तिनाउका अध्यक्ष श्रेष्ठद्वारा जन्मदिनमा सबै विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा

पाल्पा । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो ४५औं जन्मोत्सवको अवसर पारेर गाउँपालिकाभित्रका सबै ३९ वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । उहाँले राज्यबाट प्राप्त हुने आफ्नो सेवा–सुविधा (तलबभत्ता) लाई सामाजिक उत्तरदायित्वमा लगाउने उद्देश्यले यो अभियानको सुरुआत गर्नुभएको हो ।
घोषणाकै दिन आज दुईवटा विद्यालयमा औपचारिक कार्यक्रममार्फत अक्षयकोषको स्थापना समेत गरिसकिएको छ । “शिक्षाको दीर्घकालीन सुधारका लागि अक्षयकोष आवश्यक छ, त्यसैले गाउँपालिकाभित्रका सबै विद्यालयमा यसको स्थापना गर्ने निर्णय गरिएको हो,“ अध्यक्ष श्रेष्ठले भन्नुभयो, “घोषणालाई व्यवहारमा उतार्ने सुरुआत आजबाटै गरेका छौँ, बाँकी विद्यालयमा पनि छिट्टै यो अभियान विस्तार गरिनेछ ।“


अध्यक्ष श्रेष्ठका अनुसार यो अक्षयकोषले विद्यालयको शैक्षिक गतिविधि सुदृढ गर्न, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आवश्यक सहयोग पु¥याउन र शैक्षिक संस्थाको समग्र संस्थागत विकासमा महत्वपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ । सानो लगानीले पनि दीर्घकालीन रूपमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ आफूले तलबभत्ता बापतको रकम विद्यालयहरूलाई हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

जनप्रतिनिधिका रूपमा पाएको जिम्मेवारीलाई जनसेवामै समर्पित गर्ने उहाँको यो कदमलाई स्थानीय समुदायले सकारात्मक रूपमा लिँदै स्वागत गरेका छन् । आफ्नो व्यक्तिगत खुसीलाई शिक्षा क्षेत्रको सुधारसँग जोड्दै अध्यक्ष श्रेष्ठले भन्नुभयो, “जनताले दिएको जिम्मेवारीलाई व्यवहारमै देखाउनुपर्छ भन्ने मेरो अटुट विश्वास हो ।“

तिनाउ गाउँपालिकामा सुरु गरिएको यो अभियानले शिक्षामुखी विकासको नयाँ अभ्यासको रूपमा स्थापित हुने संकेत देखाएको छ । यस पहलले अन्य स्थानीय तहका जनप्रतिनिधिहरूलाई समेत सामाजिक उत्तरदायित्व र शिक्षा सुधारका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय