पाल्पा । आगामी निर्वाचनका लागि पाल्पामा उम्मेदवारी दिएका ५ उम्मेदवारहरूले अझैसम्म निर्वाचन प्रयोजनका लागि अनिवार्य गरिएको बैंक खाता खोलेका छैनन् । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले आफ्नो निर्वाचन खर्च र सहयोग संकलन बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था भए पनि यहाँका २४ उम्मेदवारले मात्र खाता खोल्न सिफारिस लिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रमा गरी कुल २९ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर, हालसम्म २४ जना उम्मेदवारले मात्र बैंक खाता खोल्नका लागि आवश्यक सिफारिस लिएका छन् । बाँकी उम्मेदवारहरूले अझैसम्म खाता खोल्ने प्रक्रिया सुरु गरेका छैनन् । निर्वाचन आचारसंहिता, २०७९ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैंक खाता खोली सोही खातामार्फत मात्र आर्थिक कारोबार गर्नुपर्ने हुन्छ । विशेष गरी २५ हजार रुपैयाँभन्दा बढीको सहयोग वा खर्च अनिवार्य रूपमा बैंकिङ प्रणालीबाटै गर्नुपर्ने प्रावधान छ ।
खाता नखोली गरिएको खर्चलाई निर्वाचन आयोगले मान्यता दिँदैन र यसले पछि कानुनी समस्या निम्त्याउन सक्छ । उम्मेदवारले निर्वाचन सकिएको ३५ दिनभित्र आफ्नो खर्च विवरण बुझाउँदा बैंक स्टेटमेन्ट समेत पेश गर्नुपर्ने भएकाले खाता खोल्न ढिलाइ गर्नुले पारदर्शितामा प्रश्न उठ्न सक्ने देखिन्छ ।निर्वाचन आयोगले तोकेको समयसीमा गत ३ गते नै सकिईसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले भने निर्वाचन खर्च केन्द्रबाटै व्यवस्थापन हुने भएकाले छुट्टै खाता नखोल्ने जानकारी गराएका छन् । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले फागुन ३ गतेभित्र बैंक खाता खोली सोको विवरण बुझाउनुपर्ने प्रावधान भए पनि हालसम्म कुनै पनि दल वा उम्मेदवारले खाता खुलेको औपचारिक जानकारी कार्यालयलाई गराएका छैनन्
जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा र निर्वाचन प्रचार-प्रसारलाई प्रभावकारी बनाउन सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचन पूर्व, अवधि र निर्वाचन पश्चात गरिने कामहरूको विवरण सहित हालसम्मको कार्यप्रगतिको जानकारी दिनुभयो । शर्माका अनुसार निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन कार्यालयले प्रक्रियागत तयारी तीव्र पारेको छ । उहाँले भन्नुभयो, “२०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम रहेका नागरिकले मतदान गर्न पाउने व्यवस्था छ ।” देशभर १० हजार ९ सय ६७ मतदान स्थल तोकिएको र ६३ वटा राजनीतिक दल निर्वाचनमा सहभागी रहेको तथ्यांक पनि उहाँले प्रस्तुत गर्नुभयो ।
निर्वाचनलाई निष्पक्ष बनाउन पाल्पाका सबै स्थानीय तहमा एक-एक जना समन्वयकर्ता तोकिएको छ । जिल्लाको सुरक्षा योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । मतदाता शिक्षालाई लक्षित गर्दै आम सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत मतदान गर्ने सही तरिका, मत सदर र बदर हुने अवस्थाका बारेमा जानकारी दिइने कार्यालयले जनाएको छ । अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले पाल्पामा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जिल्लामा अहिलेसम्म गम्भीर प्रकृतिका उजुरी परेका छैनन् ।
“हालसम्म १७-१८ वटा मौखिक गुनासो र एउटा मात्र लिखित उजुरी परेको छ,” प्रजिअ कुँवरले भन्नुभयो, “उजुरी पर्ने पक्षहरूलाई बोलाएर सचेत गराइसकिएको छ ।” प्रशासनले निर्वाचन आचारसंहिता पालना गराउन कडा निगरानी राखिरहेको र कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकाय तयारी अवस्थामा रहेको उहाँको भनाइ थियो ।

