तानसेन, पाल्पा । नेपाली कांग्रेसका युवा नेता तथा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस अहिले मर्मत र परिमार्जनसहित जनताको माझमा आएको दाबी गर्नुभएको छ । तानसेनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्रका पुराना फोहोर पखालिएको र अबको सरकारले नागरिकलाई सुशासनको पूर्ण प्रत्याभूति दिलाउने बताउनुभयो ।
उम्मेदवार श्रेष्ठले कांग्रेसलाई ’सुन’ सँग तुलना गर्दै विगतका केही कमजोरीका कारण पार्टी मैलिएको स्वीकार गर्नुभयो । “कांग्रेस सुन जस्तै हो, बीचमा केही मैलिएको मात्र थियो,” श्रेष्ठले भन्नुभयो, “अहिले हामी त्यो सबै फोहोर फालेर, पखालेर र सफा भएर चुनावी मैदानमा आएका छौं ।”
उहाँले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनहरूले पूर्ण रूपमा परिवर्तन दिन नसकेको चर्चा गर्दै नयाँ पुस्ताले उठाएको सुशासनको मुद्दालाई कांग्रेसले आत्मसात् गरेको बताउनुभयो । राजनीतिक आरोह–अवरोहबाट सकारात्मक पाठ सिक्दै अब देश बदल्ने संकल्पका साथ आफूहरू अगाडि बढेको उहाँको तर्क थियो ।
भावी सरकारको स्वरूपबारे चर्चा गर्दै श्रेष्ठले अबको निर्वाचनपछि मुलुकमा गगन थापाकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “अबको पटक गगन सरकार नै बन्छ । त्यो सरकारले नागरिकले लामो समयदेखि पर्खिरहेको सुशासन र डेलिभरीको प्रत्याभूति दिलाउनेछ ।”
स्थानीय तहदेखि केन्द्रसम्मै देखिएका निराशालाई चिर्न युवा नेतृत्वको विकल्प नभएकोमा जोड दिँदै उहाँले पाल्पाका जनताले यसपटक परिवर्तन र विकासका लागि कांग्रेसलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।

