पाल्पा, बैशाख १८ ।
माथागढी गाउँपालिकाले १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ५११ जना श्रमिक तथा मजदुरहरूको दुर्घटना बीमा गरेको छ । श्रम क्षेत्रमा संलग्न व्यक्तिहरूको जीवनरक्षा र जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले आफ्ना नागरिकहरूलाई यो राहत कार्यक्रम प्रदान गरेको हो । पालिकाले यस वर्ष १८ देखि ६५ वर्ष उमेर समूहका ५११ जना श्रमिकहरूको कुल २० करोड ४४ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार श्रम क्षेत्रमा काम गर्ने मानिसहरूले भोग्ने जोखिमलाई न्यूनीकरण गर्न र श्रमिक दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी अर्थपूर्ण रूपमा मनाउन यो कदम चालिएको हो । “कुनै दुर्घटना बाजा बजाएर आउँदैन, सावधानी अपनाउँदा पनि आकस्मिक रूपमा दुर्घटना हुनसक्छ,” अध्यक्ष चिदीले भने, “यस्तो अवस्थामा पालिकाले गरेको दुर्घटना बीमाबापत प्राप्त हुने रकमले उपचारमा मद्दत पुग्नेछ र पीडित तथा आश्रित परिवारलाई ठूलो राहत मिल्नेछ।” पाल्पा जिल्लाका अन्य पालिकाहरूको तुलनामा माथागढीले जोखिम न्यूनीकरणको क्षेत्रमा उदाहरणीय कार्य गरेको उनको जिकिर छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठका अनुसार बीमा गरिएका ५११ जना श्रमिकहरूको प्रतिव्यक्ति अधिकतम ४ लाख ५० हजार रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा रहेको छ । यदि काम गर्ने क्रममा कुनै श्रमिकको मृत्यु भएमा पीडित परिवारले ४ लाख ५० हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी, दुर्घटनामा परी घाइते वा अङ्गभङ्ग भएमा सोहीअनुसारको व्यवस्था गरिएको छ भने साधारण उपचारका लागि १ लाख रुपैयाँसम्मको खर्च पाउने गरी पाल्पास्थित बीमा कम्पनीसँग सम्झौता भएको छ। यसका लागि सम्बन्धित वडा कार्यालयमार्फत प्रक्रिया पूरा गरी पालिकामा सिफारिस भएपछि मात्रै दाबी रकम प्राप्त हुनेछ।

गाउँपालिकाले यस बीमा कार्यक्रममा गाउँपालिकाभित्र दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, कृषि मजदुर, ज्यामी, सडक सरसफाइमा खटिने कामदार र साना तथा घरेलु उद्योगमा काम गर्ने श्रमिकहरूलाई समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, “श्रमिकहरू कुनै पनि जोखिममा नपरून् र दुर्घटना भइहालेमा पनि थप आर्थिक क्षति नहोस् भनेर हामीले यो सुरक्षाको छाता तयार पारेका हौं। पालिकाले हरेक वर्ष श्रमिकहरूको सम्मान र जीवन सुरक्षाका लागि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।” पछिल्लो तीन वर्षयता माथागढी गाउँपालिकाले निरन्तर रूपमा श्रमिकहरूको दुर्घटना बीमा गर्दै आएको छ।
शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित श्रमिक दिवस तथा सम्मान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया लुङ्चेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन रोजगार शाखाका प्रमुख संजय रानाले गर्नुभएको थियो।
गाउँपालिकाले दुर्घटना बीमा गरेकोमा स्थानीय श्रमिकहरूले पनि खुसी व्यक्त गरेका छन्। माथागढी गाउँपालिका–४, झडेवाका ६२ वर्षीय श्रमिक विष्णुबहादुर सिंजालीले आफूहरूजस्ता ज्यालादारी गरेर खाने मानिसहरूको लागि यो बीमा निकै ठूलो राहत बनेको बताए। उनले भने, “काम गर्ने बेलामा जुनसुकै बेला दुर्घटना हुन सक्छ। यस्तो जोखिमपूर्ण काममा हिँड्दा पालिकाले हाम्रो जीवन र स्वास्थ्यको ख्याल राखेर बीमा गरिदिएको छ, यसले हामीलाई काम गर्ने हौसला मिलेको छ।”

नेपालको सन्दर्भमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको सामाजिक सुरक्षा र स्वास्थ्य उपचारको पहुँच निकै सीमित छ। यस्तो अवस्थामा स्थानीय तहबाटै सुरु गरिएको यस प्रकारको पहलले श्रमिकहरूको जीवनस्तर सुधार र उनीहरूको परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। माथागढी गाउँपालिकाको यस कदमले अन्य पालिकाहरूलाई पनि श्रमिकहरूको हकहित र सुरक्षाका लागि ठोस योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

