग्र शैक्षिक नतिजा पछिल्ला वर्षहरूमा क्रमिक रूपमा सुधार हुँदै गएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको नतिजा वि.सं. २०८० मा २३ प्रतिशत, २०८१ मा ४६ प्रतिशत र २०८२ मा ४८ प्रतिशतभन्दा बढी पुगेको छ । समग्र पालिकाको नतिजा सुधारोन्मुख रहेकै अवस्थामा सातपोखरी माविले ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराएर आफूलाई अब्बल विद्यालयको रूपमा उभ्याएको छ ।

अप्ठ्यारो भूगोल र न्यून सुविधामा रहेका विद्यार्थीहरूको मेहेनतले माथागढीको इज्जत जोगाएको भन्दै कार्यक्रमका सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तरलाई अझै उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका थिए । सहरका निजी र सुविधासम्पन्न विद्यालयको चमकधमकमा भुलिरहेका अभिभावकहरूका लागि सातपोखरी माविको यो नतिजाले गुणस्तरीय शिक्षाको लागि भूगोल र भवन मात्र नभई शिक्षकको अनुशासन र विद्यार्थीको लगाव मुख्य हुने सन्देश दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय