पाल्पा, तानसेन ।
पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै आर्थिक समृद्धि सम्भव रहेको बताएका छन् । नेपाल टेलिभिजनको ’समृद्धि सम्भव छ’ भिडियो कार्यक्रमका लागि तानसेनमा आयोजित अन्तरसंवादमा सहभागीहरूले कृषिलाई उद्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।
अन्तरसंवादमा बोल्दै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनलाई कृषि क्षेत्रबाटै परिवर्तन गर्ने संकल्पका साथ विभिन्न संघसंस्था र सहकारीसँग सहकार्य भइरहेको बताए । “तानसेन अहिले मासु, दूध र तरकारीमा आत्मनिर्भर मात्र छैन, हामी निर्यात समेत गरिरहेका छौं,“ प्रमुख श्रेष्ठले भने, “हामीले तरकारी र फलफूल संकलन तथा भण्डारणका लागि पूर्वाधारमा विशेष लगानी गरेका छौं ।“

त्यस्तै, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले रिब्दीकोटलाई ’अकबरे खुर्सानीको हब’ को रूपमा स्थापित गरिएको जानकारी दिए । उनले गाउँपालिकाले प्राङ्गारिक मल कारखाना स्थापना गरेको र दैनिक ८ घण्टा काम गर्ने किसानले मासिक कम्तीमा २५ हजार रुपैयाँ कमाउने वातावरण बनाउन टनेल, मल र बीउमा अनुदान दिइरहेको बताए ।
स्याङ्जाको वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले कृषिमा दिइएको अनुदानले उत्साहजनक नतिजा ल्याएको दाबी गरिन् । “पहिले दूध र मासु आयात गर्नुपर्ने वालिङ अहिले आत्मनिर्भर बनेर निर्यातमा लागेको छ,“ उनले भनिन्, “हामीले दूधमा प्रतिलिटर १० रुपैयाँ र तरकारीमा प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने व्यवस्था गरेका छौं । अब वालिङलाई बँगुर र माछाको स्रोत केन्द्र बनाउने हाम्रो अभियान छ ।“
छलफलमा सफल कृषकहरूले आफ्ना भोगाइ र प्रगति सुनाएका थिए । कृषक सीता कुँवरले आफूले शिक्षण पेसा छोडेर पूर्णकालीन रूपमा कृषिमा लागेको र वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको बताइन् । हेफर इन्टरनेशनलबाट उपहार पाएको एउटा बाख्राबाट सुरु भएको उनको यात्रा अहिले २ वटा भैंसी, ३ वटा गाई र २०० रोपनी भाडाको जग्गामा फलफूल खेतीसम्म पुगेको छ । उनले अन्य दुई जनालाई नियमित रोजगारी समेत दिएकी छन् ।

त्यस्तै, तानसेन–९ का रमेश भण्डारीले वार्षिक ४० टन तरकारी उत्पादन गरी १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको सुनाए । उनले भने, “विदेश जानु पर्दैन, घरपरिवारसँगै बसेर काम गर्दा सन्तोष मिलेको छ ।“
कृषिमा सफलताका कथाहरू भए पनि चुनौतीहरू अझै उत्तिकै रहेको सरोकारवालाहरूले औंल्याएका छन् । हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मीले राज्यको लगानी अझै अपर्याप्त रहेको बताए । “राज्यले गर्ने लगानीको ठूलो हिस्सा रासायनिक मलको अनुदानमै सकिन्छ,“ डा. रेग्मीले भने, “बैंक तथा वित्तीय संस्थाहरूले किसानलाई सहज रूपमा ऋण दिने वातावरण छैन, जसले गर्दा कृषि जोखिमपूर्ण पेसा बनेको छ ।“ उनले पहिले स्थानीय तहले २ प्रतिशत मात्र बजेट छुट्याउने गरेकोमा अहिले ११ प्रतिशत पुग्नु सकारात्मक भएको टिप्पणी गरे ।

किसानहरूले वन्यजन्तुले बालीनाली नष्ट गर्ने समस्या प्रमुख रहेको गुनासो गरे । मीना अधिकारी न्यौपाने र कुस्माखर पाण्डेयले जङ्गली जनावरका कारण अर्गानिक खेती जोगाउन गाह्रो भएको र कृषिमा पनि पशुमा जस्तै बिमा कार्यक्रम लागू हुनुपर्ने माग गरे । रिब्दीकोट अध्यक्ष कार्कीले पनि वन्यजन्तुको समस्या समाधानमा स्थानीय सरकार ’निरीह’ जस्तै बनेको स्वीकार गरे ।
कार्यक्रममा प्रविधिको प्रयोग र बजार मूल्यको विषयमा पनि चर्चा भयो । जियो कृषि एपमा काठमाडौंको कालिमाटी बजारको मात्र मूल्य अपडेट हुने र स्थानीय स्तरको मूल्य अपडेट नहुँदा किसानहरू मारमा परेको गुनासो किसानहरूले राखेका थिए ।

पत्रकार संगम महतले सहजीकरण गरेको उक्त कार्यक्रममा तानसेन, रिब्दीकोट र वालिङका जनप्रतिनिधि, कृषि विज्ञ र ठूलो संख्यामा कृषकहरूको सहभागिता रहेको थियो ।

