पाल्पा । नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले विकासका अधुरा कामलाई पूर्णता दिन आफू पुनः चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ । निर्वाचन अभियानअन्तर्गत तिनाउ गाउँपालिकाको कचल, झिंगामारा र ओखलढुंगा लगायतका क्षेत्रमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले अघिल्लो कार्यकालमा समय अभावका कारण रोकिएका योजनाहरूलाई यसपटक निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मतदातासँगको छलफलका क्रममा उम्मेदवार गैरेले एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा उल्लेख्य जनमैत्री काम गरेको दाबी गर्नुभयो । विशेषगरी कचल फाँटमा सिंचाई योजना सम्पन्न भएपछि स्थानीय किसानहरूलाई सहज भएको र कृषि उत्पादनमा वृद्धि भएको उहाँको भनाइ थियो ।
“दोभान–कचल मोटरबाटो स्तरोन्नतिका लागि संघीय सरकारबाट बजेट विनियोजन भएर काम अगाडि बढिरहेको छ,” गैरेले भन्नुभयो, “तर पूर्ण समय संसदमा काम गर्न नपाउँदा धेरै गौरवका आयोजनाहरू अधुरै रहे । ती योजना पूरा गरी यो क्षेत्रलाई समृद्ध बनाउनु नै मेरो मुख्य लक्ष्य हो ।”
स्थानीय सरकार र संघीय सरकारबीच प्रभावकारी समन्वय भएकाले नै विकासले गति लिएको चर्चा गर्दै उहाँले कचलका नागरिकले सधैं एमालेको विचार र नेतृत्वलाई विश्वास गरेको स्मरण गर्नुभयो । नेकपा एमालेको सरकारले कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको यात्रालाई निरन्तरता दिन सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
घरदैलोका क्रममा मतदाताहरूले सिंचाई, सडकको स्तरोन्नति र कृषि उपजको बजारीकरणका बारेमा उम्मेदवार गैरेको ध्यानाकर्षण गराएका थिए । स्थानीयको उत्साहजनक सहभागिताले आफूलाई थप जिम्मेवार बनाएको र यसपटक जनताले विकासको पक्षमा स्पष्ट जनादेश दिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

