पाल्पा जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको समन्वयतात्मक बैठकले सरकारले हालै कार्यान्वयनमा ल्याएको शैक्षिक संस्थामा आइतबार बिदा दिने निर्णय र बढ्दो मूल्यवृद्धिप्रति गम्भीर चासो व्यक्त गरेको छ । बगनासकाली गाउँपालिकाकी अध्यक्ष श्री सरस्वती चिदीको अध्यक्षतामा बसेको बैठकले जिल्लाको शैक्षिक र पूर्वाधार विकासका सन्दर्भमा विभिन्न निर्णयहरू गरेको हो ।
बैठकको मुख्य एजेण्डाका रूपमा रहेको शैक्षिक संस्थामा आइतबार बिदा दिने सरकारी निर्णयमाथि सरोकारवालाहरूले पुर्नविचार गर्नुपर्ने राय व्यक्त गरेका छन् । बैठकले शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पर्ने ठहर गरेको हुँदा सरोकारवालासँग छलफल गर्न जिल्ला समन्वय समितिलाई सहजिकरणका लागि अनुरोध गरेको छ ।
जिल्लाभरका शैक्षिक संस्थाहरूमा बिदाको सम्बन्धमा एकरूपता ल्याउन र स्थानीय आवश्यकतालाई मध्यनजर गर्न तत्कालै स्थानीय तहका प्रमुखहरू, शिक्षक महासंघ, शिक्षक संघ संगठन, अभिभावक संघ, वि.व्य.स. र प्याव्सन लगायतका प्रतिनिधिहरूसँग समन्वय र सहजीकरण गरिदिन जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस्तै पछिल्लो समय इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण सामग्रीको समेत मूल्य आकाशिएकोमा बैठकले चिन्ता व्यक्त गरेको छ । इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर स्थानीय तहका विकास निर्माणका योजनाहरूमा परेको भन्दै बैठकले मूल्यमा पुनरावलोकन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
साथै, बजार भाउ र लागत बढेकाले हालको जिल्ला दररेटमा पुनरावलोकन गर्न आवश्यक समन्वयका लागि जिल्ला समन्वय समितिलाई आग्रह गरिएको छ । मूल्य समायोजन नभएमा संचालनमा रहेका आयोजनाहरू समयमै सम्पन्न हुन नसक्ने सहभागीहरूले बताएका छन् ।
बगनासकाली गाउँपालिकाको प्रशासनीक भवनमा सम्पन्न उक्त बैठकमा पाल्पाका सबै स्थानीय तहका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । बैठकमा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक र रामपुर नगरपालिकाका वडाध्यक्ष दिल बहादुर रानालगायतको उपस्थिति रहेको थियो।
समन्वयात्मक बैठकले स्थानीय तहका साझा समस्याहरूमा ऐक्यवद्धता जनाउँदै केन्द्र सरकारका कतिपय निर्णयहरूलाई स्थानीय परिवेश अनुसार परिमार्जन गर्न अनुरोध गरेको छ ।
AI Generated Photo

