पाल्पा — पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा एमालेका नेता ठाकुर प्रसाद गैरेले नेपालको पहिचान र समृद्धिमा मगर समुदायको योगदान अतुलनीय रहेको बताउनुभएको छ । ४४ औं मगर एकता दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति सम्पूर्ण नेपालीले गर्व गर्नुपर्ने सम्पदा भएको उल्लेख गर्नुभयो ।
४४ औं मगर एकता दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै उम्मेदवार गैरेले मगर समुदायलाई शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले मगर समुदायको भाषा, साहित्य, कला र संस्कृति सम्पूर्ण नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो । समुन्नत नेपाल निर्माणमा मगर समुदायको ऐतिहासिक र अतुलनीय योगदान रहेको उल्लेख गर्दै गैरेले उनीहरूको जायज माग सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । “भाषा, धर्म र जातीय सद्भाव कायम राख्दै सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समृद्ध समाज निर्माणमा मगर एकता दिवसले हामीलाई थप ऊर्जा प्रदान गर्छ,” उहाँले भन्नुभयो ।
चुनावी घरदैलोका क्रममा बगनासकालीको दर्पुक, चापपानी, गुँगा, यम्घा, आर्यभञ्ज्याङ र तानसेनको बजार क्षेत्रमा पुग्नुभएका गैरेले युवाहरूसँग विशेष अन्तरक्रिया गर्नुभयो । आजको मुख्य चुनौती युवा पलायन रहेको स्वीकार्दै उहाँले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण बनाउन आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।
चुनावी अभियानका क्रममा गाउँगाउँ पुग्नुभएका गैरेले जनताबाट प्राप्त सकारात्मक प्रतिक्रियाले एमालेको जित सुनिश्चित भएको दाबी गर्नुभयो । “जनताले नेकपा एमालेलाई जिताउने संकल्प गरिसकेका छन्,“ उहाँले भन्नुभयो, “सामाजिक न्याय, सुशासन र समृद्धिका लागि यो पटक सूर्य चिह्नमा मतदान गर्न पाल्पाका मतदाता आतुर हुनुहुन्छ ।”
“नेपाली युवाहरूलाई नेपालमै बस्ने वातावरण बनाउन ठोस नीतिको खाँचो छ,“ उहाँले युवाहरूसँगको छलफलमा भन्नुभयो, “देशलाई आर्थिक रूपमा सबल बनाउन र युवाहरूको सपना पूरा गर्न नेकपा एमालेको नेतृत्व मात्र सक्षम र सम्भव छ ।”
अहिले पाल्पा क्षेत्र नं. २ मा गैरेको चुनावी अभियानले तीव्रता पाएको छ । टोलटोलमा पुगेर उहाँले स्थानीय आवश्यकता र विकासका योजनाबारे जनतासँग सुझाव संकलन गरिरहनुभएको छ ।

