तिनाउ गाउँपालिका गाउँसभाको १८ औं अधिवेशन सुरु

पाल्पा । तिनाउ गाउँपालिका गाउँसभाको १८ औं अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा दुई वटा नयाँ विधेयक तथा एक वटा विधेयकको प्रथम शंसोधन प्रस्तुत गर्दै १८ औं अधिवेशन सुरु भएको हो ।

सभामा तिनाउ गाउँपालिका वडा नं. ५ की वडाध्यक्ष ईन्द्रकुमारी चिदीले प्रस्तुत गर्नुभएको तिनाउ गाउँपालिकाको स्वास्थ्य विधेयक, २०८२ र तिनाउ गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पेश तथा सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ । त्यस्तै तिनाउ गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापाले प्रस्तुत गर्नुभएको तिनाउ गाउँपालिकाको विनियोजन विधेयक (प्रथम संशोधन) २०८२ पेश तथा सैद्धान्तिक पक्षमा छलफल सुरु भएको हो ।

सभाको पहिलो बैठकमा ४ वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । सभामा लेखा समिति संयोजक भवानी न्यौपानेले सार्वजनिक लेखा समितिको प्रतिवेदन, सामाजिक विकास समितिका संयोजक तुल बहादुर आलेले सामाजिक विकास समितिको प्रतिवेदन, भौतिक पुर्वाधार विकास समितिका सदस्य भुवान सिंह चिदीले भौतिक पुर्वाधार विकास समितिको प्रतिवेदन र आर्थिक विकास समितिका संयोजक पम्फा मगरले आर्थिक विकास समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रस्तुत विधेयकमाथि आगामी बैठकमा छलफल गरिने गाउँपालिकाका अध्यक्ष तथा सभाध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले तिनाउ गाउँपालिकाको दिगो र गुणस्तरिय पुर्वाधार विकासका लागि नीतिगत मार्गनिर्देशन, योजना छनौट र कार्यान्वयन तथा अनुगमन गर्दै आएको बताउनुभयो ।

सभाले तिनाउ गाउँपालिकाको विनियोजन विधेयक (प्रथम संशोधन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ अन्तरगत गाउँपालिका तर्फको १ करोड ४७ लाख ५० हजार रुपैंया र वडा तर्फको ४८ लाख ६० हजार रुपैंया संशोधन तथा रकमान्तर प्रस्ताव गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जानकारी दिनुभयो ।

सभाको पहिलो बैठकमा समसामयिक विषयमा शुन्य समयको प्रयोग गरि छलफल समेत गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय