तिनाउ सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी पृथ्वीप्रकाशलाई

पाल्पा – तिनाउ गाउँपालिकामा सञ्चालित सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पृथ्वीप्रकाश मावि तिनाउ ४ ले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ८ वटा स्वर्ण पदकसहित १७ पदक जितेर पृथ्वीप्रकाश माविले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेको हो ।

पृथ्वी प्रकाश माविले ८ स्वर्ण, ३ रजत र ६ कास्यपदक जितेको तिनाउ गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवरले जानकारी दिनुभयो । यस्तै थानीडाँडा मावि बगाहले ६ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित दोस्रो बनेको छ । त्यस्तै ४ स्वर्ण, ३ रजत र ३ कास्यसहित दोभान मावि दोभान तेस्रो बनेको छ । त्यस्तै मस्याम मावि हटियाले १४, बुद्धविकास मावि कोलडाँडाले ९, तिलोत्तमा मावि झुम्साले ९, यूवावर्ष मावि कचलले ८, ज्ञानोदय मावि ओखलढुङ्गाले ६ र जनदिप मावि बगैंचाबारीले ४ पदक जितेका छन् ।

विजेता खेलाडीलाई पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका यूवा तथा खेलकुदमन्त्री सन्तोष कुमार पाण्डेयले खेलकुद प्रतियोगिताले विद्यार्थी–विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको बताउनुभयो । खेलकुदका माध्यमबाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने मन्त्री पाण्डेयको भनाई छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यूवा विद्यार्थीलाई शारिरीक र मानसिक रुपमा स्वस्थ बनाउने अभियानमा तिनाउ गाउँपालिका अघि बढेको उल्लेख गर्दै खेलका माध्यमबाट निरोगी रहन सहयोग पुगेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “संसार खेलकुदकै माध्यम्बाट चिनिएको छ, हामीले पनि हाम्रो देश, समाज, परिवार र विद्यालयलाई चिनाउन सकेका छौँ । असल संस्कार, सकारात्मक सोच र असल कर्मले मात्रै सफलता हासिल गर्न सकिन्छ ।”

तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले प्रतियोगिता मर्यादित, अनुशासित र नियम पुर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले खेलाडीहरुको उचित व्यवस्थापन गर्न स्थानीय समुदाय र समाजसेवीहरुले राम्रो भूमिका निर्वाह गरेका कारण प्रतियोगिता भव्य रुपले सम्पन्न भएको बताउनुभयो ।

तिनाउ गाउँपालिकाका प्रवक्ता यादव अर्यालले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो । देशको अवस्था अनुसार राज्यको लगानी खेल क्षेत्रमा सन्तोषजनक मान्नुपर्ने भन्दै उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर खेल क्षेत्रको विकास गर्न सकिने धारणा राख्नुभयो । उहाँले खेल क्षेत्रबाट पर्यटन प्रबद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय