पाल्पा : पाल्पाको माथागढी गाउँपालिका–३ स्थित दिव्य ज्योति माध्यमिक विद्यालयका छात्राहरूका लागि सञ्चालन गरिएको ४५ दिने विशेष आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सम्पन्न भएको छ । पछिल्लो समय समाजमा किशोरी तथा छात्राहरूमाथि बढ्दै गएका हिंसाजन्य घटनालाई न्यूनीकरण गर्ने र उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा सबल बनाउने उद्देश्यले यो तालिम आयोजना गरिएको हो ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले किशोरीहरूलाई आत्मनिर्भर र सुरक्षित बनाउन आत्मरक्षाको सीप अपरिहार्य रहेको बताउनुभयो । अध्यक्ष चिदीले भन्नुभयो, “अहिलेको समयमा किशोरीहरूमाथि विभिन्न बहानामा शारीरिक, मानसिक तथा यौनजन्य हिंसाका घटनाहरू हुने गरेका छन् । यस्ता तालिमले छात्राहरूलाई ती हिंसाबाट जोगिन मात्र होइन, आपत्कालीन अवस्थामा साहसका साथ प्रतिकार गर्न पनि सक्षम बनाउँछ ।“ उहाँले यस प्रकारका सीपले विद्यार्थीमा उच्च आत्मविश्वास र सुरक्षाको अनुभूति गराउने विश्वास व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा बोल्दै सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले किशोरीहरूको क्षमता विकास र सुरक्षाका लागि प्रदेश सरकारले विशेष योजनाका साथ कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । उहाँका अनुसार समाजमा विद्यमान लैङ्गिक विभेद र हिंसाको जालो चिर्न किशोरीहरू स्वयं नै सचेत र सीपयुक्त हुनुपर्ने आवश्यकता महसुस गरेर यो अभियान सञ्चालन गरिएको हो । “आत्मरक्षा तालिम केवल शारीरिक कसरत मात्र होइन, यो छात्राहरूलाई आत्मनिर्भर र सचेत बनाउने एउटा सशक्त माध्यम हो,“ घिमिरेले थप्नुभयो ।
त्यसैगरी, माथागढी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तेज घर्तीमगरले स्थानीय सरकारले किशोरीहरूको सशक्तीकरण र सुरक्षाका मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्नुभयो । उहाँले वडा स्तरबाट यस्ता चेतनामूलक र सीपमूलक कार्यक्रमलाई आगामी वर्षहरूमा पनि बजेट विनियोजन गरी निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
तालिमका संयोजक ऋषिराम पाण्डेयले ४५ दिनसम्म चलेको सघन प्रशिक्षणमा छात्राहरूले निकै उत्साहजनक सहभागिता जनाएको बताउनुभयो । तालिम अवधिभर छात्राहरूलाई अपरिचित व्यक्तिबाट हुने आक्रमणबाट बच्ने तरिका, घरेलु हिंसाका विरुद्ध आवाज उठाउने कला र मानसिक रूपमा स्थिर रहने विधिहरू सिकाइएको थियो ।

“तालिमका सहभागीहरूले अब आफूलाई कमजोर महसुस गर्न छोडेका छन् । ४५ दिनको यो अभ्यासले उनीहरूमा व्यावहारिक सीपको विकास भएको छ,“ पाण्डेयले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले विद्यालयले केवल किताबी ज्ञान मात्र नभई जीवनोपयोगी सीपलाई पनि जोड दिएको बताउनुभयो । छात्राहरूमा देखिएको आत्मबलले विद्यालय परिवारलाई हर्षित बनाएको र यसले समग्र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पार्ने उहाँको तर्क थियो ।
तालिममा सहभागी विद्यार्थी निष्मा रानाले आफ्नो अनुभव साझा गर्दै तालिमले आफूहरूभित्र रहेको डर हटाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले बाटोमा एक्लै हिँड्दा वा कसैले जिस्क्याउँदा डर लाग्थ्यो । तर यो ४५ दिनको तालिमले हामीलाई कसरी आफ्नो सुरक्षा आफैँ गर्ने भन्ने सिकाएको छ । अब हामीमाथि हुने कुनै पनि प्रकारको हिंसा रोक्न हामी आफैँ सक्षम भएका छौँ ।“

तालिम समापनको अवसरमा सहभागी छात्राहरूले आफूले सिकेका आत्मरक्षाका विभिन्न कला र कौशलहरू (डेमोन्स्ट्रेसन) प्रदर्शन गरेका थिए । सो अवसरमा विद्यालयका शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमले पाल्पामा किशोरी सुरक्षाका लागि एक नयाँ सन्देश प्रवाह गरेको छ ।


