होटल पौवा पाल्पाको ‘स्वाद उत्सव’ मा १५ सय बढीले लिए निःशुल्क स्वाद

होटल पौवाले आफ्नो स्थापनाको १० औं वर्ष प्रवेशको सुखद अवसरमा आयोजना गरेको तीन दिने ‘स्वाद उत्सव’ कार्यक्रम पाल्पामा भव्य रूपमा सम्पन्न भएको छ । होटलले आफ्नो वार्षिकोत्सवलाई ग्राहकहरूसँग खुसी साटासाट गर्दै मनाउने उद्देश्यले आयोजना गरेको यस उत्सवमा पाल्पा शाखामा मात्रै १ हजार ५ सय भन्दा बढीले होटलले पस्केको विशेष स्वादको अनुभव गरेका छन् ।

होटल पौवा पाल्पा शाखाका प्रबन्धक यदु प्रसाद भट्टराईले संस्थाको १० औं स्थापना दिवसको अवसरमा देशैभरका शाखाहरूमा एकैसाथ स्वाद उत्सव कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यो उत्सव पौवाको १० वर्षको सफल यात्रामा साथ दिने ग्राहकहरूप्रति आभार प्रकट गर्ने एउटा माध्यम पनि हो । पौवाका देशभर रहेका अन्य शाखाहरूमा पनि यस्तै उत्साहजनक सहभागिताका साथ स्वाद उत्सव मनाइएको छ ।

होटल पौवाले केवल व्यावसायिक सेवा मात्र नभई नेपाली मौलिकता र सांस्कृतिक परम्परालाई पनि जोगाउने प्रयास गर्दै आएको छ । पौवा पाल्पाकी लेखा शाखा प्रमुख सञ्जु कार्कीले होटलले विभिन्न नेपाली चाडपर्वहरूमा आफ्ना ग्राहकहरूलाई विभिन्न मौलिक र रैथाने परिकारहरू निःशुल्क रूपमा चखाउँदै आएको बताउनुभयो । सोही परम्परालाई निरन्तरता दिँदै यसपटक पनि स्थापना दिवसको अवसरमा तीन दिनसम्म विशेष परिकार पस्किएको उहाँले जानकारी दिनुभयो ।

तीन दिनसम्म चलेको यस स्वाद उत्सवमा होटलले हरेक दिन एउटा शाकाहारी र एउटा मांसाहारी गरी दुई प्रकारका विशेष परिकारहरू ग्राहकलाई चखाएको थियो । उत्सवको पहिलो दिन बनाना चिल्ली र फिस तावा पस्किएको थियो भने दोस्रो दिन पुदिना चिकन र भेज नवाबि कवाफको स्वाद लिनेको भिड लागेको थियो । उत्सवको अन्तिम तथा तेस्रो दिन बटर चिकन र क्रिस्पी मस्रुम चखाउँदै होटलले कार्यक्रमको समापन गरेको हो ।

दश वर्ष अघिदेखि सेवा सुरु गरेको होटल पौवाले छोटो समयमै नेपालको होटल क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाएको छ । पाल्पा आएका आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दाले होटलको यस प्रकारको रचनात्मक कार्य र उत्कृष्ट स्वादको खुलेर प्रशंसा गरेका छन् । यस उत्सवले नेपाली स्वाद र आतिथ्यलाई थप उचाइमा पु¥याउने विश्वास होटल व्यवस्थापनले लिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय