रिब्दीकोटको कृषि मोडेल अध्ययन गर्न बाग्लुङ नगरपालिकाको टोली पाल्पामा

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाले कृषि क्षेत्रमा हासिल गरेको सफलता र अपनाएका असल अभ्यासहरू अध्ययन गर्न बाग्लुङ नगरपालिकाको एक प्रतिनिधिमण्डल रिब्दीकोट आइपुगेको छ । व्यावसायिक कृषि, पशुपालन र किसानमुखी कार्यक्रममार्फत छोटो समयमा चर्चा कमाएको रिब्दीकोटको अनुभवबाट सिक्न बाग्लुङका जनप्रतिनिधि, कर्मचारी र किसानहरूको टोलीले पाल्पाको भ्रमण गरेको हो ।

भ्रमणका क्रममा दुई स्थानीय तहका प्रतिनिधिहरूबीच कृषि क्षेत्रका चुनौती र सम्भावनाबारे घनिभूत अनुभव आदानप्रदान भएको छ । रिब्दीकोट गाउँपालिकाका कृषि शाखा प्रमुख जय बहादुर विकले गाउँपालिकाले सञ्चालन गरेका नवीन कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार रिब्दीकोटमा अहिले व्यावसायिक अकबरे खुर्सानी खेती, मौरीपालन र भैंसीपालनलाई मुख्य प्राथमिकता दिइएको छ ।

“रिब्दीकोटका किसानले दूध र मासुजन्य उत्पादनबाट मात्रै वार्षिक १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्,”  कृषि शादा प्रमुख विकले भन्नुभयो, “हामी अहिले यस क्षेत्रलाई अकबरे खुर्सानीको बिउ उत्पादनको हब ९ज्गद० बनाउने लक्ष्यका साथ अगाडि बढिरहेका छौँ ।” गाउँपालिकाले “एक बोट, सयको नोट” कार्यक्रम अन्तर्गत ४० हजार फलफूलका बिरुवा वितरण गरी नमुना बगैँचा निर्माण गरेको छ । साथै, दिगो कृषिका लागि आफ्नै प्राङ्गारिक मल कारखाना समेत सञ्चालनमा ल्याएको छ ।

भ्रमण टोलीको नेतृत्व गर्दै रिब्दीकोट पुग्नुभएका बाग्लुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले रिब्दीकोटको कृषिको चर्चा देशभर फैलिएकाले आफूहरू सिक्न आएको बताउनुभयो । उहाँले पाल्पा र बाग्लुङको सम्बन्ध ६ सय वर्ष पुरानो ऐतिहासिक रहेको स्मरण गर्दै भन्नुभयो, “अकबरे खुर्सानीले रिब्दीकोटको छुट्टै पहिचान बनाएको छ । विशेषगरी “एक बोट, सयको नोट” कार्यक्रमबाट हामी निकै प्रभावित भयौँ ।” मेयर श्रेष्ठले रिब्दीकोटको कृषि मात्र नभई भैरवस्थान मन्दिरको व्यवस्थापन पनि उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पाहुना टोलीलाई स्वागत गर्दै विकासका काममा राजनीतिक मतभेद नरहेको प्रष्ट पार्नुभयो । रिब्दीकोटको कार्यपालिकामा चारवटा फरक राजनीतिक दलको सहभागिता भए तापनि कृषि र विकासका मुद्दामा सबैको साझा सहमति रहने गरेको उहाँको भनाइ थियो । “हामीले कृषिलाई समृद्धिको मुख्य आधार बनाएका छौँ,” अध्यक्ष कार्कीले भन्नुभयो, “सबै दलका जनप्रतिनिधिहरूको पूर्ण सहयोगले गर्दा नै हामीले यी उपलब्धि हासिल गर्न सकेका हौँ ।”

भ्रमण कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले बाग्लुङको टोलीलाई स्वागत गर्दै पालिकाको प्रशासनिक र योजनाबद्ध विकासका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा रिब्दीकोटकी उपाध्यक्ष कान्ता अधिकारी, बाग्लुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद शर्मा लगायतको उपस्थिति थियो । यस्तै, बाग्लुङ नगरपालिकाको तर्फबाट हेफर प्रोजेक्ट साझेदार संस्थाकी प्रतिनिधि बबिता पुनले बाग्लुङमा भइरहेका कृषिजन्य क्रियाकलापबारे जानकारी गराउनुभएको थियो ।

यस भ्रमणले दुई स्थानीय तहबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै कृषिको पाल्पा मोडललाई अन्य जिल्लामा पनि विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय