तानसेन, पाल्पा । पछिल्लो समय जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएका डेंगु र जापानिज इन्सेफलाईटिस जस्ता किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पाल्पाले सक्रियता बढाएको छ। जिल्लामा यी रोगहरूको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कार्यालयले हालै सरोकारवाला निकायहरूसँग एक विशेष पैरवी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले डेंगु र जापानिज इन्सेफलाईटिसको न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना फैलाउनु नै प्राथमिक आवश्यकता रहेको बताउनुभयो। उहाँले यी रोगहरूका कारण नागरिकको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे समयमै सतर्क रहन सबैलाई आग्रह गर्नुभयो।
सो अवसरमा सिनियर ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले डेंगुको ऐतिहासिक र प्राविधिक पक्षबारे प्रकाश पार्नुभएको थियो। नेपालमा डेंगु प्रमाणित भएको २२ वर्ष पुगिसकेको र विश्वमा वार्षिक करिब ५ करोड मानिस यसबाट प्रभावित हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य उपाय भएको बताउनुभयो। विशेषगरी उज्यालो समयमा टोक्ने यो लामखुट्टेको अण्डा महिनौंसम्म जीवित रहने र संक्रमित लामखुट्टेबाट जन्मने नयाँ पुस्ताका लामखुट्टे समेत संक्रमित नै हुने भएकाले जोखिम उच्च रहेको उहाँको भनाइ थियो। उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने र हाडजोर्नीमा पीडा हुने जस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्था जान सुझाव दिँदै उहाँले ‘खोज र नष्ट गर’ अभियानलाई समुदायको संस्कार बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, कार्यक्रममा जापानिज इन्सेफलाईटिसको वर्तमान अवस्थाबारे जानकारी दिँदै क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले यो रोग डेंगुभन्दा पनि घातक रहेको र यसको मृत्युदर उच्च रहेको बताउनुभयो। क्यूलेक्स लामखुट्टेले टोकेर सुँगुर, बँगुर, हाँस र बकुल्लाबाट मानिसमा सर्ने यो रोगको जोखिम पाल्पामा पनि बढ्दै गएको देखिन्छ। तथ्याङ्कअनुसार सन् २०२२ मा पाल्पामा एक जनामा देखिएको यो संक्रमण गत वर्ष रैनादेवी छहरा, तिनाउ, बगनासकाली र रामपुरका विभिन्न उमेर समूहका ४ जनामा पुष्टि भएको थियो। नेपालका करिब ६० जिल्लामा फैलिसकेको यो रोगका ९० प्रतिशत बिरामीमा सुरुवाती लक्षण नदेखिने भएकाले थप सावधानी अपनाउनुपर्ने न्यौपानेले बताउनुभयो।
रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै विज्ञहरूले पूरा शरीर ढाकिने लुगा लगाउन, दिउँसो पनि झुलको प्रयोग गर्न र घर वरपर पानी जम्न नदिई सरसफाइमा विशेष ध्यान दिन समुदायलाई अपिल गरेका छन्। यो कार्यक्रमले जिल्लामा किटजन्य रोग नियन्त्रणका लागि सरोकारवालाहरूबीच समन्वय र सहकार्यको नयाँ मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ।

