पाल्पा । संघीय संरचना कार्यान्वयनमा आएको लामो समयसम्म साँघुरो भवनबाट सेवा प्रवाह गरिरहेको रम्भा गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्यले तीव्रता पाएको छ । २०८२ भदौ १७ गते निर्माण सम्झौता भएको भवनको हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । गाउँपालिका स्थापना भएको आठ वर्षपछि सुरु भएको यो निर्माण कार्यले गति लिएसँगै स्थानीयमा उत्साह थपिएको छ ।
भवन निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिँदै गाउँपालिकाका सूचना प्रविधि अधिकृत एवं सूचना अधिकारी सुरज पाठकले हालसम्म पहिलो तलाको ढलान सम्पन्न भइसकेको र दोस्रो तला ढलानको अन्तिम तयारी भइरहेको बताउनुभयो । भौतिक रूपमा ३५ प्रतिशत काम सकिँदा हालसम्म २० प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिँदै पाठकले प्रशासनिक कामलाई व्यवस्थित बनाउन यो भवन निर्माणलाई पालिकाले उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको उल्लेख गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार संघीयता कार्यान्वयनपछि साढे छ वर्षसम्म पालिकाको केन्द्र टुंगो नलाग्दा भवन निर्माणमा ढिलाइ भएको थियो । “केन्द्रको टुंगो लागेको डेढ वर्षभित्रै जग्गा प्राप्ति र अन्य आवश्यक प्रक्रिया पूरा गरी निर्माण व्यवसायीसँग सम्झौता गर्न हामी सफल भयौँ,” अध्यक्ष भण्डारीले भन्नुभयो । उहाँका अनुसार स्थानीय दाताहरू कृर्तिनिधि शर्मा, रेनुका न्यौपाने, केशौराज न्यौपाने र सोभाखर न्यौपानेले निःशुल्क रूपमा प्रदान गर्नुभएको कुल ७ रोपनी ७ आना २ पैसा शून्य दाम जग्गामा अहिले धमाधम भवन ठडिन थालेको हो ।
भवन निर्माणको जिम्मा गेहेन्द्र लक्ष्मी निर्माण सेवा रिलायन्स इन्जिनियरिङ्ग एण्ड बिल्डर्स प्रालिले ६ करोड २ लाख ६७ हजार ५ सय ९० रुपैयाँमा प्राप्त गरेको छ । आगामी २०८४ भदौसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना स्थानीय पूर्वाधार विभागको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । निर्माण व्यवसायी र स्थानीय सरकारबीचको निरन्तर समन्वयले गर्दा कामले अपेक्षित गति लिएको पुनको भनाइ छ ।
हाल आफ्नै भवन नहुँदा एउटै साँघुरो कोठाबाट धेरै शाखाहरूको काम सञ्चालन गर्नुपर्ने बाध्यता रहेको इन्जिनियर दीपक सारुले बताउनुभयो । स्थान अभावकै कारण सेवाग्राही र सेवा प्रदायक दुवैले कठिनाइ भोगिरहेको अवस्थामा नयाँ बन्ने साढे चार तलाको भवन पूर्ण रूपमा अपाङ्गमैत्री हुनेछ। जसमा ३० वटा कार्यकक्षसहित बैठक र सभा हलको समेत व्यवस्था रहनेछ । यो भवन सम्पन्न भएपछि गाउँपालिकाको कार्यसम्पादनमा उल्लेख्य सुधार आउने र नागरिकले सहज रूपमा सेवा पाउने विश्वास लिइएको छ ।

