प्रजातन्त्र दिवसका अवसरमा पाल्पामा सरसफाई र शुभकामना आदान प्रदान

पाल्पा । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जिल्ला समन्वय समिति पाल्पाले पाल्पा दरबार सङ्ग्रहालय परिसरमा विशेष सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । १०४ वर्षको जहाँनिया राणा शासनको अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झना गर्दै आयोजित उक्त कार्यक्रममा सहभागी वक्ताहरूले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरूलाई नागरिकको जीवनस्तरसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका राजनीतिक उपलब्धिहरूलाई जगैदेखि संस्थागत गर्नुपर्ने बेला आएको बताउनुभयो । “हामीले शासन व्यवस्था फेर्यौँ, अब जनताको अवस्था फेर्नु छ ।” सभामुख घर्तीले भन्नुभयो, “प्रजातन्त्र दिवस मनाइरहँदा यसको मर्म र भावनालाई आत्मसात् गर्दै प्राप्त अधिकारको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो ।”

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रजातन्त्रले नै नागरिकलाई वाक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूति गराएको चर्चा गर्नुभयो । उहाँले स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा भएका सुधारहरू प्रजातन्त्रकै जगमा उभिएको दाबी गर्नुभयो ।
त्यस्तै संविधानसभा सदस्य कुल प्रसाद नेपाल र नारायणी शर्माले २००७ सालको आन्दोलनले नै नेपाललाई आधुनिक युगमा प्रवेश गराएको स्मरण गर्नुभयो । उहाँहरूले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन दलहरूबीच न्यूनतम सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेता धनेन्द्रराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिलिप घिमिरे लगायतले शुभकामना मन्तव्य राख्दै विकास र समृद्धिका एजेन्डामा सबै राजनीतिक शक्ति एक हुनुपर्ने धारणा राख्नुभयो । उहाँहरूले प्रजातन्त्र दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी नागरिकका समस्या समाधानको अवसरका रूपमा लिनुपर्ने सुझाव दिनुभयो ।

शुभकामना आदानप्रदान पूर्व सहभागीहरूले ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको प्राङ्गणमा सरसफाइ गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख टंक खनालले सङ्ग्रहालय परिसरको सरसफाइलाई दिवसको मुख्य कार्यतालिकामा समावेश गरेको बताउनुभयो । उहाँले प्रजातन्त्र दिवसलाई सबैले नागरिकहरुको स्वतन्त्रता पाएको दिनको रुपमा मनाउनुपर्ने भएपनि सरोकारवालाले खासै चासो नदिएको बताउनुभयो ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाजका अगुवा र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रजातन्त्र प्राप्तिको लागि ज्यान आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय