श्रीमानको सहयोगले सफल वडाध्यक्ष चिदी

पाल्पा । इन्द्राकुमारी चिदी, तिनाउ गाउँपालिका वडा नं. ५ को वडाको अध्यक्ष हुनुहुन्छ । अध्यक्ष भएपनि सामाजिक कामसहित घरको कामको पनि उत्तिकै जिम्मेवारी लिनुपर्छ । चिदीको दिन बिहान घरको कामबाट सुरु हुन्छ । परिवारको हेरचाह, घरधन्दाको व्यवस्थापन र सन्तानको जिम्मेवारी पूरा गरेपछि मात्रै उहाँ जनताको सेवामा निस्किनुहुन्छ । धेरैका लागि घर र बाहिरको जिम्मेवारी सँगसँगै सम्हाल्नु कठिन हुन्छ, तर उहाँले यही कठिनाइलाई शक्तिमा बदल्नुभएको छ ।

१६ वर्षको उमेरदेखि नै किशोरी समुह गठन गरेर सामाजिक कामको सिकाई सुरु गर्नुभएकी चिदीले महिला समुह गठन, विहे नहुँदै मरामकोटको भूमिशाला आधारभूत विद्यालयमा तीन वर्ष र बिहेपछि भक्तेछाँपको आदर्श आधारभूत विद्यालयमा चार वर्ष स्वयम्सेवक शिक्षकको रुपमा गरेको कामले उहाँलाई सामाजिक कामका लागि प्रेरणा र हौसला मिल्यो ।

स्थानीय निर्वाचन नभएको बेला तत्कालिन कोलडाँडा गाविसको संयोजक भएर काम गरेको अनुभव बटुल्नुभएकी चिदीले त्यतिबेला गाउँ विकास समितिमा आउने तीन लाख रुपैंया विकास र बजेट परिचालन गर्दा धेरै सिकाई अनुभव गर्नुभयो । २०७२ साल फागुन २० गते कोलडाँडा गाउँ विकास समितिलाई खुला दिशामुक्त वडा घोषणा गर्न निकै महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएकी चिदीले जनताको विश्वास जित्दै जानुभयो । २०७३ सालको स्थानीय निर्वाचनमा उहाँलाई वडा सदस्यको प्रस्ताव आयो । निर्वाचन जितेपछि जिल्ला समन्वय समितिमा सदस्य मनोनित भएर पाँच वर्ष काम गर्नुभयो ।

दोश्रो स्थानीय निर्वाचनमा उहाँलाई फेरी वडा सदस्यको प्रस्ताव आयो, वडाका सबै बुद्धिजीविहरूको भेलाले “जित्ने हो भने वडाध्यक्षमा ईन्द्र चिदी नै उठ्नुपर्छ ।” भन्ने निष्कर्ष निकाल्यो । चिदी नेकपा एमालेबाट वडामा एक्लै निर्वाचित हुनुभएको हो । बाँकी चार सदस्यहरू नेपाली कांग्रेस र नेकपा माओवादी गठबन्धनबाट निर्वाचित भएका छन् । जुनसुकै पार्टीबाट निर्वाचित भएपनि जनताको प्रतिनिधि भएको भन्दै चिदीले सबैलाई मिलाएर लगेको र सदस्यहरूले पनी सहयोग र सहकार्य गरेको उहाँको अनुभव छ ।


तिनाउ गाउँपालिका वडा नं. ५ बाट २०७९ सालमा निर्वाचनमा विजयी भएपछि जिल्लामै एकमात्र महिला वडाध्यक्ष चिदीको दिनचर्या अहिले निकै व्यस्त छ । घरको काम, वडा कार्यालयको काम, सामाजिक संघसंस्थाको काम सहित परिवारलाई समेत समय दिनुपर्दा चिदीको व्यस्तता कुरा गरिसाध्य छैन ।
चिदीलाई सबैभन्दा खुसी लाग्ने विषय हो श्रीमान्को सहयोग । “श्रीमान खेताला सहित खेतमा काम गर्न जाने तयारीमा । म कार्यपालिकाको बैठकमा जाने तयारीमा ।” चिदीले भन्नुभयो । “श्रीमानबाट निकै सपोर्ट छ र त यहाँ सम्म आईपुगें । नत्र कहाँ सम्भव हुन्थ्यो होला र ?” घरको काम जसले भ्याउँछ उसैले गर्ने भएकाले वडाध्यक्ष भएपछि पनी सहज भएको चिदीको भनाई छ ।

उहाँले घरायसी काम गर्ने विषयमा सपोर्ट गरेरै हो काम गर्न सकिएको । “जहाँ काम परेपनि छोड्न जाने लिन आउने गर्नुहुन्छ । खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने, घाँस काट्ने काम यसको उसको भन्ने नै हुँदैन हाम्रोमा त । जसले भ्यायो, उसैले गरिन्छ ।” चिदीले भन्नुभयो । “कामको सिलसिलामा हिँड्दा दिन रात भन्ने हुँदैन । बैठक, कार्यक्रम रातिसम्म पनि हुन्छ । मेरो श्रीमान्ले केही नराम्रो सोंच्नु हुन्न । सधै सपोर्ट गर्नुहुन्छ । बरु लिन आउने, छोड्न जाने गर्नुहुन्छ ।”

“समय छैन भन्ने त एउटा बहाना मात्र रहेछ । समय बनाएपछि हुँदो रहेछ । ७ बजे हिँड्न छ भने ४ बजे उठेर काम गर्ने । समय हुन्न भन्ने हुँदैन रहेछ । व्यवस्थापन गर्नुपयो । हाम्रो त कृषि नै मुख्य काम हो । धान र तरकारी किन्नु पर्दैन । तोरी लगाईन्छ । तेल किन्नु पर्दैन । पाडा, बाख्रा र बंगुर पालेका छौं, श्रीमान् स्थानीय सहकारीमा व्यवस्थापकको काम गर्नुहुन्छ । म जनप्रतिनिधि । भ्याएकै छौं, सोंच सकारात्मक हुनुपर्यो, केही कुराले छेक्दैन ।”

राजनीतिमा महिलाको सहभागिता अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको समाजमा चिदीले आत्मविश्वास र निरन्तर परिश्रमका साथ आफ्नो पहिचान बनाउनुभएको छ । वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, महिला तथा दलित सशक्तिकरणजस्ता विषयलाई प्राथमिकतामा राख्नुभएको छ । उहाँका लागि नेतृत्व भनेको कुर्सी होइन, जनताको दुःख–सुख बुझ्ने संवेदनशीलता हो ।

यस सफल यात्रामा उहाँको श्रीमानको साथ अत्यन्त महत्वपूर्ण रहेको उहाँको बुझाई छ । घरपरिवारको जिम्मेवारी बाँडफाँड, निर्णयमा विश्वास र हरेक चुनौतीमा दिने साथले उहाँलाई अझ बलियो बनाएको छ । श्रीमान्को समझदारी र सहयोगले गर्दा नै चिदी निडर भएर सामाजिक नेतृत्वमा उभिन सक्नुभएको हो । यो सम्बन्ध केवल दाम्पत्यको होइन, साझा लक्ष्य र सपनाको साझेदारी हो ।

उहाँले नेतृत्व गर्दा महिला सहभागिता बढेको छ, जनतासँग प्रत्यक्ष संवादको संस्कृति विकास भएको छ र स्थानीय समस्या समाधानमा प्रभावकारी कदम चालिएको छ । पदको दुरुपयोग भन्दा टाढा रहेर, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनु उहाँको कार्यशैलीको विशेषता हो । यही कारण जनताले उहाँलाई विश्वास गर्छन्, सम्मान गर्छन् ।

ईन्द्रकुमारी चिदी आज केवल एक वडाध्यक्ष मात्र होइनन्, उहाँ समाजका महिलाका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । “घर सम्हाल्दै समाज परिवर्तन गर्न सकिँदैन” भन्ने सोचलाई उहाँले कर्मबाट गलत सावित गर्नुभएको छ । उहाँको यात्रा भन्छ—साथ, समर्पण र आत्मबल भए महिलाले कुनै पनि नेतृत्व सफलतापूर्वक सम्हाल्न सक्छन् । ईन्द्रकुमारी चिदीको कथा एउटा व्यक्तिको सफलता मात्र होइन, यो समावेशी र सशक्त समाज निर्माणतर्फको आशाको कथा हो । यस्तो नेतृत्व नै आजको समाजलाई चाहिएको नेतृत्व हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय