वैदेशिक रोजगारीबाट फर्किएका माथागढीका युवालाई बारिष्टा तालिम

वैदेशिक रोजगारीको सिलसिलामा विश्वका विभिन्न मुलुकमा पुगेर फर्किएका युवाहरूलाई आफ्नै जन्मभूमिमा स्वरोजगार बनाउने र स्थानीय उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पाको माथागढी गाउँपालिकामा १० दिने विशेष ’बारिष्टा तालिम’ सुरु भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ३ कसेनीस्थित वडा सभाहलमा सञ्चालित यस तालिमले विदेशबाट फर्किएका युवाहरूको सीप, अनुभव र पूँजीलाई एकीकृत गरी गाउँमै आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्य लिएको छ ।

तालिमको औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले युवा शक्तिको पलायन रोक्न र फर्किएकाहरूलाई पुनः वैदेशिक रोजगारीमा जान नपर्ने वातावरण निर्माण गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । अध्यक्ष चिदीले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले आफूसँग ल्याएको अनुभव र केही मात्रामा भए पनि जोगाएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिनुभयो ।

“हाम्रा युवाहरूले मरुभूमिको तातोमा रगत र पसिना बगाएर सीप सिकेका छन्, अब त्यो सीप र जाँगर आफ्नै गाउँपालिकाको विकासमा लगाउनुपर्छ,“ अध्यक्ष चिदीले भन्नुभयो । उहाँले अगाडि थप्नुभयो, “बारिष्टा जस्ता आधुनिक र सीपमूलक तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउने मात्र नभई स्थानीय स्तरमै नयाँ–नयाँ कफी सप र क्याफेहरू सञ्चालन गरी थप रोजगारीका अवसरहरू सिर्जना गर्न कोसेढुङ्गा सावित हुनेछ। सिकेका सीपलाई कोठामा मात्र सीमित नराखी व्यावसायिक रूपमा साना तथा मझौला उद्यममा लगानी गर्न म सबै युवा साथीहरूलाई आग्रह गर्दछु ।“

कार्यक्रमका अध्यक्ष एवं माथागढी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले सहभागी युवाहरूलाई तालिम अवधिभर अनुशासित र सक्रिय भएर सिक्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारले युवाहरूका लागि लगानी गर्न कुनै कञ्जुस्याइँ नगर्ने स्पष्ट पार्दै यस्ता तालिमले सहभागीहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हामी चाहन्छौँ कि हाम्रा युवाहरू अब अरूको देशमा रोजगारी खोज्ने होइन, आफ्नै गाउँमा अरूलाई रोजगारी दिने मालिक बनुन्,“ वडा अध्यक्ष मगरले भन्नुभयो । उहाँले स्थानीय तहले युवा लक्षित कार्यक्रमहरूलाई आगामी वर्षहरूमा अझ प्रभावकारी र परिणाममुखी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता समेत जनाउनुभयो ।

तालिममा सहभागी युवाहरूलाई व्यावसायिक रूपमा बारिष्टा सम्बन्धी सैद्धान्तिक ज्ञानका साथै मेसिन सञ्चालन, कफीका विभिन्न प्रकारहरू (जस्तै एस्प्रेसो, क्यापचिनो, लाटे आदि) बनाउने विधि र ग्राहकसँग गरिने व्यवहारिक अभ्यासहरू सिकाइनेछ । कफी उत्पादनको प्रचुर सम्भावना रहेको पाल्पा जिल्लामा यस्तो तालिमले कफीको बजार विस्तार र मूल्य श्रृङ्खलामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तालिमको प्राविधिक पक्ष र सहजीकरणको जिम्मा पाएको सेवा प्रदायक संस्था एपेक्स म्यानेजमेन्ट कन्सल्टेन्सी प्रा.लि., बुटवलका निर्देशक अरुण अर्यालले युवाहरूलाई बजारको माग अनुसारको गुणस्तरीय सीप प्रदान गरिने जानकारी दिनुभयो । उद्घाटन सत्रमा वडा सदस्य मान बहादुर रानाले स्वागत मन्तव्य राख्दै वडा भित्रका युवाहरूलाई सीपसँग जोड्न पाउँदा खुसी लागेको बताउनुभयो ।

१० दिनसम्म चल्ने यस तालिममा सहभागी युवाहरूले तालिमपश्चात् आफ्नै व्यवसाय सुरु गर्न चाहेमा गाउँपालिकाले आवश्यक परामर्श र समन्वय गर्ने समेत जनाइएको छ । यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन मात्र नभई वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूका लागि आशाको नयाँ किरण छरेको स्थानीयको बुझाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय