नबराज पन्थी
पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवा प्रवाह गर्ने थलोमा मात्र सीमित छैन । सरकारी कामकाजका लागि आउने सेवाग्राहीको भिडभाडका बीच यो कार्यालय एउटा जीवन्त ’तालिम केन्द्र’ का रूपमा समेत स्थापित हुँदै गएको छ । गाउँपालिकाले आयोजना गर्ने अधिकांश सीपमूलक र क्षमता विकासका तालिमहरूका लागि प्रायः यसै वडालाई प्राथमिकतामा राखेर छनोट गर्ने गरिएपछि वडा कार्यालयको पहिचान फेरिएको हो ।
कसेनी वडा कार्यालय तालिमको केन्द्र बन्नुमा यसको रणनीतिक अवस्थिति र पूर्वाधार मुख्य कारण मानिन्छन् । भौगोलिक सुगमता, यातायातको सहज पहुँच र माथागढीकै प्रमुख व्यापारिक केन्द्र सराई बजारको नजिकै हुनुले पनि यस वडालाई विभिन्न कार्यक्रमहरूको मुख्य थलो बनाउन मद्दत पु¥याएको छ । वडा कार्यालयमा हरेक महिना कुनै न कुनै प्राविधिक, सीपमूलक वा क्षमता विकासका तालिमहरू निरन्तर सञ्चालन भइरहेका देखिन्छन् ।
नयाँ वर्ष २०८३ को सुरुवातसँगै यहाँ तालिमको चहलपहल थप बढेको छ । ३ दिने नेतृत्व विकास, उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम बिहीबार एक समारोहका बीच सम्पन्न भएको छ । यसका साथै विशेष गरी वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी आयोजना गरिएको युवाहरूको आकर्षणमा रहेको १० दिने ’बारिस्ता’ (कफी बनाउने) तालिम र ६५ दिन लामो ’जुनियर ब्युटिसियन (तह–१)’ तालिम पनि समापनको अन्तिम चरणमा पुगेका छन् । यी तालिमहरूले स्थानीय युवा र महिलाहरूमा नयाँ उत्साह र आत्मविश्वास पैदा गरेको छ ।

वडामा भइरहेका यस्ता गतिविधिले स्थानीय स्तरमा स्वरोजगारको ढोका खोल्ने विश्वास गरिएको छ । वडा अध्यक्ष तेज बहादुर घर्ती मगर गाउँपालिकाले वडा नम्बर ३ लाई प्राथमिकतामा राखेर लामो अवधिका महत्वपूर्ण तालिमहरू सञ्चालन गर्ने अवसर दिएकोमा खुसी व्यक्त गर्नुहुन्छ । उहाँका अनुसार वडा कार्यालयले आफ्नै सुविधा सम्पन्न सभाहल निर्माण गरेपछि कार्यक्रमहरू सञ्चालन गर्न थप सहजता थपिएको हो । नयाँ भवन बन्नुअघि पनि पालिकाका अधिकांश तालिमहरूको लागि यही वडा नै पहिलो रोजाइमा पर्ने गर्दथ्यो । यसअघि पनि यस वडामा दुई महिने बेमौसमी तरकारी खेती तालिम र पावर टिलर मर्मत जस्ता प्राविधिक तालिमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

गाउँपालिकाले आफ्ना नागरिकहरूलाई दक्ष बनाएर स्वरोजगार र आत्मनिर्भर बनाउने दीर्घकालीन लक्ष्य राखेको छ । यसै सन्दर्भमा अध्यक्ष मगर भन्नुहुन्छ, “तालिममा सहभागीहरूले सिकेको सीपलाई केवल तालिम हल र प्रमाणपत्रमा मात्र सीमित राख्नु हुँदैन । यसलाई व्यवहारमा उतारेर जब सहभागीहरू स्वावलम्बी बन्नेछन्, तब मात्र पालिकाको लगानी र उद्देश्यले सार्थकता पाउनेछ ।”
कसेनीमा बढ्दो यी गतिविधि र तालिमको लहरले माथागढी गाउँपालिकाभित्र दक्ष जनशक्तिको अभाव टार्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेल्ने गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो । वडा कार्यालयले देखाएको यो सक्रियताले अन्य वडाहरूका लागि पनि सकारात्मक सन्देश प्रवाह गरेको छ ।

