स्वास्थ्य सूचकमा माथागढी अब्बल: सबै सुत्केरी अस्पतालमा, सबै बालबालिकालाई खोप

पाल्पा, २६ वैशाख । पाल्पाको माथागढी गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका तथा पूर्ण खोप दीगोपना सुनिश्चितता घोषणा गरिएको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले पालिकालाई यी दुई महत्वपूर्ण स्वास्थ्य सूचक पूरा गरेको घोषणा गर्नुभयो ।

घोषणासँगै माथागढीका सबै सुत्केरीले स्वास्थ्य संस्थामै सेवा लिएको र सबै बालबालिकाले पूर्ण मात्रामा खोप पाएको सुनिश्चित भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री सारूले पछिल्लो दशकमा स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब पहुँच मात्र पुगेर पुग्दैन, गुणस्तरीय सेवा प्रदान गर्नु आजको आवश्यकता हो ।“ मन्त्री सारूले स्वास्थ्यका सूचकहरूमा सुधार आएसँगै मानव स्वास्थ्य अवस्था सकारात्मक बन्दै गएको चर्चा गर्दै नसर्ने रोगको बढ्दो चुनौतीलाई सामना गर्न नागरिक सचेतना अभियान चलाइने जानकारी समेत दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख केशव जिसीका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म पालिकाका ८ वटै वडाका १३३ जना महिलाले स्वास्थ्य संस्थामै पुगेर प्रसुती सेवा लिएका छन् । पालिकाको कुनै पनि वडामा घरमा बच्चा नजन्मिएको (शून्य होम डेलिभरी) तथ्याङ्कले पालिकालाई यो सफलता दिलाएको हो ।

यस्तै, खोप तर्फ फागुन मसान्तसम्म जन्मदेखि ५९ महिनाभित्रका १ हजार १२० जना बालबालिकाले उमेर अनुसारका सबै खोप प्राप्त गरेका छन् । वडा तहमा पूर्ण खोपयुक्त घोषणा सम्पन्न भएपछि मात्र पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्वास्थ्यमा गरिएको लगानीको प्रतिफल भविष्यमा अझ स्पष्ट देखिने बताउनुभयो । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले यो उपलब्धिलाई कायम राख्नु चुनौतीपूर्ण रहेको भन्दै यसको निरन्तरतामा जोड दिनुभयो ।

पालिका अध्यक्ष यमबहादुर चिदीले नागरिकको स्वास्थ्य सुधारका लागि लगानी बढाइएको र आगामी दिनमा आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठ र प्रवक्ता शंकर दर्लामीले विगतको तुलनामा स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएको र यसमा सबैको सहकार्य रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विष्णुमाया लुङ्चेले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने कर्मचारी र सरोकारवालाहरूलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय