माथागढीको कसेनीमा कृषिको महाकुम्भः माटोदेखि गोबर परीक्षणसम्म

कसेनी (पाल्पा) । मदनपोखरा बहुप्राविधिक शिक्षालयको नियमित कार्यक्रम अन्तर्गत पाल्पाको माथागढी गाउँपालिकामा सञ्चालित समुदायमा आधारित पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविर सम्पन्न भएको छ । माथागढी गाउँपालिकाको समन्वय र शिक्षालयको आयोजनामा कसेनी वडा कार्यालयको सभाहलमा आयोजित उक्त शिविरबाट २३० भन्दा बढी सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा प्राविधिक सेवा तथा परामर्श प्राप्त गरेका छन् ।

शिविरमा पशु स्वास्थ्य र कृषि क्षेत्रका विज्ञहरूको सक्रिय सहभागिता रहेको थियो । पशु चिकित्सकद्वय रजिना दाहाल र सुदीप न्यौपाने, पशु स्वास्थ्य प्राविधिक सहायक दानबहादुर रमतेल, कृषि प्राविधिक प्रशिक्षक विशाल अधिकारी र स्वीकृति पन्थीसहित बाली विज्ञान तथा पशु विज्ञानतर्फ अध्ययनरत प्रशिक्षार्थीहरूले कृषकहरूलाई सेवा प्रदान गरेका थिए । शिविरमा स्थानीय कृषक तथा पशुपालकहरूलाई आधुनिक कृषि प्रणाली, पशुपालनका नयाँ प्रविधि, रोग नियन्त्रणका उपाय, उचित पोषण व्यवस्थापन तथा उत्पादन वृद्धि गर्ने वैज्ञानिक तरिकाहरूका बारेमा विस्तृत परामर्श दिइएको थियो ।

विशेष गरी माथागढी गाउँपालिकाभित्र कृषि र पशुपालनलाई मुख्य व्यवसाय बनाएका कृषकहरू यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भएका छन् । शिविरको क्रममा प्रयोगशाला सेवालाई प्राथमिकता दिँदै ११५ भन्दा बढी पशुको गोबर परीक्षण र २४ भन्दा बढी स्थानको माटो परीक्षण गरिएको थियो । त्यसैगरी, दूध परीक्षण, निःशुल्क औषधि वितरण तथा २०६ जना कृषकलाई प्रत्यक्ष परामर्श सेवा उपलब्ध गराइएको थियो । सार्वजनिक स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राख्दै शिविरमा १० वटा कुकुरहरूलाई रेबिज विरुद्धको खोप समेत लगाइएको आयोजकले जनाएको छ ।

कार्यक्रममा माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेजबहादुर घर्ती मगरले शिविरको उद्देश्य र महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले ग्रामीण भेगका कृषकहरूको मनोबल उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, मदनपोखरा बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पाण्डेले शिक्षालयले प्रदान गर्दै आएका विभिन्न प्राविधिक शिक्षाका कार्यक्रमहरू, सीपमूलक तालिम र आगामी योजनाहरूको बारेमा जानकारी दिनुभएको थियो । उहाँले शिक्षालयले केवल सैद्धान्तिक ज्ञान मात्र नभई समुदायको आवश्यकता अनुसार व्यावहारिक सेवालाई पनि सँगसँगै लैजाने लक्ष्य राखेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले शिविरको स्थलगत अनुगमन गर्दै स्थानीय स्तरमै विशेषज्ञ सेवा पुग्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । गाउँमै विशेषज्ञ चिकित्सक र प्राविधिक टोलीबाट निःशुल्क औषधि र परामर्श पाएपछि स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन् । समुदायस्तरमै पुगेर सञ्चालन गरिएको यस प्रकारको शिविरले कृषकका तात्कालिक समस्या समाधान गर्नुका साथै प्राविधिक शिक्षालाई प्रत्यक्ष रूपमा व्यावहारिक अभ्याससँग जोड्न महत्वपूर्ण भूमिका खेलेको शिक्षालयको ठहर छ । यस अभियानले पशु स्वास्थ्य संरक्षण र बाली उत्पादनमा सुधार ल्याई कृषकहरूको आर्थिकस्तर उकास्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय