माथागढी गाउँसभाको १८ औं अधिवेशन सम्पन्न

पाल्पा । माथागढी गाउँपालिका गाउँसभाको १८ औं अधिवेशन सम्पन्न भएको छ । २ वटा विधेयक पारित गर्दै गाउँसभाको १८ औं अधिवेशन सम्पन्न भएको हो ।

सभामा माथागढी गाउँपालिका विधेयक समितिका संयोजक जंग बहादुर दर्लामीले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी विधेयक, २०८२ र आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ प्रस्तुत गर्नुभयो । सभाले दुवै कार्यविधि सर्वसम्मतीले पारित गरेको छ ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष तथा सभाध्यक्ष यम बहादुर चिदीले प्रस्तुत गरेको कार्यपालिका बैठकका निर्णय तथा केहि नीतिगत प्रस्तावहरु, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, उपाध्यक्ष विष्णुमाया लुङ्चेले प्रस्तुत गरेको बजेट, कार्यक्रम शंसोधन रकमान्तर प्रस्ताव र जंग बहादुर दर्लामीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष तथा सभाध्यक्ष चिदीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल मर्म र भावनालाई आत्मसाथ गर्दै स्थानीय सरकारको माध्यमबाट घरदैलोमा सेवा पुर्याउने माथागढीको साझा संकल्प रहेको भन्दै त्यसको कार्यान्वयन तर्फ अघि बढेको बताउनुभयो । चिदीले सीमित श्रोत र साधनको चुनौतीबिच जनअपेक्षालाई सम्बोधन गर्न गाउँपालिकाले सक्रिय रुपमा गरेका विकास निर्माणका काम, शुसासन प्रवद्र्धनका लागि चालिएका प्रभावकारी काम र त्यसका ठोस उपलब्धीहरुका बारेमा नागरिकलाई जानकारी गराउनु गाउँपालिकाको दायित्व भएको बताउनुभयो ।

माध्यमिक विद्यालयको छात्राबास व्यवस्थापन, कृषि तथा पशु उतपादनमा आधारित अनुदान, घाँस तथा दुग्ध सामग्री अनुदान, खानेपानी, खेलमैदान, मोटरबाटो स्तरोन्नती, आरन व्यवस्थापन, सिंचाई, पहिरो नियन्त्रण, ब्लड बैंकको लागि अनुदान, वास योजना अपडेट, १५ शैया अस्पताल व्यवस्थापन लगाएतका विषयमा बजेट कार्यक्रम शंसोधन रकमान्तर गरेको गाउँपालिका उपाध्यक्ष लुङ्चेले बताउनुभयो ।

गाउँपालिकाको चालु आर्थिक वर्षमा विनियोजित ६५ करोड ३७ लाख ५२ हजार ८ सय ९९ रुपैंया बजेट मध्ये अहिले सम्म १६ करोड १३ लाख ७२ हजार १ सय ११ रुपैंया खर्च गरेको छ । जसमा २७.७ प्रतिशत चालु र १६.६४ प्रतिशत पुँजीगत खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभयो ।

सभाकै अवसरमा अध्यापन गरेर उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने शिक्षक, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट विद्यालयहरुलाई सम्मान गरिएको छ । उत्कृष्ट नतिजा ल्याउन सहयोग पुर्याउने १६० जना शिक्षक, उत्कृष्ट नतिजा ल्याउने १७ जना विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले सभाको अवसरमा उत्कृष्ट कृषक तथा उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले उत्कृष्ट ८ जना कृषकलाई जनही ५ हजार रुपैंया र उत्कृष्ट ४ जना कर्मचारीलाई जनही १० हजार रुपैंया नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको गाउँपालिकाका प्रवक्ता तथा ४ नं. वडाका वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय